प्रायजसो क्यान्सर भन्नेबित्तिकै घातक रोग हो र मरिहालिन्छ भन्ने त्रास प्राय सबैमा हुन्छ। तर, क्यान्सर रोग लाग्दैमा डराउने र आत्तिइहाल्नुपर्दैन यो रोग उपचारबाट निको हुन्छ। क्यान्सर भएमा रोगको अवस्था, कुन अंगमा लागेको छ, ती कुरामा ध्यान दिएर सम्बन्धित विशेषज्ञ चिकित्सकको सल्लाहअनुसार उपचार गर्नुपर्छ।
कुनै समय हामीलाई क्यान्सर जस्तो प्राणघातक रोग लाग्ने हो कि भन्ने धेरै डर हुन्थ्यो। जब क्यान्सर रोगको रूपमा वरिपरी घुम्न सक्ने स्थिति धेरै हुने कुरा बुझियो, त्यसपछि यसलाई रोकथाम कसरी गर्ने भन्ने विचार आउन थाल्यो।
पाठेघरको क्यान्सर गराउने ह्यूमन पापिलोमा भाइरस र क्यान्सर सम्बन्धमा आज केही चर्चा गर्नेछु।
ह्यूमन पापिलोमा भाइरसपाठेघरको क्यान्सरअन्तर्गत पाठेघरको मुखको क्यान्सर तथा पाठेघरको भित्रपट्टिको क्यान्सर प्रमुख हो। ह्युमन प्यापिलोमा भाइरसका कारणले पाठेघरको मुखको क्यान्सर भएको पाइन्छ।
यसका साथै धेरैजना पुरूषसँग यौनसम्पर्क राख्ने, सानो उमेरमा धेरै सन्तान जन्माउने महिलामा पनि यो क्यान्सर हुनसक्छ। महिलामा हुने सम्पूर्ण क्यान्सरमध्ये स्तन क्यान्सर, फोक्सोको क्यान्सर र तल्लो आन्द्राको क्यान्सरपछि पाठेघरको क्यान्सर चौथो नम्बरमा पर्छ।
कुनै निश्चित कारणले पाठेघरको मुखको क्यान्सर हुन्छ भनेर किटान गर्न नसकिने भएपनि एचपीभी (ह्युमेन पापिलोमा भाइरस) नै यसको मुख्य कारण हो। करिब ७० प्रतिशत पाठेघरको मुखको क्यान्सर एचभीपीसँग सम्बन्धित रहेको पाइएको छ। एचपीभी एक साधारण भाइरस हो, जुन यौनसम्पर्क मार्फत एक अर्कामा सर्ने गर् । यौनकार्यमा सक्रिय ५० देखि ८० प्रतिशत महिलालाई जीवनमा कम्तीमा एक पटक उक्त भाइरसले संक्रमित गर्ने गरेको छ।
एचपीभी शारीरिक सम्पर्कको क्रममा छालाबाट छालामा फैलिन्छ। यस्ता विषाणुले गर्भाशयको मुखको कोषिकाको प्रोटिनसँग एचभीपीको प्रोटिनको रासायानिक प्रक्रिया हुँदा ती कोषिकाहरुमा परिवर्तन ल्याउँछ र जुन वर्षौंपछि क्यान्सरमा परिणत हुन्छ।
कम उमेरमा विवाह हुनु, कम उमेरमै यौन सम्पर्क स्थापित हुनु, एक भन्दा बढी जना सँग यौनसम्पर्क राख्नु, कम उमेरमा अनि धेरै बच्चा पाउनु, आफ्नो गोप्य अङ्गको उचित सरसफाई नगर्नु, चुरोट खैनी तथा सुर्तीजन्य पदार्थको सेवन गर्नु, यौनरोग एवं गुप्ताङ्ग सम्बन्धी दीर्घरोगी हुनु पाठेघरको मुखको क्यान्सर लाग्नाको प्रमुख कारणहरु हुन्।
कसरी बच्नेमानव शरीरमा लाग्ने विभिन्न खालका क्यान्सरहरुमा पाठेघरको मुखको क्यान्सर मात्र यस्तो क्यान्सर हो जसको क्यान्सर पूर्वको अवस्था सजिलै पत्ता लगाउन सकिन्छ।
केही मिनेटमा नै सकिने यो परीक्षणको क्रममा नदुख्ने र बेहोश गराउन नपर्ने हुन्छ। प्याप स्मियर नामक साधारण जाँचबाट पाठेघरको मुखको श्राव निकाली क्यान्सर छ छैन थाहा पाउन सकिन्छ।
सबैभन्दा पहिले हामीले ह्यूमन पापिलोमा भाइरस एभभिपी पत्ता लगाए यसबाट हुने क्यान्सरबाट बच्न सकिन्छ। अर्थात भाइरसबाट उत्पन्न हुने क्यान्सरको जरोनै एचपीभी भएको तथ्य विज्ञानले देखाइसकेको छ।
सुरूमा यो भाइरस महिलाको पाठेघरको मुखमा बन्ने क्यान्सरबाहक मानिएको थियो। विशेष घटनाबाहेक पुरूषसँगको सहवासपछि क्रमिक रुपमा यो भाइरसले महिलालाई वर्षौपछि क्यान्सर हुनसक्ने देखियो। तर भाइरसबारे हामीले क्यान्सर बन्नुभन्दा अगाडि पत्ता लगाउन सकेमा समान्य उपचारबाटै यसको निदान गर्न सकिन्छ।
त्यसैले पाठेघरको मुखको मयल परीक्षण (Cervical Smear Test) विधिको प्रयोगबाट भाइरसको निदान हुने र क्यान्सर हुनबाट जोगिन सकिन्छ।
भिजुयल एसेटिक एसिड टेष्ट (भी.आइ.ए) जस्ता अलि सहज प्रविधिबाट पनि भाइरस छुट्याउने प्रयासहरु नेपालमा गर्न थालिएको छ।
भाइरस लाग्नुपूर्व, विकशित मुलुकका नवकिशोरीलाई एच.पी.भी भ्याक्सीन दिएर समेत पूर्व रोकथाम थालिएको एक दशकभन्दा बढी भइसकेको छ। तर, यो अलि महंगो भएकोले अल्पविकसित मुलुकमा सबैको सहज हुन सकेको छैन।
यसको अलावा एसिटिक एसिड वा ल्युगोल आयोडिनको प्रयोगबाट पनि थाहा पाउन सकिन्छ।
२५ वर्ष काटिसकेकी विवाहित महिलाले सकिन्छ भने वर्सेनी प्याप स्मियर परीक्षण गराउनु बुद्धिमानी हुन्छ।
पुरूष यौन अंगमा वास हुनसक्ने र महिला यौन अंगमा वृद्धि भएर पाठेघरको मुखमा क्यान्सर हुने भनिएकोमा अब यो भन्दा अन्यत्र पनि प्रभाव देखा परेको छ।
यो एउटा महिलाको अंगमा सर्ने मात्र नभई यसले मानिसका अन्य अंगमा पनि प्रभाव पार्न थालेको छ।
स्वास्थ्य सम्बन्धी पत्रिका मेडस्केप (www.medscape.com) मा प्रकाशित केही अनुसन्धान अनुसार अमेरिकाको सन्दर्भमा एच.पी.भी यौनसँग सम्बन्धित सबैभन्दा व्यापक सरूवा रोग हो।
त्यहाँ वर्षको १२ हजार ५ सयभन्दा बढी नयाँ विरामी देखिने र ४ हजार १ सय मानिस प्रत्येक वर्षे मर्ने गरेको तथ्य देखिएको छ।
यो भाइरस कति खतरनाक तरिकाले ढंगले बढ्दैछ भन्ने साधारणतया अनुमान गर्न सकिँदैन।
महिलाको यौन अंगबाट पुरूषको गुदद्धार दुबै थरीको घाँटी, मुखतर्फ पनि यसको संक्रमण बढी रहेको पाइन्छ। हुनसक्छ, यौन विकृत व्यवहार, सरसफाइमा ध्यान नदिने तथा एक आपसमा अञ्जानमै भाइरस सार्ने कार्यबाटै यसले व्यापकता लिएको हो।
क्यान्सर विज्ञ डा.मौरी मार्क म्यानले अमेरिकाका १८ देखि ६९ वर्ष उमेर समूहमा गरिएको अनुसन्धाबाट निस्किएको नतिजा हेर्दा यो क्रम अन्यत्र मुलुकमासमेत नहोला भन्न सकिदैन।
मुखमा हुने क्यान्सरको अध्ययनबाट निकालिएको नतिजामा ११.५ प्रतिशत पुरूष र ३.२ प्रतिशत महिलाको मुखमा यो भाइरस देखियो। यो भाइरस देखिनासाथ क्यान्सरनै हुने त होइन, तर यसबाट क्यान्सर हुनसक्ने प्रबल सम्भावना हुन्छ।
यो एच.पी.भी –१६ भाइरस जसले पाठेघरको मुखको क्यान्सर गराउन सहयोग गर्छ। त्यो १६ नम्बरको भाइरस पुरूषको मुखमा महिलाको भन्दा झन्डै चार गुणा बढी पाइएको अनुसन्धानमा देखिएको छ।
अमेरिकाको अनुसन्धानात्मक तथ्याङ्कबाट अरु मुलुकका मानिसले समेत पाठ सिकेर सुरक्षित यौन व्यवहार, समयमा परीक्षण, विज्ञहरुको सल्लाह लिन सुरु गर्नुपर्ने आवश्यकता देखिन्छ।
सरकार तथा स्वस्थ्यमा काम गर्ने संस्थाहरू, समाजसेवी, बुद्धिजीवीबाट समेत यसबारे चासो दिएर यस्तो भाइरसको नियन्त्रणमा लाग्नुपर्ने समय भएको छ।
पाठेघरको मुखको क्यान्सर शुरुको अवस्थामा पत्ता लागे शतप्रतिशत निको पार्न सकिन्छ।