झापा र मोरङको दुई अलग अलग स्थानमा गएराति भएको सवारी दुर्घटना हुँदा तीन जनाको ज्यान गएको छ ।
झापाको कमल गाउँपालिका ५ मा सोमबार राति रोकिराखेको ट्याक्टरसँग मोटरसाइकल ठोक्किदा दुई जनाको मृत्यु भएको हो । पूर्वपश्चिम राजमार्ग अन्तरगत कमल गाउँपालिका–५ पाडाजुँगी चोकमा राति साढे ११ बजेतिर बिग्रेर रोकिएको मे. १ त ४५२८ नम्बरको ट्याक्टरमा को ३३ प. १९५१ नम्बरको मोटरसाइकल ठोक्किदा मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको हो।
मृत्यु हुनेमा मोटरसाइकलका चालक मोरङ उर्लाबारी नगरपालिका–८ बस्ने ३१ वर्षका राजु लिम्बु र पछाडि सवार मोरङ पथरी शनिश्चरे–८ बस्ने २५ वर्षीया विमला लिम्बु रहेका छन्। दुर्घटनामा परि गम्भीर घाइते भएका उनीहरूलाई दमकस्थित लाइफ लाइन अस्पताल ल्याई पुर्याउने बित्तिकै मृत्यु भएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ।
ट्याक्टरका चालकलाई इलाका प्रहरी कार्यालय दमकले नियन्त्रणमा लिएको छ भने दुर्घटनाग्रस्त मोटरसाइकल प्रहरी कार्यालयमा राखिएको छ।
त्यस्तै मोरङको मिक्लाजुङ गाउँपालिकामा अटो दुर्घटना हुँदा एक वृद्धको मृत्यु भएको छ। मृत्यु हुनेमा इलाम चुलाचुली–६ निवासी ७० वर्षीय हर्कबहादुर बोहोरा रहेका छन्। सोमबार साँझ ६:३० बजे मोरङको मिक्लाजुङ गाउँपालिका वार्ड नं. ८ मा अटो दुर्घटना हुँदा उनको मृत्यु भएको हो।
दुर्घटनामा अन्य ३ जना घाइते भएका छन्। अटो तीव्र गतिका कारण दुर्घटना भएको स्थानीयले बताएका छन्। दुर्घटना लगत्तै गम्भीर घाइते भएका बोहोराको उर्लाबारीस्थित अरनिको अस्पतालमा उपचारको क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय मधुमल्लाका प्रहरी नायब निरीक्षक किरण प्रसाईंले जानकारी दिए। अन्य घाइतेहरूमा मृतक बोहोराकी श्रीमती कमला बोहोरा , मोरङ मिक्लाजुङ–९ की पूर्णिमा तामाङ र सुभद्रा कार्की रहेका छन्।