सिन्डिकेट नमान्ने कागज गरेपछ पक्राउ परेका यातायात व्यवसायी हिरासतमुक्त भएका छन्।
जिल्ला प्रशासन कार्यालय काठमाडौंमा ‘सिन्डिकेट मान्दिनँ, कम्पनी दर्ता गर्छु, सवारी साधन चलाउँछु र सरकारलाई सहयोग गर्छु’ भन्ने व्यहोराको कागजमा सही गरेपछि राष्ट्रिय यातायात व्यवसायी महासंघका अध्यक्ष योगेन्द्र कर्मचार्यसहित पदाधिकारी रिहा भएका हुन्।
देशका अन्य ठाउँमा पक्राउ परेका व्यवसायी पनि सोही व्यहोराको कागज गरेर रिहा भएको प्रहरीले जनाएको छ।
काठमाडौंका प्रमुख जिल्ला अधिकारी केदारनाथ शर्मा र काठमाडौं प्रहरी प्रमुख एसएसपी विश्वराज पोखरेलको रोहबरमा व्यवसायीले सरकारी निर्णयअनुसार व्यवसाय गर्ने प्रतिवद्धता व्यक्त गरेका छन्। त्यसविरूद्ध गए रूट पर्मिट खारेज गरेर अरू कार्बाही गर्न पनि उनीहरूले मन्जुरी दिएका छन्।
सिन्डिकेट खारेज गर्ने सरकारी निर्णयको विरोध गर्दै व्यवसायीले शुक्रबार देशभरि सार्वजनिक बस चलाएका थिएनन्।
बस नचलाउने ९३ व्यवसायीलाई शुक्रबार र शनिबार प्रहरीले पक्राउ गरेको थियो।
यसअघि आजै गृहमन्त्री रामबहादुर थापाले कागज गर्न नमाने व्यवसायीविरूद्ध मुद्दा चलाउन निर्देशन दिएका थिए।