बजारलाई फराकिलो बनाउन सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाले अतिक्रमित क्षेत्र खाली गर्ने क्रम जारी राखेको छ।
बजारमा तोकिएको मापदण्डभन्दा बाहिरको जमिनमा राखिएका विभिन्न सामग्री नगरपालिकाले हटाउँदै आएको छ। नगरले अतिक्रमित क्षेत्र खाली गर्न सूचना गरेको समयभित्र सम्बन्धित व्यक्तिले नहटाइ अटेर गरेको खण्डमा डोजर लगाएर समेत अतिक्रमित क्षेत्र खाली गराइरहेको छ।
यसैक्रममा वीरेन्द्रनगर नगरपालिकाले बिहिबार र शुक्रबार बजारका मुख्य क्षेत्रकै रूपमा रहेका बुद्धपथस्थित अतिक्रमित क्षेत्र खाली गराएको छ । दुई दिनमा नगरपालिकाले डोजर लगाएर मापदण्डविपरीत व्यवसाय सञ्चालन गरिरहेकाहरूका व्यावसायिक प्रयोजनका सामग्री, संरचना तथा विद्यालयका पर्खालहरू हटाएको छ।
नगरपालिको यो अभियानको सुरूमा मुख्य बजारका रूपमा रहेको बीच बजारका अतिक्रमित क्षेत्र खाली गराएको थियो।
वीरेन्द्रनगर नगरपालिकाले बजारलाई व्यवस्थित र सफा राख्न ‘नगर सरसफाइ तथा बजार व्यवस्थापन निर्देशिका’ जारी गरेको छ।
सोही निर्देशिकाअन्तर्गत रही नगरभित्रका सार्वजनिक क्षेत्रमा भएको अतिक्रमित क्षेत्रहरूलाई खाली गर्ने नगरापालिकाका उपमेयर मोहनमाया ढकालले बताइन्। उनले पहिलो चरणमा नगरपालिकाको वडा नं. ६ र ८ मा अभियान लागू भैरहेको जानकारी दिइन् । उपमेयर ढकालका अनुसार ३, ७, ९ र १० नं. वडाहरूमा पहिलो चरणमा नै काम गरिने छ। यो अभियानको प्रतिफल सकेसम्म चाँडै देखाउनेगरी काम भैरहेको पनि ढकालले बताइन्।
‘प्रदेशको राजधानी भैसकेपछि र यसलाई व्यवस्थित गर्नु आवश्यक नै छ,’ उपमेयर ढकालले भनिन्, ‘हामी राजनधानी रहेको नगरकै स्थानीय सरकार भएकाले हामीले थालेको यो अभियान स्थानीय सरकारको सहयोगका रूपमा पनि रहने छ।’
नगरपालिकाले सुरू गरेको यो कार्यमा स्थानीयले समेत सकारात्मक प्रतिक्रिया जनाएका छन्। ‘नगरपालिकाले राम्रो अभियान चलाएको छ, प्रदेशको राजधानी भैसकेपछि पहिलेको जस्तो हुन त भएन नि!’ वीरेन्द्रनगर–६, बुद्धपथकी यमुना आचार्यले भनिन्, ‘नगरपालिकाले चलाएको बजार व्यवस्थापन अभियानलाई स्थानीयले पनि अटेर नगरी सहयोग गर्नुपर्छ।’
निर्देशिका कार्यान्वयनमा चुनौती पनि
बजारलाई सफा राख्नुका साथै व्यवस्थित बनाउने नगरपालिकाले थालेको ‘नगर सरसफाइ तथा बजार व्यवस्थापन निर्देशिका’ कार्यान्वयनमा चुनौती पनि उत्तिकै देखिएको छ। नगरभित्र फुटपाथ रूपमा व्यवसाय गरी जीवन धानिरहेकाहरूको व्यवस्थापन नै निर्देशिका कार्यान्वयनको पहिलो चुनौती रहेको नगरपालिकाका उपप्रमुख ढकालले बताइन्।
‘फुटपाथमा व्यवसाय गरिरहेकाहरू हाम्रो उचित व्यवस्थापनसँगै रोजगारीको व्यवस्था गरिदिनुपर्यो भन्ने माग लिएर आन्दोलन समेत गर्ने गर्छन्,’ ढकालले भनिन्,‘अब उनीहरूको व्यवस्थापन गर्नु अनिवार्य त छ नै तर अहिले फुटपाथमा व्यवसाय गरी गुजरा चलाएका सबैको व्यवस्थापन गर्न त नगरले कसरी सक्छ र ? यो नै ठूलो चुनौती हो।’
नगरपालिकाले सकेसम्म त्यस्ता व्यवसायलाई छुट्टै ठाउँमा राखेर व्यवस्थापन गर्नेगरी छलफल गरिरहेको पनि ढकालले जानकारी दिइन्।
ढकालले भनिन्,‘फुटपाथलाई कहाँ व्यवस्थापन गर्ने भन्नेबारे पनि नगरले छलफल गरिरहेकै छ।’
त्यसपछि नगरले गरेको सार्वजनिक सूचनाको नै कतिपयले अटेर गरिदिनु अर्को चुनौती भएको ढकालको भनाइ छ।
‘एक हप्ताअघि नै नगरले अतिक्रमित क्षेत्र हटाउन भनेर सम्बन्धित व्यक्तिका लागि सार्वजनिक सूचना जारी गरेको हुन्छ,’ उनले भनिन्,‘त्यसको अटेर गर्छन् अनि अन्तमा हामीले डोजर लगाउन बाध्य हुन्छौं, त्यसपछि पनि विभिन्न खालका भनाइहरू आउने गर्छन्।’
ट्राफिक व्यवस्थापन
नगरपालिकाले यो अभियानसँगै अब ट्राफिक व्यवस्थाप अभियान पनि चलाउने भएको छ। सडक वरपरका अतिक्रमित पेटीहरू खाली गराउनुको उद्देश्य सावारी पार्किङ, पैदल यात्रा तथा सडकलाई खाली गराउनका लागि हो।
‘हामी अब सम्बन्धित निकायसँग छलफल गरेर ट्राफिक व्यवस्थापनमा लाग्छौँ,’ उपमेयर ढकालले भनिन्,‘यसरी सबै कुराको व्यवस्थापन गरिसकेपछि व्यवस्थित राजधानीका रूपमा चिनाउन सकिने छ।’