सर्वोच्च अदालतले काठमाडौंको हनुमान ढोका दरबार परिसरमा भवन निर्माण गर्न रोक लगाएको छ।
विश्वसम्पदा सूचीमा रहेको हनुमान ढोका दरबार परिसरमा महर्जन विजनेस एशोसिएशन प्रालीले मापदण्ड विपरित भवन बनाउन लागेकोले त्यसलाई रोक्न माग गर्दै जनहित संरक्षण मञ्चलर सम्पदा संरक्षण अभियान्ता गणपति लाल श्रेष्ठ लगायतले सर्वोच्चमा रिट दिएका थिए।
बुधवार न्यायाधीश टंक मोक्तानको एकल इजलासले अन्तरिम आदेश द्वारा उक्त भवन निर्माणमा रोक लगाएको हो। काठमाडौँ महानगरपालिका र पुरातत्व विभागले उक्त भवन निर्माणकार्य रोक्न यसअघि नै पत्राचार गरेका थिए।
विभिन्न समयमा भवन रोक्न गरिएका पत्रचार समेतलाई दृष्टीगत गर्दा उक्त भवन निर्माण कार्य तत्काल रोक्नुपर्ने देखिएको सर्वोच्चको आदेशमा उल्लेख छ।
उक्त निवेदनका दुवैपक्षलाई वैशाख १६ गते छलफलका लागि बोलाइएको छ। उक्त छलफल पछि भवन निर्माणमाथिको रोकलाई निरन्तरता दिने वा नदिने विषयमा सर्वोच्च अदालतले अर्को निर्णय दिने छ।