ईलाका प्रहरी कार्यालय तुलसीपुरले बस सेवा बन्द गरेका केही समितिका पदाधिकारीलाई प्रहरी पक्राउ गर्ने भए पनि उनीहरू आफैं प्रहरी कार्यालय गएका छन्।
ईप्रका प्रमुख प्रकाश सापकोटाका अनुसार केही व्यवसायीहरु अहिले आफैं प्रहरीका कार्यालयमा उपस्थित भएका छन्।
‘अन्यलाई पनि फोन गरिरहेका छौं र ईप्रका आउन भनेका छौं,’ सापकोटाले सेतोपाटीसँग भने, ‘गृहको निर्देशन अनुरुप हामीले बस नचलाउने समितिका पदाधिकारीलाई ईप्रका बोलाएका हौ।’
यसैबीच जिल्ला प्रहरी प्रमुख एसपी दुर्गा सिंहले यातायात सेवा ठप्प पार्ने समितिका पदाधिकारीलाई छलफलका लागि जिप्रका आउन भनिएको जानकारी दिइन्।
‘पक्राउ गर्नका लागि होइन। हामी उहाँहरूसँग छलफल गरि यातायात चलाउनका लागि आग्रह गर्नेछौं,’ एसपी सिंहले भनिन्,‘ यात्रुले दुःख पाउनु हुन्न भन्ने नै हाम्रो मुख्य उद्धेश्य हो।’
त्यस्तै दाङका प्रमुख जिल्ला अधिकारी गजेन्द्रबहादुर श्रेष्ठले पनि मध्यान्हः १२ बजेसम्म आफूहरुले बाटो हरेको तर त्यतिबेला सम्म पनि सरकारको निर्देशन उलंघन गर्दै गाडी नचलाउने समितिका पदाधिकारीलाई पक्राउ गर्नुको विकल्प नभएको बताए।
उनले समितिका पदाधिकारीले मोवाईल अफ गरेर सम्पर्कबिहिन भएको जानकारी दिए। ‘जहाँ पुग्दैन रवि त्यहाँ पत्रकार पुग्छन् रे, तपाँईहरुले नै सूचना दिएर समितिका पदाधिकारीलाई लुकाउनु भए जस्तो छ,’ उनले सेतोपाटीसँग ठट्टा गर्दै भने, ‘सरकारको नियम विपरित चल्न खोज्ने जो कोहीलाई पनि कारबाही हुन्छ।’