सिन्डिकेट खारेज गर्ने सरकारी निर्णयको विरोधमा यातायात व्यवसायीले आज देशभरि सार्वजनिक यातायात बन्द गरेका छन्।
केही नयाँ कम्पनीले गाडी चलाए पनि धेरै गाडी चलेका छैनन्। काठमाडौं उपत्यकासहित देशभरि सवारी नचलेपछि यात्रुहरू मर्कामा परेका छन्।
विभिन्न जिल्लाका प्रमुख जिल्ला अधिकारीले गाडी नचलाउने यातायात व्यवसायीलाई के गर्ने भन्ने निर्देशन कुरिरहेको बताएका छन्।
यसअघि गृह मन्त्रालयले गाडी नचलाए त्यही दिन इजाजत खारेज गर्ने र बस जफत् गरेर नेपाली सेना, सशस्त्र र नेपाल प्रहरीका ड्राइभरलाई गाडी चलाउन लगाउने बताएको थियो। सशस्त्र र प्रहरीसँगै झन्डै २१ सय ड्राइभर छन्।
शुक्रबार यातायात व्यवसायीले देशभरि गाडी नचलाए पनि सरकारले कुनै कडा कदम भने चालेको छैन।
प्रमुख जिल्ला अधिकारीहरूले गाडी नचलाउनेलाई के कारबाही गर्ने भन्ने गृहको निर्देशन कुरिरहेको बताएका छन्।
काठमाडौंका सिडिओ केदारनाथ शर्माले ग्यारेजमा राखेका गाडी सडकमा ल्याउन अहिलेसम्म कुनै निर्देशन नआएको बताए।
‘एक दिनको सांकेतिक विरोधमा ग्यारेजमै गएर गाडी ल्याउने कि नल्याउने केही निर्देशन आएको छैन,’ शर्माले भने, ‘आज गाडी नचलाउनेको तथ्यांक प्रहरीले संकलन गरिरहेको छ। रूट खारेज गर्ने भए त्यो डाटा हामी यातायात व्यवस्था विभागलाई दिन्छौं।’
मोरङका सिडिओ रामप्रसाद आचार्यले गाडी नियन्त्रणमा लिएर सेना र प्रहरीका ड्राइभरमार्फत् चलाउने तयारीमा आफूहरू रहेको बताए।
‘हाम्रो त्यो पनि तयारी छ तर माथिबाट केही निर्देशन आइसकेको छैन,’ उनले भने।
कैलालीका सिडिओ ऋषीराम तिवारीले पनि प्रारम्भिक छलफल भइरहेको बताए।
‘आजै गाडी जफत गरेर चलाउनेबारे केही निर्देशन आएको छैन, निर्देशन आउनेबित्तिकै त्यही अनुसार गर्छौं,’ तिवारीले भने।
गृहसचिव प्रेमकुमार राईले गाडी जफत गर्नुअघि यातायात व्यवस्था विभागले इजाजत खारेज गर्नुपर्ने बताए।
‘उहाँहरूले पर्मिट खारेज गरेपछि के गर्ने हामीले गर्नुपर्ने काम गर्छौं,’ राईले भने, 'यसबारे यातायात मन्त्रालयसँग दिउँसो छलफल हुन्छ।'
गृहमन्त्री रामबहादुर थापानिकट स्रोतका अनुसार यो हड्ताल एक दिनको मात्र भएकाले कडा कदम चालिने छैन।
२७ गतेदेखि अनिश्चितकालीन हड्ताल गरेपछि भने कडा रूपमा उत्रिने मन्त्रालयलको तयारी छ।