प्युठानको प्याकुरीमा एउटा रात्री बस दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ। महेन्द्रनगरबाट प्युठान आउँदै गरेको महाकाली यातायातको ना ४ ख १८७६ नम्बरको बस शनिबार राति दुर्घटनामा परेको प्रहरीले जनाएको छ।
दुर्घटनामा ४ जनाको घटनास्थलमै मृत्यु भएको हो । अन्य एक जनाको उपचारका क्रममा ल्याउदै गर्दा मृत्यु भएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय प्युठानका अनुसार दुर्घटनामा परी २५ जना घाइते भएका छन्। जसमध्ये १० जनाको अवस्था गम्भीर छ।
स्थानीयबासी, नेपाल प्रहरी, सशत्त्र प्रहरी वलको टोली पुगेर अहिले उद्धार गरिरहेका छन् ।
घाईते लाई जिल्ला अस्पताल बिजुवार ल्याउने तयारी भइरहेको प्यूठानको प्रहरी प्रमुख डिएपी राजेन्द्र पोख्रेलले बताए। बस सडकबाट झण्डै दुई सय मिटर तल खसेको छ। केहि घाईतेलाई उपचारको लागि बुटवल लग्ने तयारी भएको उनले जानकारी दिए।
सरासर गुडिरहेको बसमा एक्कासी बत्ती निभेपछि बसले नियन्त्रण गुमाएको प्रहरीको प्रारम्भीक अनुसन्धानले देखाएको छ। भारतमा नोकरी गरि महेन्द्रनगरको बाटोहुँदै घर फर्कने प्यूठानी दुर्घटनामा परेका छन्। घटनाबारे अनुसन्धान भइरहेको छ।