ललितपुर महानगरपालिका मेयर चिरिबाबु महर्जनले निर्माणाधीन आठ लेन रिङरोडको प्राविधिक समस्याले सर्वसाधारणलाई सास्ती भइरहेको बताएका छन्।
कोटेश्वर–कलंकी १० किलोमिटर खण्डको ठूलो हिस्सा ललितपुर महानगरमा पर्छ। निर्माण सकिन लागेको ठाउँमा ‘हत्तपत्त सुल्झनै नसक्ने समस्या देखिएको’ मेयर महर्जनले बताए।
उनी सडक समस्याबारे प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयद्वारा सोमबार आयोजित छलफलमा बोल्दै थिए।
‘आठ लेन रिङरोड पूरा नहुँदै सर्वसाधारणले सास्ती झेल्न थालेका छन्,’ उनले भने, ‘समस्याको महाभारत छ। सडक संरचनाकै कारण समस्या देखिएकाले हत्तपत्त समाधान होलाजस्तो देखिन्न।’
डिजाइन त्रुटिले व्यस्त चोकहरूमा रिङरोड नाघेर गाडी भित्र–बाहिर गर्न समस्या रहेको उनको भनाइ छ। पैदलयात्रुलाई बाटो काट्ने ठाउँ नहुँदा लामो दुरी घुम्नुपर्छ वा जोखिम मोलेर बीचबाटै दौडिनुपर्छ। निर्माणाधीन खण्डमा पैदलयात्रुलाई बाटो काट्न जेब्रा–क्रस छैन। अहिल्यै समस्या सुरु भइसक्यो। आठै लेनमा गाडी गुड्न थालेपछि बाटो काट्नै सकिन्न।
‘यो समस्या सुल्झाउन सातदोबाटो, ग्वार्को लगायत चार व्यस्त चोकमा ‘फ्लाइओभर’ बनाउन अध्ययन भइरहेको छ,’ उनले भने।
रिङरोडको समस्याबारे चिनियाँ राजदूतसँग कुराकानी गरेको उनले जानकारी दिए।
‘मैले चिनियाँ राजदूतलाई भेटेर समस्या जानकारी गराएको थिएँ,’ उनले भने, ‘नेपाली पक्षले समयमै कुरा नगर्दा यस्तो समस्या आएको उहाँको जवाफ थियो।’
रिङरोडको प्राविधिक समस्यालाई लिएर विरोध भएपछि सडक विभागले गल्ती स्वीकार गरी सच्याउने बाचा गरेको छ। बनिसकेको खण्डमा सम्भव भएसम्म गल्ती सच्याउने र अब बन्ने १७ किलोमिटर खण्डमा गल्ती नदोहोर्याउन चिनियाँ पक्षसँग कुराकानी भइसकेको विभागले जनाएको छ।
विभागले अहिलेसम्म गल्ती सच्याउने कुनै काम भने गरेको छैन।
सरकारले २७ किलोमिटर रिङरोड चिनियाँ सहयोगमा आठ लेन बनाउन लागेको हो। पहिलो चरणमा कोटेश्वर–कलंकीको १० किलोमिटर खण्ड बन्दैछ। चीनको सांघाई कन्स्ट्रक्सन कम्पनीले निर्माण ठेक्का पाएको छ।
यहाँ बीचमा चार लेनको दु्रतमार्ग छ, जहाँ दुईतर्फी सवारी गुड्नेछन्। यसको दुवैतर्फ दुई–दुई लेनको सर्भिस लेन छ। दु्रतमार्गमा ५० किलोमिटर प्रतिघन्टाको गतिमा सवारी चल्छन् भने सर्भिस लेनमा २० किलोमिटर गतिमा।
डिजाइनअनुसार दुईतर्फी सडकबीच ‘मिडियन’ छैन। ‘मिडियन’ भनेको विपरित दिशाबाट आउने गाडीलाई बाटो छुट्टयाउने बार वा खाली ठाउँ हो। मिडियन नहुँदा विपरित दिशाका गाडी जुध्ने जोखिम छ। ओभरटेक गर्दा गाडी अर्को लेनमा घुस्छन्। यस्तो फराकिलो सडकमा मिडियन नहुनुले पैदलयात्रुलाई बाटो काट्न पनि सकस छ।
पूरै आठ लेन सञ्चालनमा आइसकेको कोटेश्वर–ग्वार्को खण्डमा यो समस्या बढी छ। करिब दुई किलोमिटरको यो बाटोमा स्कुले केटाकेटी गाह्रो गरी बाटो काटिरहेका देखिन्छन्। अरू पनि बाटो काट्न नसकेर अन्यौल परेका हुन्छन्।
यहाँ रिङरोड वारिबाट पारि जान समस्या छ। बालकुमारीका मान्छेलाई लगनखेल जान बस चढ्नुपरे कसरी सडक नाघ्ने र कहाँ गएर गाडी चढ्ने अत्तोपत्तो छैन।
सामान्यतया यति फराकिलो सडकको बीचमा तीन मिटरको मिडियन राख्ने चलन छ। यहाँ भने सुरुमा डिजाइन गर्दा नै मिडियनको ठाउँ राखिएको थिएन।
बनिसकेको रिङरोड नबिगारी मिडियन निकाल्न प्राविधिकहरूले चार उपाय सुझाएका छन्।
पहिलो, चार लेनलाई जस्ताको तस्तै राखेर दुईतर्फी बाटो छुट्टयाउन बीचमा एकदेखि डेढ फुटे खाली ठाउँ निकाल्न सकिन्छ। खाली ठाउँमा कंक्रिटको सानो बार लगाएर बगैंचा बनाउने प्राविधिकको सुझाव छ। कलंकी–सोल्टीमोड खण्डमा यस्तै गरिएको छ। बगैंचाले सडकको बीचमा मिडियनको काम गर्छ। सौन्दर्य पनि बढाउँछ।
दोस्रो, प्लास्टिकको ड्रममा पानी भरेर मिडियनका रूपमा प्रयोग गर्न सकिन्छ। यही प्रयोजनका लागि बजारमा प्लास्टिकका ड्रम पाइन्छन्। पानीमा रङ हालेर रंगीन बनाउन मिल्छ। ती ड्रममा स–साना बिरुवा र फूल रोपेर सिंगार्न मिल्छ। यसले सडक क्षेत्र सुख्खा हुन दिँदैन। यसको लम्बाइ पाँच फुटजति हुन्छ भने उचाइ तीन फुटसम्म राख्न मिल्छ। चौडाइ भने एकदेखि डेढ फुटको हुन्छ।
तेस्रो, एकदेखि डेढ फुट उचाइको मसिनो ‘डिभाइडर’ राखेर दुईतर्फी बाटो छुट्टयाउन सकिन्छ।
चौथो, बीचको चार लेनलाई पाँच लेन बनाउन सकिन्छ। अहिले एउटा लेनको चौडाइ ३.५ मिटर छ। यसलाई २.८ देखि ३.१ सम्म बनाए अर्को लेन निकाल्न सकिन्छ। बनेको संरचना बिगार्नुपर्दैन। सडक चिह्न मात्र समायोजन गरे पुग्छ। यसो गर्दा नयाँ निस्कने बीचको लेन मिडियनका रूपमा प्रयोग गर्न सकिन्छ। धेरै विकसित सहरमा लेनको चौडाइ सामान्यतया २.८ देखि ३ मिटरकै हुन्छ।
सडक विभागले हालसम्म यी चारमध्ये एउटै उपाय अपनाएको छैन।
नयाँ बन्ने १७ किलोमिटरमा तीनदेखि पाँच मिटर फराकिलो मिडियन बनाउने सडक विभागका उप–महानिर्देशक सञ्जयकुमार श्रेष्ठले बाचा गरेका छन्। दोस्रो चरणमा कलंकी–महाराजगन्ज खण्ड बन्दैछ।
उनले निर्माण पूरा भइसकेको ठाउँमा छिटोभन्दा छिटो जेबा–क्रस बनाउने भने पनि हालसम्म काम सुरु भएको देखिँदैन।
उनका अनुसार दस किलोमिटर खण्डमा नौवटा आकाशे पुल बन्नेछन्। तीमध्ये तीनवटा सुरु भइसके, बाँकी छवटाको काम छिट्टै सुरु हुनेछ। थप आकाशे पुल चाहिए सरकारसँग बजेट मागेर निर्माण गरिने उनले बताएका छन्।