धरहरा पुनर्निर्माणका लागि टेण्डर आह्वान गरिएको छ।
सोमबार पुनर्निर्माणका लागि टेण्डर आह्वान गरिएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले जनाएको छ।
‘धरहरा पुनर्निर्माणका लागि हामीले सोमबार टेण्डर आह्वान गरेका छौं। एक महिनासम्म इच्छुक कम्पनीले आवेदन दिन सक्छन्। बाँकी दुइ हप्ता मूल्याङ्कनका लागि समय छुट्याएका छौं,’ प्राधिरकणका सम्पदा महाशाखा प्रमुख राजुमान मानन्धरले भने, ‘आगामी असार महिनामा पुनर्निर्माणका लागि शिलान्यास हुन्छ।’
२२ तले धरहरा आधुनिक शैली तर पुरानै स्वरूपमा निर्माण हुने प्रमुख मानन्धरले बताए।
दुई वर्षभित्र पुनर्निर्माण हुने धरहरा प्राधिकरणले तयार गरेको डिजाइन अनुसार नै निर्माण हुनेछ।
नेपाल टेलिकमले हात झिकेपछि प्राधिकरणले धरहरा पुनर्निर्माण आफैं बनाउने घोषणा गरेसँगै प्रकृया सुरू गरेको हो।
२०७३ असार २९ गते बसेको मन्त्रिपरिषद्को बैठकले प्राधिकरण र पुरातत्व विभागसँगको समन्वयमा धरहरा निर्माण गर्ने जिम्मा नेपाल टेलिकमलाई दिएको थियो। तर टेलिकमले धरहरालाई व्यावसायिक रूपमा सञ्चालन गर्ने प्रस्ताव गरेपछि पुरातत्व विभागले प्रस्ताव अस्वीकार गर्यो।
अहिलेको ठुटे धरहराभन्दा करिब १० मिटर परको दूरीमा बन्ने धरहराको डिपीआरअनुसार कूल लागत करिब ४ अर्ब २७ करोड रुपैयाँ हुनेछ। भूकम्पले भत्काएको धरहरालाई सिसाले छोपेर राखिनेछ। प्राधिकरणका अनुसार धरहरा र परिसरको कूल क्षेत्रफल २४ रोपनी हुनेछ। नयाँ धरहरा ६९.२ मिटर अग्लो अर्थात् २२ तलाको हुनेछ।
२०७२ वैशाख १२ को भूइँचालोकोका कारण धरहरा पूर्णरूपमा क्षति भएको थियो।