बुटवलको केन्द्रमा रहेको लुम्बिनी अञ्चल अस्पतालको झण्डै डेढ बिगाहा जग्गा गायब भएको छ। जग्गा धनीपुर्जामा अस्पतालको ८ बिगाहा ४ कट्ठा साढे ९ धुर कायम छ। तर, अहिले हाल साविक गर्दा नापी कार्यालयले अस्पतालका नाममा जम्मा ६ दशमलव २९ बिगाहा मात्र जग्गा देखाएको छ।
२०३६ सालमा अञ्चल अस्पतालको लागि बुटवलवासीले झण्डै १२ बिगाहा जग्गा छुट्टाएका थिए। विभिन्न नाममा अस्पतालको जग्गा कब्जा हुँदै आधामा सिमित भएको छ।
नापी कार्यालयको आधारमा हाल अस्पतालको नाममा रहेको सवा ६ बिगाहा जग्गा पनि अस्पतालसँगै रक्तसञ्चार सेवा केन्द्र, कालिका मन्दिर, क्षेत्रीय मेडिकल स्टोर र निजी पेट्रोल पम्पले ओगटेका छन् ।
अस्पतालको उत्तरतर्फ रहेको जग्गामा वर्षौदेखि रक्तसञ्चार सेवा केन्द्र, बुटवल डिजेल र केही व्यापारिक संरचनाहरू सञ्चालनमा छन्। निरन्तर अस्पतालको जग्गा अतिक्रमण हुँदै जाँदा पनि त्यसको खोजीको लागि कतैबाट पहल भएको छैन।
पूर्वपश्चिम राजमार्गसँगै रक्तसञ्चार सेवा केन्द्रदेखि उत्तरतर्फ रहेको सडकले समेत अस्पतालको नाममा रहेको धेरै जग्गा काटेको छ। २०५२ सालमा अस्पतालको नाममा प्राप्त जग्गा धनीपुर्जामा ८ बिगाहा ४ कट्ठा साढे ९ धुर जग्गा कायम रहेकोमा अहिले गायब भएको डेढ बिगाहा जग्गा कहाँ गयो? भन्नेबारे अस्पताल प्रशासनसँग कुनै जवाफ छैन।
अस्पताल विकास समितिका अध्यक्ष रमेश खनालले पूर्वपश्चिम राजमार्गलाई फराकिलो गर्दा पूर्वतर्फभन्दा अस्पतालतर्फ चेपिएको दाबी गर्छन्। ‘पूर्वपश्चिम राजमार्ग र अस्पताल पछाडिको कालिकापथ सडकले पनि केही जग्गा काटेको अनुमान छ,’ उनले भने।
दुई तीनतर्फको सडकसँगै व्यापारिक र सुकुम्बासीको नाममा समेत अस्पतालको जग्गा अतिक्रमणमा परेको उनले जानकारी दिए।
हराएको सरकारी जग्गा खोजी गर्न कतैबाट चासो नदिएको अवस्थामा नागरिकस्तरबाट आवाज उठ्न थालेपछि अस्पतालले जग्गा कहाँ गयो? भन्नेबारे बल्ल खोजी सुरू गरेको छ। अध्यक्ष खनालले नापी कार्यालयसँगै बुटवल उपमहानगरपालिका र जिल्ला प्रशासन कार्यालयलाई जग्गा खोजी गरिदिन पत्राचार गरेको बताए।
यता, गुमेको जग्गा खोजी नहुँदा र नयाँ जग्गाकोसमेत व्यवस्थापन नहुँदा अस्पतालले पुराना र साँघुरा भवनबाट जोखिमपूर्ण सेवा दिँदै आएको छ। ६ बेडबाट सुरू भएको अस्पतालमा अहिले २ सय १० बेड पुगेका छन्।
आगामी साउनदेखि १ सय ५० बेड थप गरी साढे तीनसय बेडसहित पाँच नम्बर प्रदेशको सुविधा सम्पन्न अस्पताल बनाउने तयारी भइरहँदा भौतिक संरचना निर्माणको लागि अस्पताललाई जग्गाको समस्या देखिएको छ।
रक्तसञ्चार सेवा केन्द्रतर्फको जग्गामा रहेका घरटहरा हटाएर सुविधा सम्पन्न भवन निर्माण गरी ट्रमा सेन्टर सञ्चालन गर्न अस्पतालको योजना रहे पनि त्यहाँ रहेका घर टहराहरू हटाउन सकेको छैन।
अस्पतालका मेडिकल सुपरिटेन्डेन डा. कृष्ण खनालले भएको जग्गा खाली नगर्दा र हराएको जग्गा खोजी नहुँदासम्म अस्पतालको स्तरवृद्धिसँगै चलिरहेका सेवा समेत प्रभावित हुने बताउँछन्।
‘दिन प्रतिदिन बढ्दै गएको सेवाग्राहीको चाप र यस क्षेत्रको माग अनुसार अस्पतालको स्तरवृद्धिसँगै सेवा विस्तार गर्नु अनिवार्य भए पनि जग्गा अभावले समस्या देखिएको छ,’ उनले भने,‘अस्पतालको नाममा रहेको सबै जग्गामा भौतिक पूर्वाधार तयार गरेर एक वर्षभित्र न्यूरो र डाईलाईसिस सेवा सुरू गर्छौ।’
अस्पतालमा सिंगो पाँच नम्बर प्रदेशका जिल्लासँगै बाग्लुङ पर्वतबाटसमेत दैनिक एक हजारभन्दा बढी बिरामी उपचारको लागि आउने गर्छन्।