खुला सार्वजनिक स्थानले सहरलाई सास फेर्ने ठाउँ दिन्छ। संसारका ठूल्ठूला सहरले खुला ठाउँ व्यवस्थित गर्दै सार्वजनिक पार्क बनाउन थालेका छन्।
भारत, नयाँदिल्लीको ‘सिटी पार्क’ पछिल्लो उदाहरण हो।
मध्यसहरमा बनेको ९० एकड (७२० रोपनी) क्षेत्रफलको यो पार्क बिहीबारबाट सर्वसाधारण निम्ति खुला गरिएको छ।
यो दिल्लीको निजामुद्दिनस्थित हुमायूँको ‘मकबरा’ (चिहान) क्षेत्रमा पर्छ। सोह्रौं शताब्दीमा बनेको यो स्थानले मुगल इतिहास र शैली झल्काउँछ। यसलाई १६ औं शताब्दीकै स्वरूपमा फर्काउन सन् २००७ बाट पहल हुँदै आएको थियो।
यहाँ लामो समयदेखि सरकारी नर्सरी सञ्चालित थियो। दिल्लीले नर्सरी भएको मैदानमै सार्वजनिक पार्क बनाएको हो। यसको क्षेत्रफल दिल्लीकै लोधी बगैंचा बराबर छ।
पार्कभित्र थुप्रै विश्व सम्पदा स्मारक छन्। ती स्मारक जिर्णोद्वार गरिएका छन्। यो ठाउँलाई ‘रूखको बगैंचा’ भनिन्छ। यहाँ ८० प्रजातिका चरा र ३६ प्रजातिका पुतली पाइन्छन्।
दिल्ली महानगरले मध्यसहरको यो पार्कलाई न्यूयोर्क म्यानहटनको ‘सेन्ट्रल पार्क’ सँग दाँजेको छ। यसलाई भविष्यमा ९०० एकडसम्म विस्तार गर्ने योजना छ। म्यानहटनको सेन्ट्रल पार्क ८४३ एकड छ।
यो पार्क पुनर्स्थापना निम्ति ‘आगा खान ट्रस्ट फर कल्चर’ ले सन् २००७ मा पुरातत्व विभाग, निर्माण विभाग र दिल्ली नगरपालिका कर्पोरेसनसँग सम्झौता गरेको थियो। राजधानीको मध्यभागलाई दक्षिणी क्षेत्रसँग जोड्ने सडक यही पार्क हुँदै गुज्रन्छ।
‘हामीले मुगलकालीन बगैंचालाई ‘सेन्ट्रल पार्क’ नाम दिएका छौं। भारतमा पनि सहरको बीचमा यति ठूलो पार्क बनाउन सम्भव छ भन्ने हामी देखाउन चाहन्छौं,’ आगा खान ट्रस्टका प्रमुख कार्यकारी रतिश नन्दाले भने।
उनका अनुसार पहिलो चरणमा ९० एकड क्षेत्रफल मात्र सर्वसाधारण निम्ति खुला गरिएको छ। भविष्यमा नजिकैको चिडियाखाना र पुरानो किल्लासँग जोडेर ९०० एकडमा विस्तार गर्ने योजना छ।
‘दिल्लीको बढ्दो प्रदूषणमा यो पार्कले खुला सास फेर्ने ठाउँ दिनेछ,’ उनले भने।
सरकारले यसलाई ‘नमूना पार्क’ मानेर अन्य ठाउँमा यही अवधारणाअनुसार पार्क विस्तार गर्नुपर्ने उनले बताए।
बढ्दो जनसंख्या र प्रदूषणबीच दिल्लीले खुला सार्वजनिक स्थानलाई महत्व दिँदै आएको छ। सडक छेउछाउ हरिया रूख रोपिएका छन्। ती दिल्लीको मध्यभागमा बढी केन्द्रित छन्। दक्षिणी दिल्ली र अन्य स्थानमा अझै सार्वजनिक स्थान व्यवस्थापन हुन सकेको छैन। हरिया रूख कम छन्। यसले धूलोधुवाँ समस्या बढी छ।
भारतकै अन्य सहरको हालत अझ नाजुक छ। सहर बाक्लिँदै छ, सार्वजनिक स्थान खुम्चिँदै छन्।
सहरी क्षेत्रमा स्वस्थ जीवनयापन निम्ति प्रतिव्यक्ति न्यूनतम २० वर्गमिटर खुला ठाउँ हुनुपर्ने अन्तर्राष्ट्रिय मापदण्ड छ। भारतका अधिकांश सहरले यो मापदण्ड पूरा गरेका छैनन्।
सहरी विकास मन्त्रालयको प्रतिवेदनअनुसार बैंगलोरमा प्रतिव्यक्ति खुला ठाउँ २ वर्गमिटर मात्र छ। चेन्नईमा अझ कम ०.८१ वर्गमिटर छ। यसको तुलनामा दिल्लीको अवस्था राम्रो देखिन्छ। यहाँ प्रतिव्यक्ति २२ वर्गमिटर खुला ठाउँ छ।
युरोपेली सहरहरूले प्रतिव्यक्ति ८० देखि २८० वर्गमिटरको खुला तथा हरित सार्वजनिक स्थान बनाएका छन्।
‘दिल्लीका धेरै क्षेत्रमा अझै पनि पर्याप्त खुला ठाउँ छैन,’ केन्द्रीय सार्वजनिक निर्माण विभागका विशेष महानिर्देशक प्रभाकर सिंहले भने।
आगा खान ट्रस्ट पार्क पुनर्निर्माण परियोजनामा समेत संलग्न सिंहले निजामुद्दिनमा विकास भइरहेको ‘सेन्ट्रल पार्क’ ले यो अभाव पूरा गर्ने बताएका छन्।
‘निजामुद्दिन क्षेत्रमा ९०० एकडको सार्वजनिक पार्क बनेपछि खुला ठाउँ अभावको समस्या धेरै हदसम्म परिपूर्ति हुनेछ,’ उनले भने, ‘यो परियोजनाअन्तर्गत वरिपरिका धेरै खुला ठाउँ व्यवस्थापन गरिनेछ।’
लामो समयदेखि बेवास्ता हुँदै आएको यो बगैंचा सहरको शोभा बढाउने गरी पुनर्निर्माण गरिएको उनले बताए।