जिल्ला प्रहरी कार्यालय सुर्खेतले होलीलाई ध्यानमा राख्दै विशेष सुरक्षा योजना लागू गरेको छ । आज मनाइने होली पर्वमा विभिन्न घटना हुन सक्ने भएकाले जिल्लाको सुरक्षा स्थितिलाई ध्यानमा राख्दै प्रहरीले विशेष सुरक्षा योजना लागू गरेको हो ।
सुरक्षा योजनाअन्तर्गत जिल्लाभर मोबाइल गस्ती, ठाउँ–ठाउँमा चेकिङ प्वाइन्ट, प्रहरीका टिम विभाजन गरी जिल्लाभर परिचालन गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव निरिक्षक (डिएसपी) श्यामसिंह चौधरीले जानकारी दिए । कसैको इच्छाविपरित लोला हान्ने, रङ लगाउने, ट्राफिक नियम उल्लंघन, मादक पदार्थ सेवन गरी होहल्ला, झै–झगडाजस्ता क्रियाकलाप गरेको पाइएमा तत्काल पक्राउ गरी कानुन बमोजिम कारबाही गरिने चौधरीले बताए ।
कसैले जबरजस्ती लोला हान्ने, रङ लगाउने गरेमा तत्काल प्रहरी कन्ट्रोल रुमको १०० नम्बरमा फोन गर्नसमेत प्रहरीले आग्रह गरेको छ । जिल्लामा ‘होली’ पर्व शान्तिपूर्ण रूपमा सम्पन्न गर्न प्रहरीले मदिरा बिक्री–वितरण र सेवनमा समेत रोक लगाएको छ । होली पर्वमा कसैको इच्छाविपरित लोला हान्ने, रङ लगाउने, मादक पदार्थ सेवन गरी होहल्ला, झैझगडा गर्नेजस्ता क्रियाकलाप नगर्न भन्दै माइकिङ पनि गरिएको प्रहरीले जनाएको छ ।