नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले शुक्रबार नेपाल क्रेडिट एन्ड कमर्श बैंक (एनसीसी) मा छापा मारी पुरानो घोटाला काण्डमा संलग्न रहेको भन्दै केही कर्मचारीलाई पक्राउ गरेको छ।
एनसिसीसँग गाभिएको एपेक्स डेभलपमेन्ट बैंक लगायतका बैंकमा भएको घोटालाको अनुसन्धानका लागि सिआइबीले शुक्रबार बिहान बैंकका ऋण अधिकृतसहितका कर्मचारीलाई नियन्त्रणमा लिएको ब्युरोका प्रमुख डिआइजी पुष्कर कार्कीले जानकारी दिए।
करिब २ अर्ब रुपैयाँ बराबरको घोटाला भएको निष्कर्ष निकाल्दै राष्ट्र बैकले ब्युरोलाई अनुसन्धान गर्न भनेको डिआइजी कार्कीले सेतोपाटीलाई जानकारी दिए।
'पुरानो मुद्दा हो, मर्ज हुनुभन्दाअघि भएको घोटालाबारे राष्ट्र बैंकले सिआइबीलाई अनुसन्धान गर्न भनेको हो, अनुसन्धानका लागि केही अधिकारी हाम्रो नियन्त्रणमा छन् अनुसन्धान हुँदैछ,' उनले भने।