दिल्लीबाट काठमाडौं आएको पर्यटक बसबाट प्रहरीले ११ किलो रक्तचन्दनका भाडा बरामद गरेको छ।
दिल्लीबाट काठमाडौं आउदै गरेको बसमा भन्सार छलिका लत्ताकपडा ल्याएको सूचना पछि काठमाडौं प्रहरीले बुधबार कालीमाटीबाट ना ४ ख ४५१६ नम्बरको बसलाई नियन्त्रणमा लिएको थियो।
गत सोमबार दिल्लीबाट ४ जना यात्रु बोकेर आएको बसले विभिन्न भागमा ३० लाख भन्दा बढीको लत्तापकपडा र ११ किलो रक्तचन्दन ल्याएको काठमाडौं प्रहरी प्रमुख एसएसपी विश्वराज पोखरेलले बताए।
बुधबार बिहान ३ बजे प्रहरीले नियन्त्रणमा लिएको बसलाई काठमाडौं परिसरमा ल्याई बसका विभिन्न भित्री भागबाट सामानहरु निकालिएको थियो।
त्यसैक्रममा बसको भित्री भागमा रक्तचन्दका तयारी भाडा र माला बनाउन प्रयोग हुने दाना बरामद भएको एसएसपी पोखरेलले बताए।
बसका चालक काभ्रेका झिल्केमान रुम्वा र सहचालक वुटवलका सुजन पुनलाई समेत प्रहरीले नियन्त्रणमा लिएको छ।
सो बसले यसरी पटक पटक अवैध सामान नेपाल भित्र्याएको पक्राउ परेका चालक र सहचाकले प्रहरीमा बयान दिएका छन्। प्रहरीले बसका मालिकको खोजी गरिरहेको जनाएको छ।
नियन्त्रणमा लिइएको बस, चालक, सहचालक तथा बरामद सामाग्रीलाई आवश्यक अनुसन्धानका लागि जिल्ला बन कार्यालय र राजश्व अनुसन्धान बिभागमा बुझाउने समेत एसएसपी पोखरेलले जनाए।