सडक कालोपत्रे गर्ने सहमतिसँगै स्थानीयले सडक चापागाउँ–खुमलटार सडक शुक्रबार साँझदेखि खोलेका छन्।
शुक्रबार सडक विभाग, ठेकेदार र संघर्ष समितिबीच भएको त्रिपक्षीय सम्झौता भएसँगै अवरोध हटेको संघर्ष समितिका संयोजक हिमाल राईले सेतोपाटीलाई जानकारी दिए ।
‘त्रिपक्षीय सम्झौता भएको छ। अब हामी अवरोध हटाउँछौं,’ राईले भने, ‘ठेकेदारसँग भोलिदेखि नै सडक कालोपत्रे गर्ने लिखित सहमति भएको छ।’
४ वर्षदेखि सडक निर्माण सुरु भए पनि अझै सम्पन्न नगरेकाले बुधबारदेखि स्थानीयले सडक अवरोध गरेका थिए।
स्थानीयको आवाज नसुनिएको भन्दै उनीहरुले शुक्रबार बिहानदेखि अवरोध थप कडा पारेका थिए। शुक्रबार उनीहरूले ढोलाहिटी, सामाङचोकसम्मै सडक अवरोध गरेका थिए।
‘हामीले बुधबार पनि २ घन्टा सडक अवरोध गरेका थियौं। बिहिबार बिहान ८ बजेदेखि बेलुका ७ बजेसम्म र शनिबार पनि बिहान ८ बजेदेखि नै अबरोध गरेको सडक खुलाउन लागेका छौं,’ राईले सेतोपाटीसँग भने, ‘भोलिदेखि नै सडक निर्माण गर्नका लागि सामग्री आएन भने यो अभियान थप कडा बन्नेछ।’
शनिबारदेखि नै सडक निर्माण सुरु गरेर वैशाख १५ भित्र सक्ने ठेकेदार कम्पनी युनाइटेड विल्डर्स एण्ड इन्जिनियर्सका सकुन्तलाल हिराचनले बताए।
सडक निर्माण सम्पन्न नहुन्जेल बिहान र बेलुका धुलो कम गर्नका कम्पनीले पानी पनि हाल्ने भएको छ।