बर्षा र सहकालका देवता मानिने रातो मच्छिन्द्रनाथको रथ तान्नका लागि बैशाख २७ गतेको शुभसाईत निकालिएको छ। यो सँगै ३० गते आइतबार भोटो देखाइने भएको छ।
ललितपुरको पुल्चोकबाट तानिएको मच्छिन्द्रनाथको रथलाई अहिले लगनखेल राखिएको छ। लगनखेलबाट जावलाखेल रथ तान्नका लागि विशेष विधिपुर्वक शुभसाईत हेर्ने चलन अनुसार जोशी गुरुहरुले विहिबार विहान शुभसाईत हेरेका हुन्।
परम्परा अनुसार मंगलबजारको मणिमाण्डपमा विशेष विधिपूर्वक ज्योतिषीहरु बसेर रथलाई जावलाखेलतर्फ तान्ने शुभसाइत हेरिन्छ। शुभसाईत जुरेपछि रथलाई तानेर जावलाखेल पुर्याइन्छ र त्यहा पुर्याएको चार दिन पछि भोटो देखाउने गरिन्छ। वैशाख महिनाको शुक्ल पक्ष प्रतिपदादेखि सुरु भएर असार शुक्ल चौथीसम्म झण्डै २ महिनासम्म मनाईने यो रथजात्रा यसपटक जेठमा मलमास परेकाले छोटो अवधि भित्रै सम्पन्न गर्ने गरि शुभसाईत हेरिएको ज्योतिष कृतिकिरण जोशीले जानकारी दिए।
पुलचोकबाट सुरु भएको रथजात्राको पहिलो दिन रथलाई नःटोल पुर्याइन्छ। त्यसपछि महापाल, मंगलबजार, सुन्धारा, महाबौद्ध, थैना, टंगल हुँदै थतीटोल पुर्याईन्छ। अनि लगनखेलबाट शुभसाईत हेरेर जावलाखेल ल्याउने गरिन्छ। जावलाखेलमा ल्याएको चार दिनपछि भोटो देखाउने गरिन्छ।
भोटो जात्रा हेर्न राष्ट्राध्यक्ष, सरकार प्रमुख, संवैधानिक निकायका प्रमुख एवम् पदाधिकारीलगायत मन्त्री, सांसद र सरकारी अधिकारी पनि जावलाखेलमा उपस्थित हुने परम्परा छ ।
विसं ६६२ मा नागराज कर्कोटकले दिएको भोटोको स्वामित्वका विषयमा दुई व्यक्तिका बीचमा विवाद भई रातो मत्स्येन्द्रनाथलाई जिम्मा लगाइएको थियो । त्यही बेलादेखि भोटो दसी प्रमाणसहित लिनका लागि भोटो देखाउने परम्परा बसेको विश्वास छ। त्यसयता गणतन्त्र नेपालमा पनि पूर्वराजाको बिँडो थाम्दै राष्ट्रप्रमुखले भोटो जात्रा हेर्ने परम्परा नै बसालिएको छ। भोटो जात्राको दिन काठमाडौं उपत्यकामा सार्वजनिक विदासमेत दिने गरिएको छ ।
राजा गुणकामदेवका पालामा १२ वर्षसम्म अनिकाल भएपछि कामरुप कामाक्षबाट मत्स्येन्द्रनाथलाई नेपाल ल्याइएको किंवदन्ती छ । एक हजार ४०० वर्ष अघि मत्स्येन्द्रनाथलाई ल्याइएपछि वर्षा भई सहकाल सुरु भएको विश्वासमा यो जात्रा मनाउने गरिएको छ ।
https://www.youtube.com/watch?v=6xlrJRNwQ1E&feature=youtu.be