काठमाडौंको कालिमाटीमा रहेको एक इन्टरप्राइजेजको काउन्टरबाट ३ लाख रुपैयाँ लुट्ने लुटेरा पक्राउ परेका छन्।
पक्राउ पर्नेमा रौतहटका कैलाश ठकुरी रहेको प्रहरीले जनाएको छ। सिसि क्यामरामा देखिएको हुलियाको आधारमा ठकुरीलाई पक्राउ गरेको महानगरीय प्रहरी वृत्त कालीमाटीले जनाएको छ।
प्रहरीका अनुसार वैशाख ९ गते बिहान कालिमाटी चोकमा रहेको क्रिस्टल इन्टरप्राइजेजमा रहेका दुई युवतीलाई पानीको बोतल देखाएर एसिड भन्दै ३ ठकुरीले लाख रुपैयाँ लुटेर फरार भएका थिए।
कम्पनीको काउन्टरमा रहेका कर्मचारी रूबिना कोइराला र अप्सरा थापालाई युवकले पैसा नदिए एसिड हान्ने धम्की दिएका थिए।
यसैबीच प्रहरीले नक्कली पेस्तोल देखाई पैसा असुली गर्ने एक जना टोले गुन्डालाई पक्राउ गरेको छ।
महानगरी प्रहरी वृत्त महाराजगञ्जको टोलीले काठमाडौं तारकेश्वर नगरपालिका बस्ने ३२ वर्षीय सुदीप गुरूङलाई पक्राउ गरेको महानगरीय प्रहरी परिसर काठमाडौंका डिएसपी मोहनकुमार थापाले जानकारी दिए।
गुरूङले नक्कली पेस्तोल देखाई नयाँ बसपार्क, सामाखुसी, बसुन्धारा क्षेत्रका सर्वसाधारण, व्यापारी तथा होटल व्यबसायीहरुबाट पैसा असुल्ने गरेका थिए।
गुरूङको साथबाट प्रहरीले एक थान नक्कली पेस्तोलसमेत बरामद गरेको छ।