कर्णाली प्रदेशले ‘सडक सुरक्षा कार्यक्रम’ शुरु गरेको छ । कर्णाली प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालयले अघि सारेको ‘समृद्धिका लागि सुरक्षा अभियान’अन्तर्गत प्रदेशका दशवटै जिल्लाहरुमा शनिबारदेखि सडक सुरक्षा कार्यक्रम सुरू भएको हो ।
कर्णाली प्रदेशमा सवारी दुर्घटनाका कारण धेरै मानविय क्षति भइरहेकाले सोको न्यूनिकरणका लागि सडक सुरक्षा कार्यक्रम लागू गरिएको प्रदेश प्रहरी प्रमुख अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) रणबहादुर चन्दले बताएका छन् । कार्यक्रम अन्तर्गत कर्णाली राजमार्ग, छिन्चु–दैलेख सडक खण्ड, कपुरकोट–रुकुम सडक खण्डलगायतमा हाई–वे प्रहरी गस्ती गरिने चन्दले बताए । यस्तै चालक, नागरिक तथा सडक प्रयोगकर्ताहरुका लागि सचेतनामूलक कार्यक्रमहरु पनि सञ्चालन योजना छ ।
शनिबार एक कार्यक्रमका बीच कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले ‘सडक सुरक्षा कार्यक्रम’लप उद्घाटन गरेका हुन् ।
उद्धाटनपछि बोल्दै मुख्यमन्त्री शाहीले सडल सुरक्षा मात्र नभइ सबै खालका शान्ति तथा सुरक्षाको ग्यारेण्टी सम्बन्धित निकायले लिनुपर्ने बताए । नेपालमा कानूनको खाँचो नभएको उल्लेख गर्दै उनले कानूनको पालना गर्ने व्यक्तिको खाँचो रहेको औँल्याए ।
मुख्यमन्त्री शाहीले समाजमा काम गर्ने मानिसको खाँचो रहेको बताउँदै भने, ‘काम अह्राउने ठालू मात्र समाजमा बढी छन्, त्यही काम गरिदिने मानिस न्यून छन् ।गर्नेभन्दा काम गराउन खोज्नेको जमात यसरी नै रहीरह्यो भने समृद्धि कल्पनामा मात्र सिमित हुन्छ ।’
उनले समृद्धिका लागि सभ्यता आवश्यक रहेकाले सबैले आफ्ना सोच र व्यवहार परिवर्तन गर्नुपर्नेमा जोड दिए । ‘समृद्धिका लागि सभ्यताको खाँचो रहन्छ, अब हामी सबैले आफ्नो सबै कुरालाई बदल्न सक्नुपर्छ ’, शाहीले थपे। अरुको आलोचना गर्ने संस्कारको अन्त्यमा जोड् दिँदै उनले पहिले आफू राम्रो बन्न आग्रह समेत गरे ।
सबैले श्रम गर्नुपर्ने बताउँदै मुख्यमन्त्री शाहीले श्रमभित्र नै सबैको भविष्य रहेको औँल्याएका छन् ।
यसैगरी, प्रदेश प्रहरी प्रमुख रणबहादुर चन्दले सडक सुरक्षा कार्यक्रम नागरिकको सुरक्षा अधिकार प्रत्याभूत गराउन महत्वपूर्ण हुने धारणा राखे । कर्णाली प्रदेशमा हुने घटनाहरु मध्ये ५६ प्रतिशत घटनामा मानिसको मृत्यु हुने गरेको जानकारी दिँदै उनले यसको न्यूनिकरणमा अभियानको महत्वपूर्ण भूमिका रहने बताए ।