आइतबार कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा आयोजना गरिएको बालविवाह अन्त्यसम्बन्धी गोष्ठीमा सहभागी एकजना छात्राले बालविवाह अन्त्यका नाममा गरिने भाषणको खुलेर विरोध गरिन् ।
‘ठूलाठूला सभामा ठूलो स्वरमा भाषण गर्दैमा के तपाईंहरूलाई बालविवाह अन्त्य हुन्छ जस्तो लाग्छ ?’ अन्तर्क्रियामा सहभागीहरूसँग प्रश्न गर्दै छात्रा दिक्षा सापकोटाले भनिन्,‘यदि बालविवाह अन्त्य गर्ने हो नै भने पहिले आफ्नो घरबाट त्यस्तो खालको व्यवहारको सुरूवात गरौँ अनि समाजमा, त्यसपछि विस्तारै विश्वका सबै मुलुकमा बालविवाह न्यूनीकरण मात्र होइन नियन्त्रण पनि हुन्छ।’
यसरी मञ्चमा बोलिरहँदा बालविवाह न्यूनीकरणका लागि सचेनामूलक अभियानमा नै दिक्षाको जोड थियो भने बालविवाह अन्त्य गर्ने विषयमा गरिने भाषण समय खेर फाल्ने काम भएको उनको टिप्पणी थियो।
कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री प्रमुख अतिथि रहेको उक्त कार्यक्रममा सहभागी धेरैजसोले बालविवाह अन्त्य गर्न सचेनामूलक अभियान नै प्रभावकारी हुने दाबी गरे । सँगसँगै बालविवाह अन्त्यका नाममा विभिन्न कार्यक्रमहरूमा चर्को स्वरमा गरिने भाषणको कुनै औचित्य नभएको पनि संकेत गरे ।
‘विवाहको सिजनमा मेरै गाउँमा अक्सर बालविवाह हुन्छन, त्यसलाई रोक्न ग्रामीण क्षेत्रमा कुनै अभियान नै चल्दैनन्, यदि केही त्यस्ता कार्यक्रम भैहाले भने औपचारिकता मात्र निभाइन्छ,’ कार्यक्रममा सहभागी सुर्खेतकै किमसरा खत्रीले भनिन्,‘गाउँमा बालविवाह अन्त्य गर्ने भाषण त थुप्रै भए तर त्यसको प्रभाव कहिल्यै पर्न सकेन।’
कार्यक्रममा प्रमुख अतिथिको रूपमा रहेका प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री नरेश भण्डारले समेत बालविवाह अन्त्यका लागि सचेतनामूलक अभियान नै प्रभावकारी हुने बताए।
उनले पनि विभिन्न ठाउँमा पुगेर बालविवाह न्यूनीकरण गर्नुपर्छ भन्दै गरिने भाषणभन्दा गाउँ, समाज, विद्यालयलगायतका क्षेत्रमा पुगेर गरिने सचेतनामूलक अभियान कैयौं गुणा प्रभावकारी हुने धारणा राखे । मन्त्री भण्डारीले यसको न्यूनिकरण गर्न प्रदेश सरकार जिम्मेवार र उत्तरदायी भएर लाग्ने प्रतिबद्धता जनाए ।
कर्णाली प्रदेशलाई बालविवाहमुक्त नमूना प्रदेशका रूपमा चिनाउने काममा सरकार लाग्ने समेत उनले आश्वासन दिएका छन्।
कर्णाली प्रदेशसभा सदस्य सिता नेपालीले प्रदेशसभा कानून निर्माण गर्ने क्रममा रहेको भन्दै उनले बालविवाह न्यूनीकरणलाई पनि कानूनमा समावेशका लागि प्रयास गर्ने बताइन्।
कर्णाली प्रदेश बालविवाह हुने दोस्रो प्रदेशका रूपमा रहेको छ । पछिल्लो तथ्याङ्क अनुसार यस प्रदेशको पहाडी जिल्ला दैलेखमा मात्र ६४ प्रतिशत बालविवाह हुने गरेको पाइएको छ। यसरी हेर्दा यस प्रदेशमा करिब ५० प्रतिशतभन्दा माथि नै बालविवाह हुने गरेको अनुमानित आँकडा सरोकारवाला निकायहरूसँग छ।
कर्णाली प्रदेशमा बालविवाहको मुख्य कारण गरिबी भएको वीरेन्द्रनगर नगरपालिकाका प्रमुख देवकुमार सुवेदीले बताए। कर्णाली प्रदेश भुगोल, विकास, शिक्षालगायतका कुरामा सबै क्षेत्र एकै प्रकारको रहेकाले बालविवाहको प्रमुख कारण गरिबी भएको नगरप्रमुख सुवेदीको दाबी छ।
कर्णाली प्रदेशमा बालविवाह रोक्ने प्रचलन पनि न्यून मात्रामा रहेको पाइएको छ। जिल्ला प्रहरी कार्यालय सुर्खेतमा हालसम्म २४ वटा मुद्दा मात्र बालविवाहसम्बन्धी रहेको नायव उपरीक्षक श्यामसिंह चौधरीले जानकारी दिए।