समयमै काम सम्पन्न नगर्ने कास्कीका एक टेकेदार पक्राउ परेका छन्।
पृथ्वी राजमार्गअन्तर्गत गगनगौडादेखि कास्कीको लेखनाथसम्म १४ सय मिटर सडक २०७४ असारमा र्ममत सम्भार सम्पन्न गर्ने सम्झौता भए पनि काम अझै नसकिएकोले ठेकेदार सुरेन्द्र बस्नेत पक्राउ परेका हुन्।
कास्की प्रहरी प्रमुख ओम रानाका अनुसार सिरूवा कन्ट्रक्सनले कास्कीको गगनगौडादेखि लेखनाथसम्मको खडक स्तरोन्नती गर्ने जिम्मा पाएको थियो।
सम्झौता अनुसार गएको असारमा सम्पन्न गर्नुपर्ने काम अझै पुरा नभएकोले उनलाई पक्राउ गरिएको कास्की प्रहरी प्रमुख एसपी ओम रानाले सेतोपाटीलाई बताए।
‘१५ महिना भित्र काम सक्ने गरी ठेकेदार बस्नेतले २ करोड ४४ लाखमा ठेक्का पाएका थिए। काम अझै पुरा नदेखिएपछि ढिलासुस्तीबारे बुझ्न पक्राउ गरिएको हो,’ एसपी रानाले सेतोपाटीसँग भने, ‘यस विषयमा थप स्थानीय प्रशासनसँग समन्वय गरी अनुसन्धान अघि बढाउँछौ।’
बिहीबार मात्र गृहमन्त्री रामबहादुर थापाले ढिलासुस्ती गर्ने ठेकेदारलाई कारबाही गर्न देशैभरीका जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएका थिए।