नेपाल सरकारले २०७५ सालभरीको बिदाको सूची राजपत्रमा प्रकाशन गरेको छ। मन्त्रीपरिषदको निर्णयपछि २०७५ सालमा झण्डै एक दर्जन सार्वजनिक बिदा कटौती गर्दै नयाँ विदा सूची सार्वजनिक गरेको हो।
सरकारले सार्वजनिक गरेको सूचीमा वर्षभरी शनिबार बाहेक नयाँ वर्ष, शिवरात्री र फागु पूर्णिमामा देशभरी नै बिदा हुनेछ। सम्बन्धित धर्म, संस्कृति, भौगोलिक क्षेत्र र स्थान विशेषका लागि १३ दिन बिदा दिइएको छ ।
सबै महिलाका लागि तीज र जितीया पर्व मनाउने महिलाका लागि असोज १६ गते बिदा हुनेछ। यस्तै दसैँ बिदा असोज ३० देखि कात्तिक ३ तथा तिहार बिदा कात्तिक २१, २२ र २३ गते हुनेछ।
वैशाख ११ को लोकतन्त्र दिवस, जेठ १५ को गणतन्त्र दिवस, माघ १६ को शहीद दिवस, पुस २७ को राष्ट्रिय एकता दिवस र फागुन ७ गतेको प्रजातन्त्र दिवसमा अब बिदा हुने छैन। यसको सट्टा संविधानसभाबाट संविधान जारी भएको दिन असोज ३ गतेलाई संविधान दिवसको दिन देशभरी नै राष्ट्रिय दिवसको बिदा हुनेछ।
यस्तै दिवस बिदा अन्तर्गत मजदुर दिवस र अन्तर्राष्ट्रिय महिला दिवसको दिन देशभरी नै बिदा दिइएको छ।
यसैगरी बुद्ध जयन्तीको दिनपनि देशभरी नै बिदा हुनेछ । काठमाडौं उपत्यकाको लागि चार दिन जात्रा बिदा र शिक्षण संस्थाको लागि वसन्त पञ्चमीमा एक दिन बिदा हुनेछ ।
दसैंमा फूलपातीदेखि एकादशीसम्म पाँचदिन मात्र सार्वजनिक बिदा हुनेछ ।
ल्होसार, क्रिसमस, छठ, माघी लगायत पर्वको दिन राष्ट्रिय बिदाको सट्टा सम्बन्धित समुदाय र भेगमा मात्र बिदा हुनेछ । महिलाले पाउने ऋषिपञ्चमीको बिदा पनि कटौती भएको छ ।
जनै पूर्णिमा, रामनवमी र कृष्णाष्टमीमा पनि अब बिदा हुने छैन।
सरकारले यसअघि नै सार्वजनिक बिदा कटौती गर्दै वर्षमा ८९ दिन मात्र सार्वजनिक बिदा दिने निर्णय गरिसकेको छ। यसअघि वर्षको १ सय ४ दिन सार्वजनिक बिदा हुँदै आएको थियो ।
राजपत्रमा प्रकाशित बिदाको सूचि हेर्नुहोस्