गौतमबुद्ध अन्तर्राष्ट्रिय बहुउद्देश्यीय क्रिकेट रंगशाला बनाउने अभियान शुरु गरेको धुर्मुस सुन्तली फाउण्डेसनले मंगलबार रुपन्देहीको सैनामैनामा जग्गा अवलोकन गरेको छ।
फाउण्डेसनका अध्यक्ष सिताराम कट्टेल (धुर्मुस) सहितको टोलीले सैनामैना नगरपालिका वडा नं. ७ लम्टियामा रहेको जग्गाको सम्भावना बारे अध्ययन तथा निरीक्षण गरेको छ ।
धुर्मुस सुन्तली फाउण्डेसनले अबको योजना क्रिकेट मैदान बनाउने रहेको र जग्गाको खोजी गरेको जानकारी पाए लगत्तै सैनामैना नगरपालिकाले जग्गा उपलब्ध गराउने निर्णय गरेको थियो ।
सोही अनुरुप फाउण्डेसनले सो बारे अध्ययन र अवलोकन गर्न उक्त स्थानमा पुगेको हो ।
स्थानीयले वृक्षारोपण गरेर संरक्षण गरेको सो जग्गा पूर्वपश्चिम राजमार्गको रामापुर कलौनीबाट २ किलोमिटर दक्षिण, लुम्बिनीबाट १६ किलोमिटर उत्तर र अन्तर्राष्ट्रिय गौतमबुद्ध विमानस्थलबाट करिब १८ किलोमिटरको पश्चिम उत्तर दूरीमा छ।
सयौ प्रशंसकको स्वागत पाएका धुर्मुसले अब विकासलाई कसैले रोक्न नसक्ने बताए। नेपाली क्रिकेटले गरेको प्रगती र नागरिकको अपेक्षालाई ध्यानमा राखी क्रिकेट मैदान बनाउने योजना बनाएको उनले बताए । ‘देशमा अन्तर्राष्ट्रिय क्रिकेट मैदान बनाउनुपर्ने र त्यसको लागि हामी सक्षम पनि छौ’, उनले भने ‘अब अन्तर्राष्ट्रिय क्रिकेट मैदान बन्यो बन्यो।’
अवलोकनपछि अध्यक्ष सीताराम कट्टेलले स्थानीयको उत्साह र फाउण्डेशनले निर्माण गर्ने भनेको रंगशालाका धेरै उद्देश्य यस क्षेत्रसँग मेल खाने भएकाले प्राविधिक परीक्षण सफल भएमा यही क्षेत्रलाई रोज्ने बताए।
सैनामैना नगरपालिकाले क्रिकेट मैदान बनाउनको लागि फाउण्डेनलाई करिब ६० बिगाहा क्षेत्रफल उपलब्ध गराउन सकिने जानकारी दिएको छ।
नगरपालिका प्रमुख चित्रबहादुर केशीले धुर्मुस सुन्तली फाउण्डेसनले क्रिकेट मैदान बनाउने निर्णय गरे आवश्यक सबै खाले सहयोग प्रदान गरिने प्रतिवद्धता व्यक्त गरे।
क्रिकेट अभियानमा लागेका हाँस्य कलाकार मनोज गजुरेलले क्रिकेट मैदान बनाउने अभियानमा सबै कलाकारको सहभागिता रहने बताए।
फाउण्डेसनको टोलीले मंगलबार नै ५ नम्वर प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलसँग भेट गरेको छ ।
क्रिकेट मैदान निर्माण गर्ने नागरिक अभियान महत्वपूर्ण रहेको पोखरेलले बताए।
गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियम नाममा छिट्टै नै शिलान्यास गर्नेगरि उपयुक्त जग्गाको खोजि भईरहेको फउण्डेसनले जनाएको छ ।
करिब २ अर्बको लागतमा ४० हजार दर्शकले अवलोकन गर्न सक्ने मल्टिप्रपोज स्टेडीयम बनाउने योजनासहित सम्भाव्यता अध्ययन भईरहेको इन्जिनियर रविभुषण झाले जानकारी दिए।
रुपन्देही, चितवन र काठमाडौं उपत्यकाको चाँगुनारायण, मुलपानी, कीर्तिपुर मध्ये कुनै एक ठाउँलाई छनोट गर्ने सम्भावना रहेको बताइएको छ।
सैनामैना नगरपालिका प्रमुख चित्रबहादुर केसीले बुद्धजन्मस्थलको सामिप्यता, सडक र भूगोलले उपयोगी भएकाले यही क्षेत्रमा रंगशाला निर्माण गर्न आग्रह गरे।
यसैबीच फाउण्डेसनको टोलीले भैरहवामा रहेको सिद्धार्थ रंगशाला पनि अवलोकन गरेको छ।