बिना अनुमति गीत 'कृ' फिल्ममा राखेको आरोपमा मंगलबार प्रहरी नियन्त्रणमा लिइएका फिल्म सुवास गिरीले आफूलाई फिल्मको गीत ‘उकालीमा पछि पछि’ मामलामा निर्देशक शम्भु प्रधानले नेपाल प्रहरीका आईजिपी प्रकाश अर्याललाई प्रभावमा पार्दै हिरासतमा राखेको आरोप लगाएका छन् ।
आफ्नो फिल्म ‘सम्झना’को गीत ‘उकालीमा अघि अघि’को गीत विना अनुमति भुवन केसीको फिल्ममा राखिएको भन्दै क्षतिपूर्तिका लागि प्रहरीमा उजुरी दिएका थिए ।
बिहिबार पत्रकार सम्मेलन गर्दै गिरीले सो आरोप लगाएका हुन्। पत्रकार सम्मेलनमा गिरीले आफ्नो ३४ वर्षको जीवनमा नराम्रो क्षण व्यहोरेको बताए ।
‘ हामीले आइजीपीको ठाडो आदेशमा तपाईलाई राख्नु परेको हो’ भनेर जवाफ दिएँ,’ उनले भने,‘ मलाई पैसा तिर्दा त्यस्तो ठूलो चित्त दुखेको होइन । एक त त्यो उहाँले पाउनुपथ्र्यो भने उहाँले नियम अनुसार म तिर्न तयार थिएँ । मलाई त्यहाँ पुलिस चौकीमा थुनेर बार्गेनिङ गरियो । त्यो चाहिँ चित्त दुखाई हो । मलाई कागजपत्र नदिने, टीडीएस तिर्नुपर्छ भन्दा टीडीएस तिर्दिन म तपाई भित्रै बस्नुस् भनेर धम्कीपूर्ण शैलीमा आइजीपीको आदेश छ भनेर भित्र राख्न खोजियो ।’
त्यस्तै उनले संचारमाध्यममा आफूलाई पक्राउ गरिएको भन्दै छापिएका समाचारप्रति असहमति समेत प्रकट गरे। प्रहरीले आफूलाई पक्राउ गरेको भन्ने विषय गलत रहेको निर्माता सुवासको दाबी थियो ।
‘मलाई पुलिसले लगेको होइन । म आफैं गएको हुँ । म जापान जाने बेलामा पनि उहाँले मिडियामा बोलेको कुरा हेरें । मेरो संगीतकारले गलत काम गरे पनि यसको क्षतिपूर्ति कति तिर्नुपर्ने हो?, म तिर्न तयार थिएँ,’उनले भने,‘मेरो प्रोडक्सन हाउसले क्षतिपूर्ति कति तिर्दा हुन्छ म तिर्छु भनेर मैले आफै प्रहरीमा गएको हो ।'
उनले जापान पनि प्रहरीका एसपीलाई फोन जानकारी गराएर गएको बताए ।
' केही पर्यो भने, मेरो वकिल छ भनेर वकिलको नम्बर दिएँ । जापानबाट आएर पनि मैले फोन गरें । अस्तिको छलफलको विषयमा शम्भु दाईलाई बोलाइदिनु म टुंग्याउँछु भनेर म आफै गएको हो । मलाई लगिएको होइन । तर, मलाई अपहरण शैलीमा हिरासतमा लिइयो । म छलफलमा आउन, अल्मोडालाई बोलाउन तयार हुँदा हुँदै किन मलाई यस्तो गरियो', गिरीले प्रहरी रवैयाप्रति प्रश्न उठाए।
सुवासले ‘कृ’ले लगानी नगरेको अवस्थामा शम्भुले ५० प्रतिशत चाहिन्छ भन्दा त्यस्तो रकम दिनुभन्दा आपसी सहमतिमा कुरा टुंगाउनुपर्छ पनि भनेको खुलाए ।
‘किनभने लगानी रिकभर गर्न प्रयासरत अवस्थामा त्यति धेरै पैसा दिन मलाई पनि गाह्रो पथ्र्यो । यस्तो अवस्थामा छलफलको लागि बोलाउँदा आइजीपीको आदेशमा मलाई थुनाउने हो त’ उनले प्रतिप्रश्न गरे ।
उनले शम्भु र आफ्नो विवादको विषयमा मध्यस्थता गर्न कोही पनि नआएको सुवासले बताए ।
‘त्यसमा पनि शम्भु दाईको गलत नियत देखियो । उहाँले कसैलाई जानकारी पनि गराउनुभएन । त्यो बेला मेरो मोबाइल सबै खोसियो कोहीसँग सम्पर्क गर्न पाइन । फिल्म क्षेत्रको मान्छेसँग पनि कुरा नगरेर उहाँ भागी भागी हिड्नुभयो', गिरीले यसअघि यस्ता मामिलालाई निर्माता संघले टुङ्ग्याउने गरेको तर्फ इंगीत गर्दै भने।
‘छलफलका लागि गएको व्यक्तिलाई अपहरण शैलीमा हिरासतमा लिनु अन्याय हो । म यो विषयमा आवाज उठाउँछु । मलाई पैसाको कुरामा अपहरण गरेर पैसा लैजानु ठूलो कुरा होइन । मलाई अपराधी जस्तो हत्कडी लगाएर राखिएको छ । त्यो चाहिँ मेरो चित्त दुःखाई हो । हत्कडी लगाएर मेडिकल चेकअपमा लगिएको छ । मलाई के फिल भयो होला भन्नुस् न । रातारात चोरी केसमा प्रहरीले पक्राउ गरेको छ भनेर समाचार लेख्न लगाउने हत्कडी लगाउने मैले के अपराध गरेको छु र?’
सुवासले गीत राख्दा अहिलेको अवस्था आउने थाहा पाएको भए आफूले नराख्ने बताए ।
‘भुवन दाईले म शम्भु दाईसँग कुरा गरेर मिलाउँछु भनेर यो कुरालाई सामान्य रुपमा लिनुभयो,’सुवासले भने, ‘शुरुमा अल्मोडाले थिम बनायो । दुईवटा लिरिक्स राखेर हामीले गीत बनायौं । अनि भुवन दाईले यो लिरिक्स भन्दा ‘उकालीमा अघि अघि’ भन्ने गीत राखौं भन्नुभयो ।
‘सम्झनामा मैले पनि खेलेको छु र मैले पनि केही योगदान दिएको छु’ भनेपछि उहाँले शम्भु दाईसँग कुरा गर्दा केही फरक पर्दैन भन्नुभयो । शम्भु दाईले बनाएको फिल्म हो भनेर मैले सहज रुपमा लिएँ । गीतलाई प्रोमोसनल हिसाबले नलाने पछि फिल्म रिलिज पछि गीत रिलिज गरौंला भन्ने हिसाबले अघि बढियो । भुवन दाईले त्यो शब्द राख्दा फरक पर्दैन भनेर चाहिँ भन्नुभएको हो ।’
उनले शम्भु प्रधानकै योजना अनुसार विकास बोर्डबाट पत्र ल्याइएको बताए ।
‘अहिलेसम्म भुवन दाई पनि निर्माता हो । हामीसँग सम्झौता नै छ । विकास बोर्डले मलाई मात्र निर्माता भनेर पत्र दिनु षडयन्त्रपूर्ण छ । मसँग भुवन दाई निर्माता भएको सहमति पत्र नै छ,’ उनले गुनासो गरे, ‘भुवन दाई पनि निर्माता हुँदाहुँदै मलाई मात्र किन थुनियो त । म नयाँ मान्छे यसलाई टर्चर दिन सकियो भने भने जति पैसा निकाल्न सकिन्छ भनेर यस्तो काम गरिएको हो । गिरीले गीतसंगीतको नक्कलको प्रसंगमा संगीतकार तथा आफ्ना साथी निर्मातालाई प्रहरीले केहि नगरेको तर्फ असन्तुष्टि पोखे।
निर्माता गिरीको यो सम्पूर्ण प्रक्रियामा प्रहरीको गतिविधि न्यायिक देखिएको छैन्। विदेशमा यस्ता मुद्दामा निर्माता, संगीतकार, गीतकार तथा निर्देशकसमेत यसको कारवाहीको दायरामा आउँछन्। तर काठमाडौं प्रहरी परिसरका एसएसपी विश्वराज पोखरेल यस विषयमा मौन देखिए। उनले माथिको दबाबमा यस प्रक्रियालाई अनुसरण गर्न उपयूक्त नै ठानेन् जबकी यस्ता केसमा प्रहरीले सरोकारवाला सबैलाई समान व्यवहार देखाउँथ्यो भने चलचित्र तथा गीतसंगीत सम्बद्ध संस्थाको सल्लाह अनुसार केस हेर्नेगर्थ्यो।