फ्रान्सका लागि पूर्वनेपाली राजदूत मोहनकृष्ण श्रेष्ठको अध्यक्षतामा सेन्टर फर डिप्लोमेसी एन्ड डेभलपमेन्ट (सिडिडी) नामक संस्था गठन भएको छ।
संस्थामा पूर्वपरराष्ट्र सचिव तथा संयुक्त राष्ट्रसंघका पूर्वउपमहासचिव ज्ञानचन्द्र आचार्य, पूर्वशिक्षा सचिव शंकरप्रसाद पाण्डे, राजनीतिशास्त्रका प्राध्यापक डा. गंगाबहादुर थापाका साथै अनिता जधारी, अरुण रञ्जित, हेमन्त कोलाक्षपति, खेमराज लकाई, नवराज पाण्डे, डा. प्रमोद जैसवाल, श्रीराम लामिछाने, सुरेन्द्र शाक्य, शान्तिलक्ष्मी शाक्य र मित्रबन्ध पौडेल रहेका छन्।
संस्थाले कुटनीति र विकासमा केन्द्रित भएर ‘द डिम्प्लोम्याट’ नामक द्वैमासिक पत्रिका प्रकाशनसमेत आरम्भ गरेको छ। पहिलो अंकको विमोचन हालै परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले गरेका छन्।
संस्थाले सरकारलाई गैरसरकारी बौद्धिक समूह (थिंक ट्यांक) का रुपमा कुटनीति र विकासका क्षेत्रमा सुझाव दिने जनाएको छ। संस्थाका अध्यक्ष मोहनकृष्ण श्रेष्ठले बौद्धिक व्यक्तित्वहरूबीच अन्तरक्रिया बढाउने, आफ्ना अनुभवहरुमा आधारित भएर सरकारलाई सुझाव दिने संस्थाको उद्देश्य रहेको बताए।
‘हामीसँग अनुभव छ, हामी एक ठाउँमा बसेर आफ्ना अनुभवहरुलाई आपसमा बाँड्न र त्यही अनुसार राष्ट्रलाई अलिकति भए पनि मद्दत पुगोस् भन्ने चाहन्छौँ', श्रेष्ठल भने, 'त्यही उद्देश्यले संस्था स्थापना गरेका हौं।’