बनेपास्थित अरनिको राजमार्ग छेउमा रहेको ‘सेतो पाटी’ अब संरक्षण हुने भएको छ।
एकसय वर्षभन्दा पुरानो इतिहास बोकेको ‘सेतो पाटी’ २०७२ सालको भूकम्पपछि निकै जीर्ण बनेको थियो। पाटीबारे स्थानीय प्रशासनको पनि ध्यान जान सकेको थिएन।
‘सेतो पाटी’को बारे गत फागुनमा समाचार प्रकाशित भएपछि नेपाल सरकारको ध्यानाकर्षण भएको थियो। यसपछि संस्कृति मन्त्रालय मातहत रहने पुरातत्त्व विभागले ‘सेतो पाटी’ संरक्षण गर्नका लागि बनेपा नगरपालिकालाई ताकेता गरेको थियो। विभागले एक पत्र लेख्दै नगरपालिकाले पाटीलाई यथाशक्य छिटो संरक्षण गर्न सुझाएको हो।
बनेपा नगरपालिकाले अब एक निर्देशीका जारी गरेर एतिहासिक सम्पदाको संरक्षण गर्न ठोस कार्ययोजना बनाउने जानकारी दिएको छ। नगरपालिकाको एक टोली बनेपा नगरक्षेत्र भित्रका ऐतिहासिक वस्तुहरूको खोजी गर्न पनि निस्केको थियो।
नगरपालिकाको नगर परिषद् बैठकमा पनि सेतो पाटीबारे छलफल भएको नगर प्रमुख लक्ष्मीनरसिंह बादे श्रेष्ठले जानकारी दिए। बादेका अनुसार अब बनेपा नगरपालिकाले इतिहासविद्सँग परामर्श लिएर सेतो पाटी लगायतका ऐतिहासिक सम्पदाहरू संरक्षण गर्ने निर्णय भएको छ। बनेपा नगर आफैँमा कलासम्पन्न र प्राचीन नगर भएकाले यसको वैभव बचाउनु नगरपालिकाको कर्तव्य भएको नगरप्रमुख बादेले बताए।
स्थानीय पत्रपत्रिका एवं नागरिक अगुवाहरूले पनि ‘सेतो पाटी’को संरक्षण गर्न आवाज उठाएका थिए। नगरपालिकालाई उनीहरूले सद्भावमूलक दबाब दिन थालिसकेका थिए। यसबारे सेतोपाटी अनलाइनसँग कुरा गर्दै नगरप्रमुख बादेले सम्पदाहरूको महत्त्व उजागर गरी संरक्षण गर्न घचघच्याउने सबै व्यक्ति तथा संस्थाप्रति धन्यवाद व्यक्त गरे। बनेपा नगरमा मल्लकालीन सम्पदाहरूसमेत रहेकोले ती सबै वस्तुहरूको दीर्घकालीन संरक्षण गर्न आफू सदैव तत्पर रहेको उनले बताए।
एक सय पाँच वर्ष अगाडि बनेपाका व्यापारी हरिभक्त बादे र उनका दाइ कृष्णभक्त बादेले निर्माण गरेको यस पाटीमा काठमाडौं जाने पूर्वेलीहरू बास बस्ने गर्दथे। हिँडेर काठमाडौं आउने पूर्वेलीहरु उपत्यका खाल्डो छिर्नुअघि बनेपा बास बस्थे। एक रात थकाइ मारेपछि भोलिपल्ट सजिलै राजधानी पुगिन्थ्यो। तिनै यात्रुलाई बास बस्न सहज होस् भनी बनेपा, जनागालमा सेतो पाटी बनाइएको थियो।
तत्कालीन समय ठूलो धनराशी खर्च गरेर बनाइएको दुईतल्ले पाटी देशभरी नै प्रख्यात थियो। आठ मिटर लम्बाई र पाँच मिटर चौडाइ रहेको पाटीमा पाकेको इँटाले गारो लगाइएको छ। कलात्मक खोपा, आधा दर्जन झ्याल र भित्रपट्टि सामान राख्ने तखता एवं खण्ड यसका विशेषता हुन्। बाहिरी भित्तामा सिंह, चराचुरूंगी तथा प्रतीकात्मक बुट्टाले गर्दा सेतो पाटी आकर्षक बन्न पुगेको छ।
पाटीसहितको करिब सात आना सार्वजनिक जग्गा रहेको यस क्षेत्रमा जग्गाको विषयमा केही विवाद समेत आएको थियो। अहिले नगरपालिकाले नै यसमा चासो दिएपछि स्थानीयहरूसमेत पाटी संरक्षण हुनेमा विश्वस्त रहेका छन्। ‘थोरै खर्चमै मर्मत गर्न सकिन्छ। छानो जस्ताको त्यस्तै छ, काठपात कुहिएको छैन, भित्ता र पर्खाल पनि बलियै छन्। अब भत्केको ठाउँमा नयाँ गारो लगाएर झ्यालढोका थपे पाटी पुरानै स्वरूपको हुनेछ।’ यसमा स्थानीय धेरैको मत मिलेको छ।
बनेपा निवासी इतिहासविद् ज्ञानकाजी मानन्धरले पनि नगरपालिकाको पछिल्लो निर्णयले संस्कृति संरक्षण र मौलिकता बचाउने बताएका छन्। सेतोपाटीको इतिहासबारे मानन्धर स्वयंले पनि दुई दशक अगाडि नै खोजी गर्ने जमर्को गरेका थिए। त्यसबेला उनको कार्य स्थगन हुन पुगे पनि अहिले फेरी पाटीको इतिहासबारे खोजी गर्न मानन्ध। इच्छुक छन्।
मानन्धरले विभिन्न व्यक्तिहरूसँग टेलिफोन गरी पाटीको बारे नयाँ तथ्यहरू पनि फेला पारेका छन्।
यो पनि पढ्नुहोला।https://setopati.com/social/135069