दाङमा होलीका दिन ट्राफिक नियम विपरित चलेका ६२ वटा मोटरसाईकल चालक कार्वाहीमा परेका छन् । जिल्लाका विभिन्न ठाउँमा गरिएको सवारी जाँचका क्रममा ६२ जना मोटरसाइकल चालकहरु कार्वाहीमा परेको जिल्ला ट्राफिक कार्यालय दाङले जानकारी दिएको छ ।
सवारी चालक पत्र नभएका २७ , तीन जना चढाएका १६ , हेलमेट नलगाई चलाउने १२ , मादक पदार्थ सेवन गरि चलाउने ६ र क्षमता भन्दा धेरै यात्रु बोक्ने एउटा अटो समेत गरि ६२ जना चालकहरु कार्वाहीमा परेको जानकारी दिइएको छ ।
लाईसेन्स नभएका, मादक पदार्थ सेवन गरेका, क्षमता भन्दा धेरै यात्रु बोकेका अटो चालकलाई जनही एक/एक हजार, तीन जना चढाएका र हेलमेट नलगाएका चालकलाई ५ सयदेखी १ हजार ५ सय रुपैंया जरिवाना गरिएको ट्राफिक प्रहरीले बताएको छ ।
यसैगरी होलीको समयमा उच्छृङखल गतिविधि गरेको अभियोगमा प्रहरीले शुक्रवार झन्डै ४० जना नियन्त्रणमा लिएको छ।
ईलाका प्रहरी कार्यालय तुलसीपुरले १० जना, जिल्ला प्रहरी कार्यालयले २१ जना र बाँकी ९ जना देउखुरी क्षेत्रमा पक्राउ परेको प्रहरीले बताएको छ । यसैबीच ईलाका प्रहरी कार्यालय तुलसीपुरले होलीका दिन लामो कपाल पालेका ७० जना युवाको कपाल काटेको जानकारी दिएको छ ।