सिन्धुपाल्चोकको लिशंखुपाखर गाँउपालिका वडा नं. ५, पाखरमा गए राति ट्रीपरको ठक्करबाट स्कुटरमा सवार एक युवतीको मृत्यु भएको छ। बा ४ ख ३८९५ नं को ट्रीपरले ठक्कर दिँदा बा १६ प ९३० नं. को स्कुटरमा सवार रहेकी सरिता खड्काको मृत्यु भएको हो।
ललितपुरको सातदोवाटोमा व्यापार गरी बस्ने खड्का परिवारसहित अन्य चारजनासँग दोलखा घुम्न आएको र फर्कने क्रममा दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक मोहनप्रसाद पोख्रेरले बताए।
दुर्घटनामा घाइते खड्काको उपचारको लागि सिन्धु सदाबहार अस्पताल, खाडीचौर ल्याउँदै गर्दा बाटौमै मृत्यु भएको हो। खड्का पहिलेको ठेगाना बलेफी गाँउपालिका भनिएको भए पनि खास ठेगाना भने नखुलेको प्रहरीले जनाएको छ ।
ट्रीपर उकालो चढिरहेको अवस्थामा विपरीत दिशाबाट ओरालो आइरहेको स्कुटरले सन्तुलन गुमाउदा दुर्घटना भएको हुनसक्ने इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक पञ्चकुमार बाखुले बताए। प्रहरीले ट्रीपर चालक केशब बहादुर श्रेष्ठ र स्कुटर चालक विनोद घिमीरेलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान गरिरहेको छ।