आइसिसी एकदिवसीय विश्वकप छनोटअन्तर्गत स्कटल्यान्ड विरुद्धको खेलमा नेपाल खराब ब्याटिङ गर्दै १४९ रन बनाएको छ।
नेपालका लागि कप्तान पारस खड्काले अर्धशतक प्रहार गर्नुबाहेक अन्यले खेल्न सकेनन्।
पारस ६३ रन बनाएर क्याच आउट भएका थिए। उनले ७५ बलमा ९ चौका प्रहार गरेका थिए।
खराब सुरुवात गरेको नेपालको इनिङलाई पारसले गति दिएका थिए।
खेलमा पारसले 'लिस्ट ए' को खेलमा एक हजार रन पूरा गरेका थिए। उनी 'लिस्ट ए' को खेलमा एक हजार रन पूरा गर्ने पहिलो नेपाली खेलाडी बने। स्कटल्यान्ड विरुद्धको खेलअघि एक हजार रन पूरा गर्न ९ रनले टाढा रहेका पारसले पाँचौ ओभरमा चौका प्रहार गरेर एक हजार रन पूरा गरेका थिए। पारसले 'लिस्ट ए' का ३० खेल खेलेका छन्। जसमा उनले २ शतक र ७ अर्धशतक प्रहार गरेका छन्।
त्यसपछि आठौं क्रममा ब्याटिङमा आएका बलर बसन्त रेग्मीले ५१ बल खेलेर १ चौकासहित २४ रन बनाए।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले पाँच ओभरभित्र सुरुवाती ४ विकेट गुमाउँदा सुरुवातमै दबाबमा परेको थियो।
ओपनर ज्ञानेन्द्र मल्ल दोस्रो ओभरको पहिलो बलमै १ रनमै आउट भए। ज्ञानेन्द्र साफयान शरिफको बलमा बोल्ड भएका हुन्। अर्का ओपनर दिलीप नाथ पनि ४ रन बनाएर आउट भए। नाथलाई विटिङ्घमले एलबिडब्लुको धरापमा पारेका हुन्। यस्तै, दीपेन्द्रसिह ऐरी पनि १ रनमै पेभिलियन फर्के। लगत्तै शरद भेषावकरलाई पनि विटिङ्घमले बोल्ड गरे।
यसैगरी, आठौं ओभरको अन्तिम बलमा आरिफ शेख पनि पभेलियन फर्कए। २ रन मात्र जोडेका आरिफ वेरिङ्टनको बलमा क्याच आउट भए। आरिफ आउट हुँदा नेपालको स्कोर ३९ रन मात्र थियो।
सोमपाल कामी १८ रनमा रनआउट भए। आउट हुनुअघि पारससँग ४२ रनको साझेदारी गरेका उनले ५४ बल खेलेर २ चौका प्रहार गरे।
यस्तै रोहित कुमार पौडेल १५ रन बनाएर आउट भए। नवौ नम्बरमा आएका बलर सन्दिप लामिछानेले ६ रन बनाए।
बलिङतर्फ स्कटल्यान्डका विटिङ्घमले ३ विकेट लिएका छन्। यस्तै टोम सोले र साफ्यान सरिफले २-२ विकेट लिए भने रिचे बेरिङ्टनले १ विकेट लिएका थिए।
प्रतियोगितामा नेपालले दोस्रो खेल खेलिरहेको छ। यसअघि नेपाल पहिलो खेलमा आयोजक जिम्बावेसँग १ सय १६ रनले पराजित भएको थियो। स्कटल्यान्डले भने तेस्रो खेलमा प्रतिस्पर्धा गरिरहेको छ। यसअघि स्कटल्यान्डले पहिलो खेलमा अफगानिस्तान र दोस्रो खेलमा हङकङलाई पराजित गरेको थियो।