रूपन्देही प्रहरीले भारतबाट अवैध रुपमा नेपाल भित्र्याई गोदाम गरी राखेको अवस्थामा लाखौ मूल्य बराबरका सामाग्री बरामद गरेको छ।
जिल्लाको सिद्धार्थनगर नगरपालिका वडानम्बर ६ स्थित किशोरपुरमा कृष्णप्रसाद शर्मा पाण्डेको घरमा गोदाम गरि राखेको सामाग्री प्रहरीले विशेष सूचनाका आधारमा बरामद गरेको हो ।
रुपन्देहीका प्रहरी प्रमुख प्रहरी उपरिक्षक श्यामलाल ज्ञवालीले भारतका विभिन्न ठाउँबाट भन्सार छली सामान गोदाम गरेर राखेको सूचनाका आधारमा पाण्डेको घरमा खानतलासी गर्दा लाखौ मुल्य बराबरको सुर्ती, कपडा, हार्डवेयर लगायतका विभिन्न किसिमका सामाग्री बरामद गरिएको सेतोपाटीलाई जानकारी दिए।
बरामद गरिएका सामाग्रीमा ४० किलोको ६० बोरा सुर्ती, लेडिज सुट ६० थान, बनारसी साडी ७ थान, कमसल बनारसी साडी २ सय १९ थान, सानो गलैचा ३ थान, चप्पल एक हजार ४ सय ४० जोर, ढोकाको चुक्कुल ५ सय ७६ थान, ढोकाको कब्जा ९ सय ६० थान, ठूलो गलैचा ६ थान बरामद भएको छ ।
बरामद सामाग्रीको बजार मूल्य १५ लाख रुपैया बढी रहेको बताईएको छ । उक्त सामानलाई प्रक्रिया पुर्याएर भैरहवा भन्सार कार्यालयमा बुझाउने तयारी भईरहेको प्रहरीले जनाएको छ ।
खुल्ला सीमानाको फाइदा उठाउँदै रुपन्देहीमा पछिल्लो समय भन्सार छलीका सामान आयात बढेको छ। प्रहरीले केही दिनअघि अवैध मासु र कपडा बरामद गरेको थियो ।