रानीपोखरी मास्ने कार्यमा संलग्न रहेको भन्दै सम्पदा संरक्षणमा लागेका अभियन्ताहरुले पुरातत्व विभाग लगायत सम्बन्धित निकायका पदाधिकारीविरुद्ध आइतबार महानगरीय प्रहरी परिसर काठमाडौंमा उजुरी दिएका छन्।
उजुरीमा पुरातत्व विभागका सिनियर डिभिजनल इञ्जिनियर सम्पत घिमिरे, काठमाडौं महानगरपालिका भौतिक विकास विभाग निर्देशक उत्तरकुमार रेग्मी र निर्माण कम्पनी वर्ल्डवाइड कंडेल जेभीका ठेकेदार अर्जुन कंडेललाई विपक्षी बनाइएको छ।
उनीहरुले रानीपोखरी जिर्णोद्वार गर्दा सम्पदा मासिने गरी डोजर र कंक्रिट प्रयोग गरेको, पोखरीमा रहेको धार्मिक महत्वको पानी फालेको र पोखरीको अस्तिव मेटाउने काम गरेको उजुरीमा उल्लेख छ।
अभियन्ताहरु सञ्जय अधिकारी, आलोकसिद्धि तुलाधर, शैलेश शाक्य लगायतले हस्ताक्षर गरी सरकारी मुद्दासम्बन्धी एेन, २०४९ को दफा ३(१) बमोजिम फौजदारी मुद्दा दर्ता गराएका हुन्। सम्पदा संरक्षणका लागि यसरी व्यक्ति किटान गरेर फौजदारी मुद्दा दायर गरिएको पहिलोपटक हो।
महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता डिएसपी मोहन थापाले सरोकारवालाको उजरी दर्ता भएको पुष्टि गर्दै सोमबारबाट अनुसन्धान थालिने बताए।
'रानीपोखरीमा रहेको जल विशेष महत्वको थियो। त्यो निकाल्दा विज्ञसँग छलफल गर्नुपर्थ्यो, गरिएन। पोखरीका अन्य भाग निर्माण गर्दा गिटी डोजर जसरी प्रयोग गरियो, त्यो गर्न हुँदैन। यसले रानीपोखरीको इतिहास मेटाउने काम भयो। त्यो रोकिनुपर्छ र दोषीलाई कारबाही गर्नुपर्छ भन्ने हाम्रो माग हो,' उजुरीकर्ता अधिकारीले सेतोपाटीसँग भने।
काठमाडौं महानगरपालिकाका कर्मचारीले कानुन अवज्ञा गर्दै पुरातत्व विभागको अनुमतिबेगर रानीपोखरीको मौलिकता मासिने काम गरेको उनले बताए। यो कार्य प्राचीन स्मारक संरक्षण एेन २०१३ विपरित हो।
सम्पदाको मौलिकता मास्ने वा संरक्षणका नाममा प्राचीन स्मारक नष्ट गरी विरुप पार्नेलाई कानुनबमोजिम कारबाही प्रक्रिया अघि बढाई थप अनुसन्धान गर्न माग गरिएको छ।
पुरातत्व विभागका कर्मचारी पनि आफ्नै अगाडि सम्पदा मासिँदा मूकदर्शक भएर मतियारका रुपमा बसेकाले कानुनबमोजिम कारबाही हुनुपर्ने भनिएको छ। कानुनले निषेध गरेको काम गर्ने व्यक्ति वा संस्था उत्तिकै जिम्मेवार भएकाले ठेकेदार कम्पनीलाई पनि कारबाही गर्न माग गरिएको छ।