बिप्लव नेतृत्वको नेकपाद्धारा आब्हान गरिएको नेपाल बन्दको प्रभाव बुटवलमा बिहानैदेखि परेको छ।
शुक्रबार यातायात व्यवसायीको आन्दोलनका कारण सडकमा अलपत्र यात्रुलाई आजको बन्दले झनै सास्ती दिएको छ।
आफ्ना नेता तथा कार्यकर्तालाई सरकारले गिरफ्तार तथा धरपकड गरेको बिरोधमा नेकपाले बन्द आब्हान गरेको जनाएको छ। बन्दका कारण छोटो तथा लामो दुरीका कुनै पनि सवारी साधन चलेका छैनन्।
मुख्य बजार नखुले पनि भित्री सडकका पसल र केही निजी साधनहरु भने फाट्टफुट्ट गुडेका छन्। बन्दका आयोजक सडकमा नदेखिए पनि बिहानैदेखि चोक चोकमा प्रहरी परिचालन गरिएको छ ।
शुक्रबार बिहानैदेखि गाडी घरमै राखेर आन्दोलनमा उत्रिएका यातायात व्यवसायीले मध्यरातमा विज्ञप्ती निकालेर आन्दोलन फिर्ता गरेको भए पनि शनिबार बिहानैदेखि सडकमा सवारी साधन देखिएका छैनन्।
दुई दिनदेखिको बन्दका कारण सर्वसाधारण यात्रुहरू बिचमै अलपत्र परेका छन्। आज शनिबार परेको कारण सरकारी कार्यालय, शैक्षिक संस्था लगायतमा विदा भए पनि व्यापार व्यवसाय, उद्योग कलकारखाना, यातायात लगायतको क्षेत्रमा भने बन्दको प्रभाव परेको छ।
बस लगायतका ठूला सवारी साधन सञ्चालन नभएपनि अटो रिक्सा र फाट्टफुट्ट साना सवारी र मोटरसाईकल चलेका छन्। बन्द आव्हानकर्ताले विभिन्न स्थानमा शंकास्पद वस्तु राखी सर्वसाधारणलाई त्रसित बनाएका छन्।
शुक्रवार राति बुटवलको गोलपार्कमा राखिएका दुई वटा शंकास्पद वस्तुलाई प्रहरीले डिस्पोज गरेको छ। रातो कपडामा बेरेर राखिएका वस्तुहरु सुरक्षाकर्मीले रातभर निगरानी गरी राखेका थिए। उक्त बस्तु बम नभई सर्वसाधारणलाई त्रसित बनाउने उद्देश्यका साथ राखिएको प्रहरीले जनाएको छ। बन्दका कारण अहिलेसम्म कुनै पनि अप्रिय घटना नघटेको प्रहरीले जनाएको छ।