भारतबाट नेपाल भित्र्याउँदै गरेको अवस्थामा बारा प्रहरीले स्रोत नखुलेको ४० लाख नेपाली रूपैयाँसहित दुई जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा एक भारतीय र एक नेपाली छन्। भारतबाट नेपाल भित्र्याउँदै गरेको रकमसहित भारत मोतिहारी जिल्ला थाना आदापुर ग्राम आदापुर–१२ श्यामपुर बजारका २२ वर्षीय गुडु कुमार र वीरगन्ज १६ इनर्वाका सन्तोष कुमार छन्।
भारतसँग सीमाना जोडिएको विश्रापुर १ खेकरीया टोलबाट चेकजाचको क्रममा मंगलबार बारा प्रहरीले उक्त रकम बरामद गरेको थियो।
सडकमा चेकजँच गरी रहेका प्रहरीले कुमारले चलाउँदै आएका ना ५४ प १५४५ नम्बरको मोटरसाइकल रोकी चेकजाँच गर्दा ४० लाख रुपैयाँ बरामद गरिएको बाराका प्रहरी उपरीक्षक राजकुमार बैदवारले बताए। ‘शरीरको बिभिन्न भाग र मोटरसाइकलको बिभिन्न स्थानमा राखिएको अवस्थामा ठूलो रकम भेटिएपछि पक्राउ परेका भारतीय नागरिकसँग रकमबारे सोध्दा उनले वीरगन्जमा कबाडको व्यवसाय गरेका सन्तोष कुमार जैसवालको भएको खुल्न आएको छ’, एसपी बैदवारले भने।
भारतीय नागरिककको बयानका आधारमा सन्तोष कुमारलाई पक्राउ गरिएको एसपी बैदारले बताए। भारतबाट रकम लिएर आउने र रकमलाई लिने व्यक्तिहरुले रकमबारे स्रोत नखुलाएको अवस्थामा दुबै जनालाई थप कारवाहीको लागि सम्पत्ती सुद्धिकरण विभाग काठमाडौंमा पठाइएको बताए।