पोखरा एक बालिकाको ढुंगाले हानेर हत्या भएको छ। नयाँ बजारस्थित सभागृह टोलमा ५ वर्षीया विहानी थापालाई एउटा ग्यारेजमा काम गर्ने किशोरले ढुंगाले हानी हत्या गरेका छन्।
आइतबार राति हत्या गरी बालिकाको शव शभागृह टोलमा फालिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख तथा एसपी अशोक सिंहले सेतोपाटीलाई जानकारी दिए।
‘गएराति ग्यारेजमा काम गर्ने १४ वर्षिय एक किशोरले ढुङगाले हानेर बालिकाको हत्या गरेको खुलेको छ,’ सिंहले भने ‘सबै प्रमाणसहित किशोरलाई नियन्त्रणमा लिएका छौं।’
आइतबार साँझ ७ बजे हराएकी बिहानीको राति १० बजे तिर हत्या गरिएको अवस्थामा उनको शव फेला परेको एसपी सिंहले जानकारी दिए।
आइतबार राति १० बजेतिर सभागृह टोलमा फेला परेको शव सिमेन्टको बोरा, ढुङगा र बालुवाले छोपेको अवस्थामा फेला परेको एसपी सिंहले जानकारी दिए।
मृतक बालिकाको टाउकोमा चोट लागेको उनले बताए। प्रहरीले ती कोशोरसँगको प्रारम्भिक सोधपुछमा खेलौनाको विषयलाई लिएर हत्या भएको बताएको छ।
प्रारम्भीक सोधपुछका क्रममा ती किशोरले आफ्नो खेलौना बिहानीले बिगारिदिए पछि ढुङगाले हानेको बताएका एसपी सिंहले जानकारी दिए।
हत्याका आरोपी १५ वर्षगभन्दा मुनिका भएकाले उनको नाम गोप्य राखिएको सिंहले जानकारी दिए। घटनाका विषयमा थप अनुसन्धान भईरहेको छ।