दस वर्षअघि न्यूयोर्कमा साइकल चलाउनेको संख्या अत्यन्तै कम थियो। दक्ष चालक मात्र साइकलको मजा लिन्थे। आज साइकल धेरैको रोजाइमा परेको छ। यातायातको मुख्य साधन भइसकेको छैन, तर न्यूयोर्कका व्यस्त सडकमा साइकल चलाउनेहरू थुप्रै देखिन्छन्।
चार वर्ष अवधिमा मैले १ हजार १ सय ६४ किलोमिटर दुरी साइकलमा छिचोलेँ। म यहाँका सब–वेमा सर्रर साइकलमा हुइँकिन्छु। साथीभाइ र आफन्तकहाँ जानुपर्दा वा गर्मी याममा रमाइलो निम्ति मलाई साइकल चलाउनै सजिलो लाग्छ।
मेरो यो साइकल प्रेम बढ्नुको एउटा मुख्य कारण के भने, पछिल्लो दस वर्षमा न्यूयोर्कले डेढ सय किलोमिटरभन्दा लामो सुरक्षित साइकल लेन निर्माण गर्यो। ती साइकल लेन सडकमा अलग्गै रङ लगाएर बनाइएका छन्। कंक्रिट ब्लक, सिमेन्टका ठूला बार वा प्लास्टिकका पोस्टले छुट्ट्याइएका छन्। यसले साइकल लेनमा अन्य सवारी प्रवेश र पार्क गर्न रोक्छ।
न्यूयोर्कले साइकललाई प्राथमिकता दिन थालेपछि मजस्तै धेरै मान्छेको साइकलसँगको सम्बन्ध फेरियो।
यसरी साइकल हाँक्न छुट्टै बाटो बनाउने न्यूयोर्क पहिलो अमेरिकी सहर हो। आज न्यूयोर्क एक्लो छैन। मिनियापोलिसमा करिब २४ किलोमिटर लामो सुरक्षित साइकल लेन बनेको छ भने सिकागोमा ४० किलोमिटर। त्यस्तै, सानफ्रान्सिस्कोमा २६ किलोमिटर बाटोमा स्वतन्त्र भएर साइकल चलाउन सकिन्छ।
पछिल्ला पाँच वर्षमा डेन्भर, लस एन्जल्स, अस्टिन, टेक्सास, मेम्फिस र टेनेसीले पनि सुरक्षित साइकल लेन सञ्जाल विस्तार गरेका छन्।
साइकल अभियन्ता समूह ‘जनताका लागि साइकल’ का अनुसार एक सयभन्दा बढी अमेरिकी सहरमा कम्तिमा एउटा सुरक्षित साइकल लेन छ। यस्ता लेन साल्ट लेक सिटी, होनोलुलु, टालाहास्सी, फ्लोरिडाको ग्रयान्ड र्यापिड्स, मिसिगनको सेडर र्यापिड्स, इओवाको स्प्रिङडेल, अर्कान्सास र अलाबामाको हन्ट्सभिलामा छन्।
कम समयमै अमेरिकामा यति धेरै सुरक्षित साइकल लेन कसरी विस्तार भयो त?
विश्लेषकहरूको भनाइमा यो सफलता अथक प्रयासको नतिजा हो। यो अभियानमा राजनीतिक समर्थन थियो। यातायात अधिकारीहरूको सहयोग र सहभागिताले पनि सुविधायुक्त साइकल लेन विस्तार गर्न भूमिका खेलेको छ।
यतिले मात्र देशका कुनाकाप्चासम्म सुरक्षित साइकल लेन विस्तार हुँदैन थियो। यसमा एउटा किताबको ठूलो भूमिका छ– 'अर्बन बाइकवे डिजाइन गाइड'। यो गाइड नभएको भए सायद अमेरिकी सहरका यी लेनमा साइकलको साटो गाडी नै कुदिरहेका हुन्थे।
त्यसैले त, यसलाई धेरैले यो किताबलाई ‘साइकल संस्कारको बाइबल’ मानेका छन्।
यो गाइड कुनै बृहत् किताब स्वरुपमा छैन। यसमा साइकल लेन विकासबारे नवीन प्रविधि उल्लेख छ। सडक डिजाइन मापदण्ड समेटिएका छन्। सामान्य किताब भए पनि यसले इञ्जिनियरहरूले पछ्याउँदै आएको सडक डिजाइन तरिका नै फेरिदिएको छ।
यो किताब सहरी यातायात अधिकारीहरूको राष्ट्रिय संघ (नेसनल एसोसिएसन अफ सिटी ट्रान्सपोर्टेसन अफिसियल्स– एनएसिटिओ) ले प्रकाशन गरेको हो। सहरी यातायात योजनाविद्हरूसँग सहकार्य र सरसल्लाह गर्ने फोरमका रूपमा सन् १९९६ मा यो संस्था स्थापना भएको थियो। यसले सडक डिजाइनबारे कुनै मापदण्ड प्रकाशन वा जारी गरेको थिएन।
यो गाइड आउनुअघिका साइकल लेन राम्रा थिएनन्। सुरक्षित साइकल लेन कस्तो हुन्छ भन्ने डिजाइन नै न्यूयोर्कसँग थिएन। व्यवहारिक ज्ञान झनै थिएन।
साइकल लेन आवश्यक छ भन्ने बुझ्नु सैद्धान्तिक कुरा हो, बनाउनु व्यवहारिक। आवश्यकता बुझे पनि सुरक्षित साइकल लेनको मापदण्ड नभएपछि बनाउने कसरी?
साइकल सुविधा विकासकै निम्ति तयार गरिएका किताब र मापदण्डले सुरक्षित साइकल लेनका आवश्यकता देखाउँथेन। एक स्थानीय योजनाविद्ले प्रकाशित सबैजसो सहरी यातायात मापदण्ड पढे। साइकल निम्ति तीस वर्षअघि नै डेनमार्क र नेदरल्यान्ड्समा उपलब्ध सुविधाका बुँदा कहीँ भेटेनन्।
उनले पढेका प्रायः किताबमा साइकलबारे दुई कुरा मात्र प्राथमिकतामा राखिएको थियो। पहिलो, सडकभन्दा बाहिर मनोरञ्जन निम्ति चलाउने (पार्क र ताल, पोखरीजस्ता पानी स्रोत छेउछाउ)। दोस्रो, साइकल लेन छुट्ट्याउन रङ लगाउने।
[caption id="attachment_140072" align="alignnone" width="826"]
ब्रुकलिनको साइकल लेन। तस्बिरः न्यूयोर्क टाइम्स[/caption]
कुनै विशेष मापदण्ड नभए पनि न्यूयोर्क यातायातकी कमिस्नर ज्यानेट सदिक खानले यसको सुरुआत गरिन्। सन् २००७ मा सहरको पहिलो सुरक्षित साइकल लेन बनाइन्। लगत्तै २००८ मा अर्को लेन विस्तार भयो।
राजधानी वासिङटन डिसीमा पनि सन् २०१० मा सहरकै पहिलो सुरक्षित साइकल लेन बन्यो।
यसरी बनाएका साइकल लेन ‘उत्कृष्ट’ हुन नसकेपछि योजनाविद्हरूले थप अध्ययन गरे। मिनियापोलिस, पोर्टल्यान्ड, सानफ्रान्सिस्को लगायत धेरै सहरका योजनाविद्ले विद्यमान मापदण्डमा साइकल प्राथमिकतामा नपरेको महशुस गरे।
त्यस्तैमा कमिस्नर ज्यानेट सदिक खान एनएसिटिओकी अध्यक्ष भइन्। साइकल लेनबारे पहिल्यैदेखि काम गर्दै आएकी उनले त्यसलाई प्राथमिकतामा राखिन्। सन् २०१० मा ४० जना सल्लाहकार र सहरी यातायात योजनाविद्हरूले अमेरिका र विश्वका विभिन्न ठाउँका साइकल लेन डिजाइनबारे महिनौं अध्ययन गरे। आफूहरूले मानेका मापदण्डमा कमी-कमजोरी देखे।
अनि, सुरक्षित साइकल लेन निर्माण गर्न आफैं मापदण्ड लेख्ने निर्णय गरे। यसैको नतिजास्वरुप साइकलमैत्री सडक डिजाइन मापदण्डबारे किताब निकाले, ‘अर्बान बाइकवे डिजाइन गाइड’।
सहरी साइकल लेनको मापदण्ड उल्लिखित यो किताबलाई ‘साइकल लेन डिजाइनको बाइबल’ मानिन्छ। यसले अमेरिकीहरूको साइकल चलाउने तरिका नै बदलिदिएको छ।
यो देशकै पहिलो राष्ट्रिय मापदण्ड किताब पनि हो। अन्य सडक मापदण्डहरूमा गाडीका निम्ति दिइनुपर्ने सुविधाझैं यो किताबले साइकल निम्ति आवश्यक क्षेत्र, समय र जानकारीबारे व्याख्या गर्छ।
जस्तो,
‘सुरक्षित साइकल लेन कति फराकिलो हुनुपर्छ?’कम्तिमा पाँच फिट, सैद्धान्तिक हिसाबले सात फिट।
‘साइकल र बस लेन कसरी जोडिन्छ?’साइकल लेनलाई बस स्टपसँग जोड्ने। यसो गर्दा बस चढ्ने र ओर्लिनेका निम्ति प्रशस्त खुला ठाउँ हुनुपर्छ।
‘साइकल लेन र मोडिने लेन जोडियो भने के हुन्छ?’यस्तो ठाउँमा साइकललाई छुट्टै संकेत दिने। वा, ‘भेट क्षेत्र’ बनाउने जहाँ कार र साइकल मोडिन सकून्।
यो किताबले दिने उत्तरहरू अनुमानका भरमा यसै लेखिएका होइनन्। धेरै समूह तथा संस्थाले गरेको अध्ययन र सडक मापदण्डहरूबाट उत्कृष्ट बुँदा छानेर तयार गरिएका हुन्।
यसमा ट्राफिक लेन र मोडको चौडाइ कति हुनुपर्छ भन्ने मापदण्ड ‘अमेरिकन एसोसिएसन अफ स्टेट हाइवे एण्ड ट्रान्सपोर्टेसन अफिसियल्स’ ले प्रकाशन गरेको ‘ग्रिन बुक’ बाट लिइएको छ।
संकेतहरूको निम्ति संघीय सरकारद्वारा प्रकाशित किताब पल्टाइएको छ। यो किताबमा देशभर एकैनासका ट्राफिक संकेत हुनुपर्ने मापदण्ड छ। जस्तो- अमेरिकामा ‘रोक’ को संकेत अष्टभूज र रातो हुनुपर्छ। यसका आकार ३० इन्चभन्दा कम हुनुहुँदैन। धेरै लेन भएका ठाउँमा ३६ इन्च हुनुपर्छ।
अन्य बुँदाहरू यातायात र सडकसम्बन्धी विभिन्न संघसंस्थाद्वारा प्रकाशित मापदण्ड किताबबाट टिपिएको छ। सुरक्षित साइकल लेन निर्माण गर्न सकेसम्म राम्रो डिजाइन खोज्ने प्रयास जारी छ। यही क्रममा एक अभियानमा भनिएको छ– साइकल चलाउने सबभन्दा सुरक्षित उपाय भनेको आफूले कार चलाएझैं अनुभूति गर्नु हो। आत्मविश्वासका साथ लेन आफ्नो बनाउनुहोस्, ताकि गाडी चालक तपाईंभन्दा पछाडि रहून्। त्यस्तै हातले संकेत दिनुहोस् र द्रुत गतिमा चलाउनुहोस्।
[caption id="attachment_140070" align="alignnone" width="843"]
क्यालिफोर्नियाको साइकल लेन। तस्बिरः पिपल फर बाइक्स।[/caption]
यति हुँदा पनि धेरै जना यो मापदण्डबाट असन्तृष्ट छन्। नेदरल्यान्ड्समा भएजस्ता राम्रा लेन नभएको टिप्पणी सुनिन्छन्।
एनएसिटीओको यो गाइड आएपछि साइकल लेन डिजाइनमा परीक्षण बन्द भयो। सन् २०१३ मा संघीय हाइवे प्रशासनले यही गाइडमा आधारित संस्मरण जारी गर्यो। त्यसपछि मासोचुसेट्स, जर्जियाका साथै ६ वटा अन्य राज्यले यही गाइड पछ्याए।
एनएसिटिओ गाइडका मापदण्ड आज पुराना भए पनि सहरी सडक निर्माण गर्ने निकायले यसैलाई पछ्याएका छन्। उनीहरूको डिजाइनमा अहिले यो गाइडमा उल्लिखित सुरक्षित साइकल लेन पनि परेको छ। एनओसिटीले पनि आफ्ना मापदण्ड सुधार गर्दै लैजाने प्रयास जारी राखेको छ।
सुरक्षित साइकल लेन सञ्जाल भएपछि दस वर्षमा साइकल चालकको संख्या ४९ प्रतिशत बढेको छ।
अमेरिका छोटो समयमै सहरहरूलाई साइकलमैत्री बनाउन सफल भएको छ। सन् १९८० ताका जब युरोपेली सडकमा साइकल लेन बन्दै थिए, अमेरिकीहरु बल्ल सडकमा साइकल चलाउन सिक्दै थिए। साइकल चालक देखेर अमेरिकी इञ्जिनियरहरू भन्थे, 'साइकल चालकलाई पूर्वाधार होइन, साइकल चलाउने तालिम चाहिन्छ।'
उनीहरू साइकललाई राम्रो दृष्टि दिन्थेनन्। धेरै मान्छे निरन्तर साइकल चलाउन मान्दा पनि मान्थेनन्। कार र ट्रकका बीचमा परिने र सहरी घन्चमन्चमा कठिन हुने बताउँथे। उनीहरूको गति धेरै कम हुन्थ्यो। गाडीको हेपाइसम्म खेप्नुपर्थ्यो।
सन् २००६ मा ओरेगन निवासी साइकल चालक रोजर गेलरले गाडीबीच हुइँकिन सक्ने ‘बलिया र निडर’ साइकल चालकहरूको संख्या धेरै कम भएको पत्ता लगाए। यस्ता मान्छे गाडीको भिडमा पनि आत्मविश्वास साथ सहजै साइकल चलाउँथे। अधिकांश भने डराउँथे। उनीहरू पनि साइकलमा हुइँकिन रहर गर्थे। सुरक्षित भए चलाउने आँट गर्थे।
यसबारे केही शोध भयो। सडक सहज भए साइकल चलाउन रहर गर्नेको संख्या बढ्ने अध्ययनले देखायो। उनीहरूको डरले नै साइकल विस्तार सुस्त भएको थियो।
यो डर जायज थियो।
वेस्ट मिनिस्टर्स विश्वविद्यालयका रेचल अल्ड्रेडको शोधअनुसार साइकल चलाउँदा हुने दुर्घटना एकदमै दुलर्भ मानिन्छ। अमेरिकाको तुलनामा साइकल निम्ति कम सुविधा भएको बेलायतमा धेरै साइकल चालकहरू दुर्घटना नजिक पुगेको देखायो। शोधमा सहभागी साइकल चालकले गाडीवालाले हेप्ने र पेलपाल गर्ने बताएका थिए।
यस विपरीत सुरक्षित लेनमा साइकल चलाउँदा आनन्द अनुभूति हुने, दृश्यहरू हेर्दै मजा लिन पाइने, आफूले चाहेको गतिमा चलाउन पाइने जस्ता सकारात्मक प्रतिक्रिया दिएका थिए।
सन् २०१५ मा आएर पोर्टल्यान्ड विश्वविद्यालयका जेनिफर डिल र नाथान म्यानिलको शोधमा पनि यस्तै देखियो। आधाभन्दा बढी युवा अमेरिकी साइकल चलाउन रहर गर्थे, तर डराउँथे।
यसको अर्थ मान्छेलाई साइकल चलाउने मन नभएको होइन, सुरक्षा नभएको हो। त्यसैले अमेरिकी सहरको वातावरण र जनताको स्वास्थ्य सुधार्न सुरक्षित साइकल लेन बनाउन जरुरी देखियो।
यही जरुरत पूरा गर्न ‘अर्बान बाइकवे डिजाइन गाइड’ ले ठूलो भूमिका खेलेको छ। नयाँ साइकल लेन निर्माणमा एनएसिटिओको यो गाइडले प्रत्यक्ष नतिजा नदिए पनि यसले अन्य मापदण्ड सुधार गर्ने आधार दिएको गाइड लेखकहरूको भनाइ छ।
वास्तवमै यो साइकल बाइबलले साइकल पनि यातायातको प्रमुख साधन हुनसक्छ भन्ने प्रमाणित गर्न सकेको छ। सहर हेर्दै साइकलमा सर्र आफ्नो गतिमा हुइँकिने मौका दिएको छ।
[caption id="attachment_140071" align="alignnone" width="826"]
पोर्टल्यान्डको साइकल लेन। तस्बिरः आर्किटेक्ट डटकम।[/caption]