काठमाडौंका विभिन्न पसलबाट पुरातात्विक महत्वका विभिन्न धातुबाट बनेका मूर्तिलगायत चिज बस्तुहरू बिदेशीलाई बिक्री वितरण गरेको आरोपमा प्रहरीले तीन जना व्यवसायीलाई पक्राउ गरेको छ।
दरबारमार्गस्थित क्यूरियो आर्टमा पुरातात्विक महत्वका बहुमूल्य धातुको मूर्तिलगायत चिज बस्तुहरूलाई १२औं, १३औं शताब्दी (८००/९०० वर्ष पुरानो) को हो भन्दै करोडौं मूल्यमा बिक्री गर्न लाग्दा उक्त आर्ट पसलका सञ्चालक दीपक रत्न शाक्य १२ वटा मूर्तिसहित पक्राउ परेका छन्।
यस्तै क्यूरियो कन्सर्नका सञ्चालक सुगतरत्न शाक्य, देवाज आर्टका सञ्चालक शीशिर शाक्यलाई पनि पुराना मूर्ति बिक्री वितरण गरेको आरोपमा पक्राउ परेका छन्।
पक्राउ परेकालाई काठमाडौं जिल्ला अदालतबाट प्राचिन स्मारक संरक्षण ऐन, २०१३ अनुसार कारबाही गर्ने प्रहरीले जनाएको छ।
प्रहरीले उनीहरूको साथबाट विभिन्न बुद्ध र अन्य मूर्ति २४, धातुबाट बनेका प्रतिमालगायतका पाताहरू १८, पुराना बिचमा प्वाल भएका सिक्का १०१ थान बरामद गरेको छ।
उनीहरूले ७० वर्षअघिदेखि यस्ता प्रकारका मूर्तिहरू बिक्री वितरण गर्दै आएका प्रहरी अनुसन्धनबाट खुलेको छ।
मूर्तिजन्य बस्तुहरू नयाँलाई पुरानो जस्तो बनाउने र पुरानालाई नयाँ लुक्समा बनाएर बिक्री गर्ने गरेको प्रहरीले जनाएको छ।
उनीहरूले विदेशमा मूर्तिजन्य चिजहरू कार्गोमार्फत पठाउने गरेको र अमेरिकाको रूविनास संग्रहालयमा मूर्तिहरू बिक्री गर्ने गरेको थाहा भएको छ।
यसैबीच प्रहरीले मूर्ति खरिद गर्ने विदेशी गिरोहमाथि पनि अनुसन्धान थालेको छ।