सुर्खेत उद्योग वाणिज्य संघले आफूहरुको माग सुनुवाई नगरेको भन्दै असन्तुष्ट समूहले गरेको आन्दोलनमा सहभागी महिलाहरुमाथि प्रहरीले लात्ती प्रहार गरेको छ । शनिबार दिउँसो वीरेन्द्रनगरस्थित स्थानीय पिपलचौतारबाट उद्योग वाणीज्य संघको कार्यालय नजिक कोणसभा गर्ने भन्दै निस्केको जुलुसमाथि प्रहरीले हस्तक्षेप गर्ने क्रममा लात्ती प्रहार गरेका हुन्। ।
प्रहरीको लात्ती र लट्ठीबाट ४२ वर्षीया चन्द्राकुमारी धामी र ३५ वर्षीया बालकुमारी थापा घाइते भएका छन् । उनीहरुको स्थानीय देउती अस्पतालमा उपचार भइरहेको छ ।
घाईते धामीले प्रहरीले शान्तिपूर्ण रुपमा नारा जुलुससहित आइरहेको बेला भ्याली भ्यू होटल नजिकै दाँया पाखुरामा लठ्ठीले र दाँया खुट्टामा लात्तीले हिर्काएको बताईन् । ‘प्रहरीबाट शान्तिपूर्ण आन्दोलनमा सहभागि भएका महिलाहरु माथि अन्यायपूर्ण व्यवहार गरियो ।’ धामीले भनिन –‘दोषी प्रहरीलाई तत्काल कारवाही हुनुपर्छ ।’
अर्का घाईते बालकुमारी थापालाई कञ्चट र खुट्टामा चोट लागेको छ ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रमुख (एसपी) उमाप्रसाद चतुर्वेदीले यस विषयमा आफूलाई खासै जानकारी नभएको बताए । ‘सय, डेढसय जनाको भिँडमा प्रहरीले पंछाउन खोज्दा सामान्य चोटपटक लागेको हुन सक्छ ।’ एसपी चतुर्वेदीले भने –‘प्रहरीले त्यस्तो कुनै मनशाय बनाएर लात्ती नै हानेको मान्न सकिन्न ।’