नदीमा स्काभेटर र ट्रिपर प्रयोग गरी नदीजन्य सामाग्री उत्खनने गर्न कानुनले बन्देज लगाएको छ। तर क्रसर व्यवसायीहरुले कानुनको धज्जी उडाउदै गैरकानुनी रुपमा नदी उत्खनन् गर्न भने छोडेका छैनन्।
सिन्धुपाल्चोकको इन्द्रावती र सुनकोसी नदीमा दर्जनौं क्रसर उद्योगहरु सञ्चालनमा छन्। ती क्रसर उद्योगहरुले खोला किनारको बालुवा मात्रै उत्खनन् गर्न पाउने नियम छ। नदीको सतह घट्ने गरी र नदीको धार नै परिवर्तन हुने गरी स्काभेटर र ट्रिपर प्रयोग गरी बालुवा भिक्नाले स्थानिय मर्कामा परेका छन्।
त्यसैगरी क्रसर उद्योग सञ्चालन अनुमती लिनुपुर्व गरिने वातावरणीय प्रभाव मुल्याङकन प्रतिवेदनको आधारमा त्यसको निराकणका उपाएहरु समेत प्रयोगमा नल्याउने स्थानीयहरु अझ बढी मारमा परेका छन्।
सुनकोशी नदी किनारमा सञ्चालीत क्रसर उद्योगको कारण चेहेरे, सुकुटे लगाएतका स्थानिय बढी प्रभावित बनेका छन्। नदीको सतह घट्दै जाँदा किनारका खेतबारीमा सिंचाइ हुन छोडेको छ। जसको कारण कतै उब्जनी घटेको छ भने कतै त खेती नै बाँझो राख्नु पर्ने अवस्था आएको स्थानिय किरण पाठकले बताए। ‘क्रसर उद्योगको मनोमानी बढीरहेको छ,’ उनले भने ,‘स्थानीय प्रशासन पनि सक्रिय नभैदिएको कारण हामी मर्कामा परीरहेका छौं।’
क्रसर उद्योगले उडाएको धुलोको कारण इन्द्रावती किनारमा बसोबाुस गर्ने भिमटारका माझी समुदाउका बालबालीका र वृद्धवृद्धामा श्वासप्रश्वास सम्वन्धी समस्या देखा परेको भिमटारकी मनीका माझीले बताइन्। दुई वटा क्रसर उद्योग सञ्चालन भएको कारण सो क्षेत्रमा क्रसरबाट निस्कने धुलो र ट्रिपर गुड्दा उड्ने धुलोको दोहोरो मारमा परेको उनले बताइन्।
धुलोको कारण उब्जाउ कम हुने, श्वासप्रश्वास तथा छालाको रोगको समस्या बढ्दै गएको छ।
नदीमा बालुवा उत्खनन् गर्न प्रयोग गरीएका स्काभेटर र ट्रिपर प्रहरीले नियन्त्रणमा नलीने गरेको पनि होइन। तर ती उपकरणहरु नाम मात्रै को कारबाहीमा छुट्ने र छुट्नासाथ पुनः नदी दोहन गर्न पुगीहाल्ने गरेका छन्। ती क्रसर उद्योगीहरुले जिल्लाका ‘ठुला नेता’ र प्रशासनका ‘हाकीम’ लाई नै आफ्नो प्रभावमा पारेका कारण पनि उनीहरुको मनमौजी बाड्ने गरेको स्थानीयको आरोप छ।
केही समय अगाडि मात्रै प्रहरीले नियन्त्रणमा लिएको केही स्काभेटर नियमावली तोकीएको एक लाख भन्दा कम रकम ७५ हजार मात्रै जरीवाना लिएर जिल्ला समन्वय समीतिले छोडेको थियो । यसरी पक्राउ गरेपछि केही दिन नदी दोहन रोकिए पनि एक दुई दिनमै फेरि उही प्रकृयाले नदी दोहन शुरु हुन्छ।
शुरुशुरुमा रातको समयमा मात्रै नदी दोहन गर्ने गरीएको भए पनि आज भोलि भने दिनमै पनि नदी दोहन गर्ने गरेका छन्। दिनदहाडै नदीमा स्काभेटर प्रयोग गर्दा पनि प्रहरीले कारवाही नगरेकोमा स्थानीय चिन्तीत छन्।