जब कोही बौद्धिक मान्छेको निधन हुन्छ, तब संसारले मुख्य रूपमा दुइटा कुरा गुमाउँछ।
पहिलो, उनीहरूको जीवन।
दोस्रो, उनीहरूले गरेका काम।
महान् वैज्ञानिक स्टेभन हकिङको मृत्युमा पनि यी दुवै अनुभूति भए। हकिङले जाँदाजाँदै छाडेर गएको ‘उपहार’ ले भने केही हदसम्म यी दुःखमा मल्हम लगाएको छ।
उनले छाडेको उपहार हो, उनको अन्तिम शोधपत्र। उनको मृत्यु हुनु १० दिनअघि मात्र यो शोधपत्र पेस गरिएको थियो। बुधबार सार्वजनिक यो शोधपत्रले ब्रम्हाण्डबारे थप बुझ्न मद्दत गर्ने बताइएको छ।
‘जर्नल अफ हाइ इनर्जी फिजिक्स’ मा प्रकाशित उनको शोधपत्रले अन्तरिक्षमा हाम्रोजस्तै अरू ब्रम्हाण्ड हुन सक्ने देखाएको छ, जहाँ पृथ्वीजस्तै ग्रहहरू हुने छन्। जहाँ पृथ्वीबाट लोप भइसकेका डायनासोर र प्राचीन मानव विचरण गरिरहेका हुन सक्छन्।
उनले यो पनि भनेका छन्– ‘हाम्रो ब्रम्हाण्डबाहिर अर्को यस्तो खगोलीय पिण्ड पनि हुन सक्छ, जो हाम्रो ग्रहभन्दा एकदमै फरक छ। जहाँ सूर्य, तारा वा आकाशगंगा नहोला, तर पृथ्वीको जस्तै भौतिक नियम हुन सक्छ।’
१९८० दशकमा हकिङ र अमेरिकी भौतिकशास्त्री जेम्स हर्टलले ब्रम्हाण्ड उत्पत्तिबारे नयाँ विचार राखेका थिए। त्यसले १४ अर्ब वर्षअघि ब्रम्हाण्ड उत्पत्ति भएको थियो भन्ने अल्बर्ट आइन्सटाइनको सिद्धान्त व्याख्या गरेको थियो। आइन्सटाइनले आफ्नो सिद्धान्तमा ब्रम्हाण्ड कसरी उत्पत्ति भयो भन्ने उल्लेख गरेका थिएनन्।
हकिङ र हर्टलले ‘क्वान्टम मेकानिक्स थ्योरी’ पनि व्याख्या गरेका थिए। यसले ब्रम्हाण्ड शून्यबाट निर्माण भएको हो भन्ने बताएको थियो।
यसबाट उनीहरूले ब्रम्हाण्ड बनेको तरिका वर्णन गरे। तर, प्रश्न उठ्यो, यसैगरी अरू ब्रम्हाण्ड पनि त बनेका हुन सक्छन्?
भौतिकशास्त्रीहरूले यो विचार समीक्षा गरिसकेपछि नतिजा निकालेका थिए– ‘बिग ब्याङबाट एउटा मात्र होइन, अरू धेरै ब्रम्हाण्ड बन्ने क्रम सुरु भएको थियो।’
हकिङ र हर्टलको सिद्धान्तअनुसार यसरी बनेका ब्रम्हाण्डमा पृथ्वीजस्तै ग्रह हुन सक्छन्। हाम्रैजस्ता प्राणी र समाज हुन सक्छ। कुनै ब्रम्हाण्डमा भने सूर्य, ग्रह, तारा केही नभए पनि भौतिक नियम हाम्रोजस्तै हुन सक्छ।
हकिङले यो शोध बेल्जियमको केयू ल्यूवेनमा संलग्न प्राध्यापक थोमल हर्टोगसँग मिलेर गरेका थिए।
‘हाम्रोजस्तै धेरै ब्रम्हाण्ड एकैचोटि पैदा भए भन्नेमा हामी सहमत थियौं, तर तिनका बारेमा केही थाहा थिएन,’ प्राध्यापक हर्टोगले भनेका छन्, ‘हामीले एकअर्कालाई भन्यौं– बरू हामी यसैमा अड्केर जीवन बिताइदिऊँ, तर हार नमानौं।’
हकिङको यो अन्तिम शोधपत्र हर्टोगसँग बीस वर्षको सहकार्यको नतिजा हो।
यो शोधले जहाँ हाम्रोजस्तै भौतिक नियम छ, त्यहाँ मात्र ब्रम्हाण्ड हुन सक्ने आकलन गरेको छ। अर्थात् हाम्रो ब्रम्हाण्ड एक नमूना हो।
भौतिकशास्त्रीहरूले जब ब्रम्हाण्ड निर्माणबारे एक पूर्ण सिद्धान्त विकास गर्छन्, तब हकिङको अहिलेको सिद्धान्तले धेरै मद्दत गर्ने प्राध्यापक हर्टोग बताउँछन्।
उनी भन्छन्, ‘हामी प्रयोगशालामा जुन भौतिक नियमहरूको परीक्षण गर्छौं, त्यो सधैं थिएन। तिनीहरू बिग ब्याङपछि ब्रम्हाण्ड विस्तार भएर सेलाउने क्रममा टुक्रिइसके। अहिलेसम्म विकसित भएका धेरैजसो भौतिक नियम त्यही बेलाको भौतिक अवस्थामा आधारित छन्। यिनको अध्ययन गरेर हामी हाम्रा भौतिक नियम कहाँबाट, कसरी सुरु भए भन्ने पत्ता लगाउन चाहन्छौं। यी आफैंमा अनौठा छन्।’
हकिङको यो अन्तिम शोधले अरू ब्रम्हाण्ड पत्ता लगाउन मद्दत गर्ने हर्टोग बताउँछन्।
बिग ब्याङको ‘माइक्रोवेब रेडिएसन’ अध्ययन गरी यी ब्रम्हाण्ड पत्ता लगाउन सकिने उनको भनाइ छ। एक ब्रम्हाण्डबाट अर्को ब्रम्हाण्डमा जान सकिन्छ भन्ने उनलाई लाग्दैन।