फर्पिङस्थित गोपालेश्वर महादेव मन्दिरको रौनक साउनमा बेग्लै हुने रहेछ।
यसभित्र रहेको शिवलिंगसम्मै पानी भरिएर आउने अनि केही दिनपछि आफैं हराएर जाने।
बर्सेनी यही क्रम दोहोरिदैं आएको मन्दिर पुजारी परिवारका विष्णहरि अर्याल बताउँछन्।
‘पोहोर पनि साउनमा यहाँ पानी टम्म भएको थियो,’ अर्यालले सेतोपाटीसँग भने, ‘पानी कहाँबाट, कसरी भरिन्छ र सुक्छ भन्ने त थाहा छैन। हरेक साल साउनमा यो मन्दिर जलाम्य हुन्छ।’
यो प्रक्रियालाई स्थानीयहरूले ‘शिव स्नान’ भन्दै आएका छन्।
तर अब यो ‘शिव स्नान’ अर्को वर्ष देख्न नपाइएला भन्ने चिन्ता अर्याललाई छ। जीर्ण भएको मन्दिर पुनर्निमार्ण क्रममा सिमेन्ट प्रयोग गरेपछि यसले आफ्नो मौलिकता गुमाउने उनी बताउँछन्।
गोपालेश्वर मन्दिर ९० सालको भूकम्पमा नै भत्किएको थियो। नेपाली शैलीमा बनेको ३ तले मन्दिर त्यसपछि पुनर्निर्माण भएन। यहाँको मूर्ति जगेर्ना गर्न गुम्बज आकार दिइयो। २०१६ सालमा भत्काएर बज्रको प्लाष्टरमा मन्दिर पुनः बनाइएको थियो। २०७२ सालको भूकम्पमा त्यो पनि जिर्ण भयो।
केही समयअघि पुरातत्व विभागले मन्दिर पुरानै शैलीमा ब्युताउँने भन्दै ३ करोड ७५ लाख रुपैयाँ विनियोजन गरेको थियो।
९० सालको भूकम्पपछि भिन्नै आकार पाएको मन्दिरले मौलिक आकार पाउन लागेकोमा स्थानीय खुसी थिए।
मन्दिरको जग खनियो। केही फिटमै पानी निस्कियो। काममा अवरोध भयो।
काम अघि बढाउन ठेकेदारले जगमा सुर्खी चुनासँगै सिमेन्ट प्रयोग गर्यो।
स्थानीयले विरोध गरे।
‘मन्दिर पुनर्निर्माण गर्ने भनेको हो, मौलिकता नै हटाउने भनेको होइन,’ अर्का स्थानीय नरेन्द्र श्रेष्ठले भने, ‘यो मन्दिरले हजारौं वर्ष पुरानो ऐतिहासिक मूल्यमान्यता बोकेको छ। आधुनिक सामग्री प्रयोग गर्दा यसको कुनै विशेषता रहन्न।’
निर्माण क्रममा पानीले समस्या देखाउँदैमा मन्दिरको वास्तविक स्वरुप बिगार्ने काम गर्न नहुने उनी बताउँछन्। अहिले काम रोकिएको छ।
श्रेष्ठका अनुसार गोपालेश्वर मन्दिर एक कुण्डमा बनेको हो। यही कारण यहाँ केही फिट तल नै पानी देखिएको हुनसक्ने उनको भनाइ छ।
बुढानिलकण्ठ, गुहेश्वरी, ललितपुरको कुम्भेश्वर लगायत मन्दिर कुण्डमै बनेका हुन्।
‘यहाँ पहिले कुण्ड भएकै कारण प्राकृतिक रुपमा शिव स्नान भएको हुनसक्छ। दुईतीन फिट खन्दै पानी आउँछ। साउनमा मन्दिरको आधा भाग डुब्छ,’ उनले भने, ‘अब यो जगमा सिमेन्ट हाल्देपछि कसरी आउला पानी?’
यसको सतह सुर्खी चुनाले बनेको थियो। वर्षामा पानीको मात्रा बढ्दै गएपछि तलबाट मूल फुटेर माथिसम्म आउने पोखरीविद् पद्यम सुन्दर जोशी बताउँछन्। मूल फुटेर आउने पानीलाई सुर्खी चुनाले छेक्दैन। सजिलै जमिन बाहिर आउन सक्छ। त्यस्तै कुण्डमा निर्मित यो मन्दिर अलि गहिरो छ। असार–साउनमा वरपरको पानी बगेर पनि यहाँ जम्मा हुनसक्ने उनी बताउँछन्।
पानी कसरी आउँछ भन्नेमा स्थानीयलाई चासो छैन। उनीहरूलाई चिन्ता छ, जगमा सिमेन्ट हाल्दा त्यहाँ पानी जम्दैन। परम्परादेखि देख्दै आएको ‘शिव स्नान’ देखिँदैन। हजारौं वर्ष पुरानो मन्दिरको मौलिकता मासिन्छ।
श्रेष्ठका अनुसार यो मन्दिर भगवान श्रीकृष्णकै पालामा बनेको अभिलेखमा उल्लेख छ। हिमवत खण्ड पुराणमा समेत मन्दिरबारे उल्लेख छ। पुराणअनुसार कामधेनुको आज्ञा पाएर भगवान श्रीकृष्णले मन्दिर भएको क्षेत्र उत्खनन गरेका थिए। गोपालेश्वरको मूर्ति त्यसैबेला फेला पारेको थियो। यसै पुराणमा नौ वटा शिवलिंगको वर्णन गरिएको छ। त्यसमा गोपालेश्वर पनि उल्लेख छ। नेपाल महालयमा ६४ वटा शिवलिंगको वर्णन गर्ने क्रममा पनि यसको उल्लेख गरिएको छ।
स्वयम्भु महापुराणका अनुसार मञ्जुश्रीले बृद्धपालको पुत्र मञ्जुगतलाई यही स्थानमा विद्या दिई अन्तर्ध्यान भएका थिए। पुराणमा उल्लेख भएअनुसार बुद्ध धर्मावलम्बीहरूको अष्ट विलरागमध्ये गोपालेश्वर पनि एक हो। यसै मान्यतामा बौद्ध धर्मावलम्बीले पनि यहाँ पूजा गर्दै आएका छन्।
आदिकालमा फर्पिङ सहरलाई शिखरापुर भनिन्थ्यो। त्यसबखत गोपालेश्वर मन्दिर सहरबीचमा पर्दो रहेछ।
श्रेष्ठका अनुसार मन्दिर पगौडा शैलीको नेपाली कला र संस्कृतिले भरिपूर्ण भएको तीन छाने थियो। तीन तले मन्दिरमा अष्ट धातुबाट बनेको चम्किलो गजुर पनि थियो।
‘यो गजुरको प्रकाश गहुँ खेतीमा पर्यो भने त्यहाँको गहुँको रङ नै परिवर्तन भएर सेतो हुने किसानहरू बताउँथे,’ श्रेष्ठले सुनाए, ‘यो गजुर २०१२ सालतिरै चोरी भइसक्यो। २०७२ सालपछि सुनको जलप लगाइएको गजुर मन्दिरभित्रै प्रतिस्थापन गरिएको हो।’
पुजारी परिवारका अर्यालका अनुसार भाद्र कृष्ण पक्षमा हुने हरिशंकर जात्रामा गोपालेश्वरको विशेष महत्व रहन्छ। नेपालको प्राचीन जात्रा मानिने हरिशंकरको मुख्य देवता नै गोपालेश्वर हुन्। जनश्रुतिअनुसार श्रीकृष्णको आगमन पूर्वदेखि नै वाणासुरले आफ्नो राज्यमा पर्ने फर्पिङका विभिन्न शक्तिपिठमा नारायण र महादेवको हरिशंकर जात्रा गर्ने परम्परा बसालेका थिए। प्रत्येक १२ वर्षमा भने जात्रा दोहोरिन्छ। त्यो वर्षमा गोपालेश्वरको मन्दिरको पानी उम्लेको जस्तो हुने अर्याल बताउँछन्।
‘यस्तो ऐतिहासिक महत्व बोकेको मन्दिरमा सिमेन्ट प्रयोग हुँदा सम्पदा मात्रै होइन, इतिहास नै मेटिन्छ।’
चार–पाँच वर्षअघि यो ठाउँको स्वरुप बेग्लै भएको पनि उनले सुनाए। करिब ७ रोपनी क्षेत्रफलमा फैलिएको गोपालेश्वरको जग्गा स्थानीयले अतिक्रमण गरिरहेका उनी बताउँछन्।
त्यही जग्गामध्येको करिब एक रोपनीमा नागपोखरी थियो। त्यो पोखरीमा अहिले ट्यांकीबाहेक केही छैन। पानी सुकिसकेको छ। एक वर्ष पहिले खानेपानी अभाव भयो भन्दै ट्यांकी बनाइएको अर्याल बताउँछन्।
‘पानी त फर्पिङको निकासबाट आएकोले नै पुग्थ्यो,’ उनले भने, ‘पोखरीले त झन् इनार र ढुंगेधारा पनि रसाउँथे। अहिले त्यति ठूलो पोखरीको नामनिसान छैन। ट्यांकी पनि लथालिंग छ। पानीको अभाव झन् बढ्दै छ।’
मन्दिरको दक्षिण पूर्वपट्टि खुला बगैंचा छ। गोपालेश्वर सामुदायिक क्लबले त्यहाँ पाटी बनाएको छ। पाटी बनेपनि सर्वसाधारणले उपभोग गर्न नपाएको स्थानीयले गुनासो गर्दै आएका छन्। गोपालेश्वर सामुदायिक सहकारीले यसमा हस्तक्षेप गर्दै सबैलाई पाटी उपभोग गर्न 'नदिएको आरोप उनीहरूको छ।
श्रेष्ठका अनुसार मन्दिरको अरू जग्गा भने प्लटिङ गरेर बेचिएको छ। यसमा सम्बन्धित निकायले वेवास्ता गरेको उनी बताउँछन्।
विभिन्न तरिकाबाट मासिदैं आएको यो ऐतिहासिक मन्दिरको अब संरचना पनि बिगार्न लागिएकोमा पुजारी परिवारका अर्का सदस्य प्रेमनाथ अर्याल आक्रोश व्यक्त गर्छन्।
‘यसका धेरै जग्गा मासिए, गजुर चोरियो, पुराना इँटा पनि मान्छेले लगे। अब बाँकी भएको यो मन्दिर र यसको मौलिकता पनि जिम्मेवार निकायले नै मास्न खोज्दैछ,’ अर्यालले भने।
मन्दिरको विशेषताबारे पुरातत्व विभागलाई उनीहरूले जानकारी गराएका छन्। उसले यी कुरा वेवास्ता गर्दै जग खन्दा आएको पानीको समस्या समाधान सुर्खी चुनाले नहुने भन्दै सिमेन्ट प्रयोग गर्न थालेको उनी बताउँछन्। पुरातत्वले कुनै अनुसन्धान नै नगरी सोझै सजिलो बाटो रोजेर सिमेन्ट प्रयोग गरेको आरोप स्थानीयको छ।
उनीहरूको आरोप जायज छ। कानुनले पनि यही भन्छ।
कुनै पनि पुरातात्विक सम्पदा पुनर्निर्माण गर्दा आधुनिक सामग्री प्रयोग गर्न पाइँदैन।
‘पानी समस्या सामाधान गर्ने बहानामा सम्पदामा यसरी सिमेन्ट प्रयोग गर्न पाइँदैन,’ कानुनका विद्यार्थी एवम् सम्पदा बचाऊ अभियन्ता संजय अधिकारीले भने, ‘पुरातत्वले विज्ञहरूसँग छलफल गरेर समाधान निकाल्नुपर्छ। केही अध्ययन नगरी सिमेन्ट नै अन्तिम उपाय हो भन्न त भएन नि।’
यसअघि पनि पुरातत्वले प्राचीन सम्पदामा आधुनिक सामग्री प्रयोग गर्ने प्रयास नगरेको होइन। काठमाडौंस्थित रानीपोखरीको बालगोपालेश्वर मन्दिर पुनर्निर्माणमा पनि सिमेन्ट प्रयोग गर्न खोजिएको थियो। चौतर्फी विरोधपछि यो पुरानै शैलीमा बन्ने भएको हो।
‘पुरातत्वले बुझेर पनि बारम्बर एकै गल्ती दोहोर्याउन खोज्दैछ,’ अभियन्ता अधिकारीले भने, ‘हजारौं वर्ष पुराना सामग्री प्रयोग गरेर कुण्डमा बनेको मन्दिर अहिले किन बन्न सक्दैन? यो मन्दिर र पानीसँग के सम्बन्ध छ? पुरातत्वले यस विषयमा पहिले अनुसन्धान गर्न जरुरी छ।’
केही दिनअघि विभागमा स्थानीय र पुरातत्वका अधिकारीबीच यसबारे छलफल भएको थियो। छलफलमा पुरातत्वले सुर्खी चुनाले माटो समाउन गाह्रो हुने भन्दै सिमेन्ट नै प्रयोग गर्नुपर्ने बताएको थियो।
'त्यसरी पानी आएका ठाउँमा सुर्खी चुना प्रयोग गर्दा सेट नै हुँदैन। इँटा समाउन सक्दैन। छिटो उक्किन्छ,' विभागका इञ्जिनियर सम्पत घिमिरेले भने, 'त्यसैले सिमेन्ट नै राम्रो विकल्प हो।'
छलफलमा सहभागी स्थानीय नरेन्द्र श्रेष्ठ भने बिना अध्ययन विभागले हतारमा निर्णय गरेको बताउँछन्। आफूहरुले माटो परीक्षणको प्रतिवेदन माग्दा पनि विभागले नदिएको उनले बताए।
'काम गर्न बाधा भयो भनेर हचुवाका भरमा निर्णय गरे जस्तो छ। अध्ययन नै गरेको छैन, नभए प्रतिवेदन दिन्थे होलान् नि,' उनले भने, 'सम्पदा जोगाउन उसैले पहल गर्नुपर्नेमा उही गल्ती गर्दैछ।'