भक्तपुरको चाँगुनारायणमा संचालन भइरहेको नेपाल इन्जिनियरिङ कलेजमा अनियमितता भएको भन्दै नेपाल विद्यार्थी संघले आन्दोलनको घोषणा गरेको छ।
संचालकहरु बीचको विवादका कारण पठनपाठन प्रभावित हुँदा अध्ययनरत झण्डै २२ सय बिद्यार्थीहरु अन्यौलमा परेको विद्यार्थीहरुले आरोप लगाएका छन्।
सामाजिक संस्था दर्ता ऐन २०३४ अनुसार जिल्ला प्रशासन कार्यालयमा दर्ता भएर संचालन भएको सो कलेज गैर– नाफामुलक संस्थाका रुपमा संचालन भएको थियो ।
कलेजका संचालक मध्ये केहिले २०७४ सालमा कम्पनि रजिष्टारको कार्यालयमा नीजि कम्पनीमा दर्ता गरेपनि संचालकहरु दुई कित्तामा विभाजित देखिएका हुन् । कम्पनी रजिष्टारको कार्यालयमा नेपाल इन्जिनियरिङ कलेज प्रालिका नाममा दर्ता भएको सो कम्पनीले इन्जिनियरिङ कलेजको चल अचल सवै सम्पतिको स्वमित्व लिने बैधानिक व्यवस्था गरेपछि संचालक मध्येका प्रा डा दिपकप्रसाद भट्टराई, हरि पाण्डे, ई. सलिल भट्टराई र चाँगुनारायण नगरपालिकाका मेयर सोमप्रसाद मिश्र नीजि कम्पनीमा परिणत गर्न नदिने पक्षमा देखिएका छन्। तर सो समयका संचालक समितिका अध्यक्ष लम्बोदर न्यौपाने, सुर्यबहादुर केसी, लबराज भट्टराई, रामरत्न उपाध्याय र डा उपेन्द्र गौतम नीजि कम्पनीमा रुपान्तरण गर्ने तथा पोखरा विश्वविद्यालयसंगको सम्बन्ध तोडेर मध्यपश्चिम विश्वविद्यालयमा सम्बन्धन जोड्ने पक्षमा देखिएपछि विवाद सतहमा आएको थियो ।
क्याम्पसका संचालक तथा चाँगुनारायण नगरपालिकाका मेयर सोमप्रसाद मिश्रका अनुसार संचालक समितिका अध्यक्ष न्यौपाने लगायतका संचालकहरुले कलेजको खाता कब्जा गरेको तथा कलेजले संचालन गरेका खाता समेत राष्ट्रबैंकका उपल्लो निकायका पदाधिकारीको शक्ती प्रयोग गरि बन्द गरेको बताए । क्याम्पसका प्रशासनका अनुसार कलेजको खातामा जम्मा भएको र खाताबाट निकालिएको झण्डै ३३ करोड रुपैयाको हिसाब कलेजसंग छैन् । अहिले कलेजलाई कम्पनीमा लैजाने पक्षधर संचालकहरु कलेजमा उपस्थित हुँदैनन् । तर बाहिर नै बसेर कलेजको आर्थिक कामकारवाही संचालनमा हस्तक्षेप गर्ने गरेका कारण समस्या उत्पन्न भएको मिश्रको भनाई छ ।
पहिले कम्पनीमा दर्ता गरेपछि आन्दोलनमा उत्रिएको नेपाल विद्यार्थी संघले अहिले फेरि कम्पनीमा लिने प्रयास भएको भन्दै विरोध जनाएको छ। नेपाल बिद्यार्थी संघ पोखरा विश्वविद्यालय समन्वय समितिले आज पत्रकार सम्मेलन आयोजना गरि कलेजको अहिलेको अवस्थाका बारेमा जानकारी गराउनुका साथै आन्दोनका कार्यक्रम समेत घोषणा गरेको छ । नेपाल बिद्यार्थी संघ पोखरा विश्वविद्यालय समन्वय समिति संयोजक एंव केन्द्रीय सदस्य नवराज त्रिपाठीले नेपाल इन्जिनियरिङ कलेजलाई तत्काल नविकरण गर्नुपर्ने, सामुदायीक कलेजलाई नविकरण गर्ने संचालकहरुलाई बर्खास्त गर्नुपर्ने, संचालकहरुले बाँडेको मुनाफा फिर्ता गर्नुपर्ने, बिद्यार्थी संगठनलाई वितरण गर्ने भनि संचालक समितिका सदस्यहरुले हिनामिना गरेको ८ करोड पच्चिस लाख रुपैयाको हिसाब पारदर्शी बनाउनुपर्ने, कलेजलाई पोखरा विश्वविद्यालयको आंगिक क्याम्पस बनाउनुपर्ने, शुल्क पोखरा विश्वविद्यालयको आंगिक क्याम्पस सरह बनाइनुपर्ने लगायतका माग राखी आन्दोलन थालेको जानकारी दिए ।
नेपाल बिद्यार्थी संघले यी माग तत्काल पूरा नभए बैशाख १९ गते पोखरा विश्वबिद्यालयका उपकुलपतिलाई ज्ञापन पत्र बुझाउने, १९ गते नै भक्तपुर जिल्ला प्रशासन कार्यालयमा ज्ञापन पत्र बुझाउने, २० गते नेपाल इन्जिनियरिङ कलेज प्रालि दर्ता गर्ने कम्पनी रजिष्टार कार्यालयका तत्कालिन सहायक रजिष्टार, क्याम्पस संचालकहरुका विरुद्ध अख्तियारका मुद्दा दर्ता गर्ने, २० गते नै शिक्षा मन्त्रालयमा ज्ञापन पत्र बुझाउने, २१ गते गृहमन्त्रीलाई ज्ञापन पत्र बुझाउने आन्दोलनका कार्यक्रम नेविसंघले तय गरेको छ।