क्याम्ब्रिज विश्वविद्यालयका भौतिकशास्त्री, अन्वेषक एवम् चर्चित लेखक/वैज्ञानिक स्टेफेन हकिङको बुधबार बिहान इंगल्यान्डस्थित आफ्नै निवास निधन भयो। उनी ७६ वर्षका थिए।
अल्बर्ट आइन्सटाइनपछि विज्ञान क्षेत्रमा योगदान गर्ने वैज्ञानिकमध्ये हकिङ अग्रपंक्तिमा पर्छन्। आइन्सटाइनले ब्याख्या गर्न नसकेका कतिपय भौतिक शास्त्रका विषय हकिङले ब्याख्या गरिदिएका थिए। उनले ब्ल्याक होल र बिग ब्याङ सिद्धान्त पनि ब्याख्या गरेका थिए।
'महान् वैज्ञानिक अल्बर्ट आइन्स्टाइनपछि विश्व ब्रह्माण्डबारे आफ्नो उच्चतम कल्पनाशक्ति प्रयोग गरी अन्वेषण गर्ने एकमात्र वैज्ञानिक स्टेफन हकिङ नै हुन्,' न्युयोर्क सिटी विश्वविद्यालयका प्राध्यापक मिचियो काकुले भने।
हकिङको सन् १९८८ मा प्रकाशित किताब 'अ ब्रिफ हिस्ट्री अफ टाइम' को माध्यमबाट पनि उनले ठूलो योगदान दिएका छन्। उक्त पुस्तक डेढ करोड प्रतिभन्दा बढी बिकेको थियो।
यसैगरी, सन् २०१४ मा उनको जीवनीमा आधारित फिल्म 'द थ्योरी अफ एभ्रिथिङ' बनेको थियो। एडी रोडम्यानले हकिङको भूमिका निभाएका थिए जसले उनलाई ओस्कर अवार्ड दिलायो। यो फिल्म अन्य विश्वप्रसिद्ध अवार्ड मनोनयनमा पनि पर्यो।
सन् १९६३ मा हकिङले ग्रयाजुएशन गरेका थिए। त्यसैबेला उनी 'मोटर न्युरोन' नामक रोगबाट ग्रसित भए। सो समयमा डाक्टरहरुले उनलाई दुई वर्ष मात्रै बाँच्ने आशा गरेका थिए। रोगकै कारण उनका शरीरका प्राय अंग नचल्ने भए। सिङ्गो स्नायु प्रणालीमा नै रोगले आक्रमण गर्यो। उनी हिँडडुल, बोलचाल गर्न नसक्ने भए। उनको दिमागी क्षमतामा भने यसको कुनै असर परेन।
उनले सुरूमा आइन्सटाइनको सापेक्षतावादमाथि नयाँ खोज गरे। यसपछि लामो समय खोज–अनुसन्धान गरेर कालो छिद्र (ब्ल्याक होल) को रहस्यबारे विभिन्न तथ्य फेला पारे। यही खोजका कारण उनी आफ्नो यूगको सबभन्दा अग्रणी वैज्ञानिक बने।
कालो छिद्र (ब्याल्क होल) को अस्तित्व अन्तरिक्षमा रहेको र ती छिद्र अन्तमा गएर विलीन हुने निश्कर्ष पनि निकाले। कालो छिद्रबाट विकिरणहरू प्रवाह हुने पत्ता लगाए र विकिरणको नाम 'हकिङ रे' राखे।
कुनै व्यक्ति वा पदार्थ कालो छिद्रमा खस्यो भने के हुन्छ?
सन् १९७८ मा आफूले दिएको एक अन्तर्वार्तामा प्रश्न सोधे।
जवाफ पनि उनैले दिए।
-कुनै पदार्थ कालो छिद्रमा पस्यो भने त्यसको अस्तित्व विलीन हुन्छ।
[caption id="attachment_141456" align="alignnone" width="2048"]
तस्बिरः द न्यूयोर्क टाइम्स[/caption]
'उनले पेश गरेको शोधपत्र क्याम्ब्रिज विश्वविद्यालयको इतिहासमै सबभन्दा उत्कृष्ट थियो,' शोधपत्र लेखनका सल्लाहकार डेनिस डब्लु सेइमा बारम्बार भनिरहन्छन्, 'भौतिकशास्त्र इतिहासमै सबभन्दा सुन्दर शोधपत्र।'
सन् २००७ को अप्रिलमा आफ्नो ६५ औं जन्मदिन मनाएको केही समयपछि हकिङले शुन्य गुरुत्वमा उडान गरेका थिए। बोइङ जहाज ७२७ मा सहयोगीहरूको सहायताले शुन्य गुरुत्व भएको उडान सफल गरे। त्यसअघि बेलुन यात्रा पनि गरिसकेका थिए।
यस घटनापछि उनलाई 'किन यस्तो जोखिम किन मोलेको' भनेर सोधियो। 'मानिसको शारीरिक क्षमतामा गडबढी भए पनि उसको अन्तरआत्मा सक्षम हुन्छ,' उनले जवाफ दिए। हकिङ आफैं यसको प्रमाण थिए।
सन् १९५२ जनवरीमा बेलायतको अक्सफोर्ड सहरमा जन्मेका हकिङको पूरा नाम स्टेफेन विलियम हकिङ हो। उनी जन्मिएको दिन महान् वैज्ञानिक ग्यालिलियो ग्यालिलीको निधन भएको ठीक तीन सय वर्ष पुगेको थियो। ग्यालिलयो नै त्यस्ता वैज्ञानिक थिए जसले विश्वमा पहिलो पटक गुरुत्वबारे खोज सुरू गरेका थिए।
उनका पिता फ्रयाङ्क हकिङ पनि जीवविज्ञानका अन्वेषक थिए।
सेन्ट अल्बान्स स्कूलका आफ्ना सहपाठीमाझ हकिङ मन्दबुद्धि भएका विद्यार्थीका रूपमा चिनिन्थे। केही शिक्षकका नजरमा भने उनी तीक्ष्ण बुद्धि भएको विद्यार्थी थिए।
अक्सफोर्ड विश्वविद्यालयमा भर्ना भएपछि उनले गणित र भौतिशास्त्र अध्ययन सुरू गरे। त्यहाँ पनि उनलाई अध्ययन गर्ने-गराउने शैली मन परेन। त्यहाँ उनलाई खगोल विज्ञानमा मात्रै रूचि थियो। अन्तत: उनले यसैलाई ध्येय बनाए र ब्रह्माण्डको खोजमा आफूलाई समर्पित गरे।
अक्सफोर्ड विश्वविद्यालयको पढाइपछि उनी क्याम्ब्रिज गए। त्यहाँ गएर अनुसन्धानमा खटिन थाले।
हकिङ बारम्बार भन्थे, 'मान्छेहरु गणित भनेको सूत्र र समीकरण भन्ने मात्र सम्झन्छन्। यथार्थमा समीकरण साह्रै दिक्कलाग्दो कुरा हो।'
उनले क्याम्ब्रिजमा कुनै समय प्रसिद्ध वैज्ञानिक आइज्याक न्युटनले सम्हालेको लुकासियन प्रोफेसर अफ म्याथम्याटिक्सको पदवी सम्हालेका थिए। यो उनको जीवनको अर्को संयोग थियो।
सन् १९७४ देखि नै हकिङ आधुनिक भौतिकशास्त्रका दुई ठूला विषयः आइन्स्टाइनको सामान्य सापेक्षताको सिद्धान्त र क्वान्टम सिद्धान्त जोड्न लागिपरेका थिए। सापेक्षताको सिद्धान्तले गुरुत्वाकर्षण र ब्रम्हाण्डमा हुने ठूला घटनाचक्र व्याख्या गर्छ भने क्वान्टम सिद्धान्तले उपपरमाणुले कसरी काम गर्छ भन्ने व्याख्या गर्छ।
‘मेरो उद्देश्य सरल छ,’ उनले भनेका थिए, ‘ब्रम्हाण्डको पूर्ण बुझाइ मेरो उद्देश्य हो। यो यस्तै किन छ र यसको अस्तित्व नै किन छ?’
यो खोजको नतिजास्वरुप हकिङले दुई खाले समयको अवधारणामा आधारित ब्रह्माण्डको मोडल प्रस्तुत गरे।
पहिलो, ‘वास्तविक समय’ अर्थात्, मान्छेले अनुभव गर्ने समय।
दोस्रो, क्वान्टम सिद्धान्तको समय ‘काल्पनिक समय’ हो, जसमा सायद यो ब्रम्हाण्ड चल्छ।
‘काल्पनिक समय साइन्स फिक्सनजस्तो लाग्नसक्छ। तर यो असली वैज्ञानिक अवधारणा हो,’ उनले भनेका थिए।
उनको खोजको अर्को महत्वपूर्ण क्षेत्र ‘ब्ल्याक होल’ हो। ब्ल्याक होल ब्रम्हाण्डको त्यो क्षेत्र हो, जहाँ गुरुत्वाकर्षण यति शक्तिशाली हुन्छ, प्रकाश समेत त्यहाँबाट उम्कन सक्दैन।
उनको यो खोज आधुनिक भौतिकशास्त्रको अर्को घुम्ती मानिन्छ। सन् १९८८ मा उनको ‘अ ब्रिफ हिस्ट्री अफ टाइम’ प्रकाशित भएपछि उनी विश्वचर्चित बने। यो किताब जटिल विषयवस्तुमा लेखिएको सबभन्दा चर्चित किताबमध्ये एक हो।
उनी आफ्नो किताबबाट बालबच्चाका शिक्षाका लागि खर्च गर्ने केही पैसा पनि कमाउन चाहन्थे। निश्चय नै, उनले पर्याप्त पैसा कमाए। त्यसभन्दा बढी उनी अपांगता भएका व्यक्तिहरुका नायक बने।
[caption id="attachment_141457" align="alignnone" width="861"]
तस्बिरः द न्यूयोर्क टाइम्स[/caption]
सो किताबमा एक मात्र गणितीय सूत्र e=mc2 रहेकोमा उनी गर्व गर्थे।
हकिङले सन् १९६५ मा जेन वाइल्डसँग पहिलो विवाह गरेका थिए। उनीहरुका तीन सन्तान जन्मिए। २५ वर्षको दाम्पत्य जीवनपछि सम्बन्धविच्छेद भयो। यो सम्बन्धलाई ‘द थ्योरी अफ एभ्रिथिङ’ फिल्ममा उतारिएको छ।
त्यसपछि हकिङले आफ्नै पूर्व नर्स एलेन मेसनसँग १९९५ मा विवाह गरे। एलेनकै पूर्वपति डेविडले हकिङको आवाज उतार्ने मेसिन 'भ्वाइस सिन्थेसाइजर' डिजाइन गरेका थिए।
‘एलेनसँग मेरो वैवाहिक सम्बन्ध भावुक र तुफानी थियो,’ उनले आफ्नो संस्मरणमा लेखेका छन्, ‘हामीबीच निकै उतारचढाव आयो तर उनी मेरो नर्स भएकैले थुप्रै पटक मेरो ज्यान बच्यो।’
तर सन् २००७ मा दुव्यर्वहारको आरोप लगाउँदै एलेनले हकिङको साथ छोडिन्, जसलाई उनले अस्वीकार गरे। यसरी हकिङले आफ्नो पारिवारिक जीवनमा पनि अनेकौं आरोह-अवरोह बेहोरे।
हकिङले थुप्रै मान–सम्मान पाएका छन्। १९८२ मा उनलाई ब्रिटेन साम्राज्यको कमाण्डर पदवी दिइयो। यस्तै सन् २०१२ को पारा ओलम्पिक खेलकुदमा उनी सबभन्दा आकर्षक व्यक्तिको रुपमा रहे। हकिङलाई विश्वप्रसिद्ध नोबेल पुरस्कार भने दिइएको थिएन। त्यसको पनि खास आफ्नै कारण रहेको बताउँथे उनी।
डा. हकिङ अन्तरिक्ष र समग्र मानव अस्तित्वबारे कडा अभिव्यक्ति दिन्थे। उनले पटकपटक मानव अस्तित्व रक्षाका लागि चाल्नुपर्ने नयाँ कदम सुझाएका छन्। आणविक शक्तिको होड, कडा जीवाणु संक्रमण लगायत कारणले कुनै पनि बेला मानव अस्तित्व संकटमा पर्ने धारणा उनको थियो।
अनेकौं चुनौतीका बाबजुद कहिले नहार्ने हकिङले सधैं नयाँ-नयाँ खोज अनुसन्धान गरेर आफ्नो जीवन मानव समुदायको हितमा लगाए।
उनले भनेकै छन्, 'म खुसी छु किनकि, ब्रह्माण्ड बुझ्न मैले आफ्नो भूमिका निभाएँ।'