जगदेखि छानासम्म ढुंगा। एकै खालका छाँटिएका घर। मनै लोभ्याउने दृश्य।
यो बारपाकको चिनारी हो।
२०७२ वैशाख १२ को भुइँचालोपछि बारपाकले यही चिनारी गुमाउँदैछ।
बारपाकमा यतिबेला दुई-चारवटा बाहेक सबैजसो घर सिमेन्ट, बालुवा र इँटाको क्रंकिटले ठडिएका छन्। जति बन्दै छन्, ती पनि कंक्रिटकै बनाउने होड छ। घर निर्माणका लागि गोरखादेखि इँटा, बालुवा, सिमेन्ट ओसार्न भ्याइनभ्याइ देखिन्छ।
धनबहादुर गुरुङले पनि भुइँचालोपछि पुरानो ढुंगाको भग्नावशेष सफा गरेर पक्की घर बनाइसके। टिनको छानो लगाएका छन्। ‘बलियो घर बन्यो, अब भुइँचालोले मार्दैन,’ उनले भने।
बारपाकमा भुइँचालोले ७२ जनाको ज्यान लियो। एक सय ५३ जना घाइते भए। ढुंगाको कच्ची घरले थिचिएर धेरैको ज्यान गएको उनीहरुको बुझाइ छ। त्यही भएर कोही पनि पहिलेजस्तो ढुंगाको घर बनाउन चाहँदैनन्।
बसपार्कमै होटल चलाइरहेका सुकराम गुरुङले पुरानो ठाउँमा घर त बनाए, तर चाडबाड बेला मात्र पुग्छन्। गाउँकै अरु ठाउँमा नयाँ पक्की घर उभ्याउने उनको धोको छ। ‘पहिलाको घर भएको ठाउँमा जाँदै जान्नँ। चाडबाड बेला गइहाले पनि हतार हतार फर्किन्छु,’ उनले भने, ‘अब एउटा पक्की घर बनाउने रहर छ। पहिलाको जस्तो घर सम्झन पनि मन छैन।’
रमिला गुरुङ यसै भन्छिन्।
‘सबैको घर अहिलेजस्तै पक्की हुन्थ्यो भने हामीले ७२ जना बारपाकी गुमाउनुपर्ने थिएन,’ उनले भनिन्, ‘भुइँचालोअघि नै पक्की घर बनाएकालाई सजिलो भयो। उनीहरुको घर २० को १९ भएन। त्यही भएर मैले पनि पक्की नै बनाएँ।’
[caption id="attachment_154612" align="alignnone" width="960"]
बारपाकमा कंक्रिट घर। तस्बिर: शान्ति तामाङ/सेतोपाटी[/caption]
पक्की घर बनाउने होडले बारपाकको मौलिकता गुमेन?
हाम्रो यो प्रश्नमा रमिला भन्छिन्, 'घरको मौलिकतासँग मानिसको ज्यान तुलना गर्न मिल्दैन।'
उनले भुइँचालोले भत्किएको घरको जगमै अर्को बनाएकी छिन्, सिमेन्ट, बालुवा प्रयोग गरेर। छानो टिनले छाएकी छन्।
भुइँचालोपछि बारपाकमा पक्की घरको अवधारणा कति बलियो भएको छ भने, मनबहादुर गुरुङ ऋण काढेर भए पनि त्यस्तै बनाउने सोचाइमा छन्। ‘पहिलाको जस्तो घर कुनै हालतमा बनाउँदिनँ। सबैले जस्तो बलियो घर बनाइरहेका छन्, त्यस्तै बनाउने हो,’ उनले भने।
भुइँचाले गएको तीन वर्ष पूरा हुँदा बारपाकमा ७० प्रतिशत घर बने। प्राय: सबै कंक्रिटका छन्। पुरानै शैली नमासेर पनि पक्की बनाउन सकिन्छ भन्नेमा कसैलाई ध्यान छैन। न भूकम्पप्रतिरोधी घर बनाउन सिकाउने विज्ञ तथा संघ-संस्थाले ध्यान पुर्याए, न त स्थानीय नै जागरुक देखिए। बारपाककै मौलिकता गुम्ने यो होडमा सरकारको पनि ध्यान पुगेको छैन।
यो पनि हेर्नुहोस्:
लघु जलविद्युत उद्यमी वीरबहादुर घले सरकारकै बेवास्ताका कारण बारपाकको मौलिकता हराएको बताउँछन्।
२०७२ पुस २ गते प्रधानमन्त्री केपी ओलीले बारपाकलाई गुरुयोजना बनाएर व्यवस्थित पुनर्निर्माण गर्ने बताएका थिए। त्यो भाषणमा मात्र सीमित भएको छ।
‘भुइँचालोपछि जति पनि प्रधानमन्त्री भए, सबैलाई बारपाक ल्यायौं। सबैले आश्वासन दिए। प्रधानमन्त्री ओलीले त बारपाकलाई गुरुयोजना बनाएर पुर्निर्माण गर्ने घोषणा गर्नुभयो। बारपाकीले विश्वास पनि गरे तर केही भएन,’ घलेले भने, ‘दुई वर्षसम्म टहरामै बसेर सरकारको योजना पर्खिरहे। प्रधानमन्त्री फर्केर आएनन्।’
‘सरकार फेरिएसँगै बारपाक पुनर्निर्माण योजना अलपत्र पर्यो। हामीले आफ्नो तर्फबाट पहल गरेका हौं। हात लाग्यो शून्य,’ उनले भने।
घलेले यसो भनिरहँदा मौलिकता कायम राख्नेतर्फ स्थानीय सरकार पनि उदासिन देखिन्छ। स्थानीय सरकारका जनप्रतिनिधि पहिलेको भन्दा अहिलेको बारपाक झनै सुन्दर भएको बताउँछन्।
[caption id="attachment_154611" align="alignnone" width="960"]
बारपाक। तस्बिर: शान्ति तामाङ/सेतोपाटी[/caption]
‘बस्तीको आउटलुक नभएकोमा हामीलाई चिन्ता लागेको छ,’ सुलिकोट गाउँपालिका प्रमुख विष्णु भट्टले भने, ‘अहिले बनेको बारपाक पनि कम सुन्दर छैन। नेपालका ठूला सहरमा बनेका भन्दा राम्रा घर छन्। त्यसलाई पनि सुन्दरताका रुपमा लिन सकिन्छ।’
उनका अनुसार हिजो र आजको आवश्यकता फरक भएकाले पुराना घरको मोडल समयअनुरुप छैन। 'यति भिरालो ठाउँमा यस्तो घर बन्नु ठूलो कुरा हो। हाम्रो काम अब बस्तीलाई थप व्यवस्थित गर्न पहल गर्ने हो,’ उनले भने।
घले भने जग्गा अधिग्रहण गरी व्यवस्थित बनाउन स्थानीय स्तरबाट सम्भव नभएपछि गाउँमा विभिन्न खालका समस्या देखिन थालेको बताउँछन्।
‘बारपाकलाई हिल टाउन बनाउने राम्रो अवसर थियो। केहीको विमति रहे पनि राज्यस्तरबाटै हस्तक्षेप गर्नु जरुरी थियो। तीन वर्ष बित्दा पनि राज्यबाट पहल भएन,’ उनले भने।
यसमा स्थानीय सरकारले केही प्रयास गर्न सक्थ्यो। त्यसमा ध्यान नपुगेको उनी गुनासो गर्छन्। ‘सरकारले अधिग्रहण गरेर जग्गा विकास गरिदिएको भए सबै कुरा व्यवस्थित गर्न सकिन्थ्यो। राज्यले गर्न चाहेको भए यो सम्भव थियो, तर गरेन,’ उनले भने।
राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको तथ्यांकअनुसार बारपाकका १३ सय लाभग्राहीमध्ये करिब ६ सय जनाले घर निर्माण गरिसकेका छन्। नौ सय ५२ लाभग्राहीले दोस्रो किस्ताको अनुदान लिइसकेका छन् भने अन्यले घर निर्माण सुरु गरेका छैनन्।