बुलगेरीयाका विश्वप्रख्यात आरोही ब्रोउन पोर्टल सिसापहाड हिमाल आरोहणको क्रममा हराएका छन्।
मकालु एड्भेन्चर कम्पनी मार्फत गएका ब्राउनको खोजी जारी रहेको मकालु एडभेन्चरका प्रबन्ध निर्देशक मोहन लम्सालले जानकारी दिए। लम्सालका अनुसार ब्रोउन आरोहणका लागि अप्रिल २९ मा प्रस्थान गरेका थिए।
यसअघि ८ हजारभन्दा माथिका १० वटा अग्ला हिमाल शेर्पा बिनानै बिना अक्सिजन आरोहण गरिसकेका थिए। ११ औं आरोहणका क्रममा उनी सम्पर्क बिहीन भएका हुन्।
सम्पर्क बिहिन भएपछि ब्रोउनलाई हेलिकप्टर मार्फत खोज्न पहिलो पटक चीन सरकारसँग मकालु एडभान्चरको अगुवाईमा समन्वय गरिएको थियो।
चीन सरकारको स्वीकृत पाए लगतै सिसापहाड हिमाल तर्फ सिम्रीक एयरको हेलिले खोजी गरेको थियो। तर तीन दिनसम्म खोजी गर्दा पनि उनको बारेमा केही पत्ता लगाउन नसकिएको निर्देशक लम्सालले बताए।
‘हेलीकप्टरसहित सिसापहाड हिमालको उचाईभन्दा १० मिटर तलसम्म शेर्पाले खोजी गरे। तर, कही कतै भेटाउन सकिएको छैन। ७ हजार ५ सय मिटरको उचाईसम्म उनी पुगेको जानकारी छ। तर, त्यसपछि कुनै जानकारी छैन,’ लम्सालले भने।