सम्झौता अनुसार समयमा काम सम्पन्न नगर्ने निर्माण ब्यवसायीले करिब एक करोड जरीवाना बुझाएका छन्।
निर्माणधिन बुटवल-बेलहिया सडक बिस्तार आयोजना अन्तर्गत भैरहवाको सडक निर्माण र डण्डा पुल निर्माणको जिम्मेवारी लिएका कालिका तामाङ प्यासेफिक जेभीले उक्त जरीवाना तिरेको हो।
आयोजनाका अनुसार गत मंसिर महिनामा सम्पन्न हुनुपर्ने काम समयमा नसकेपछि उक्त कम्पनीले ९४ लाख ७९ हजार १ सय ४८ रूपैया राजश्वमा दाखिला गरिसकेको छ।
उक्त कम्पनीले असार मसान्तसम्म काम सके पनि उसको जरीवाना ३ करोड पचास लाख हाराहारी पुग्ने देखिएको छ।
ब्यापारीक मार्ग बिस्तार आयोजना बेलहिया-बुटवलका प्रमुख जिवेन्द्र मिश्रले उक्त निर्माण कम्पनीले गत मंसिरमै काम सक्नुपर्ने सम्झौता गरेकोले तोकिएको समयमा नगरेकोले जरीवाना गरिएको बताए।
मिश्रका अनुसार उक्त कम्पनीलाई सम्झौताको सर्त र कावु बाहिरको परिस्थिति उत्पन्न भए प्राप्त गर्ने सुविधाको थप समय दिँदा पनि काम सम्पन्न नगरेकोले जरिवाना गरिएको बताए।
‘हामीले निर्वाचन र बन्द तथा हड्तालका कारण काम गर्न सम्भव नभएको अवस्थामा उक्त कम्पनीलाई थप ५० दिनको समय दिएका थियौं, तर दिएको समयमा समेत काम सम्पन्न भएन त्यसैले जरीवाना गर्न बाध्य भयौ,’ मिश्रले सेतोपाटीसँग भने।
सम्झौतामा बन्द हड्ताल, भूकम्प जस्ता कावु बाहिरको परिस्थिति श्रृजना भएमा निर्माण ब्यवसायीले उक्त अवधीमा काम हुन नसकेको भन्दै थप समय पाउने ब्यवस्था छ। सो बापत उक्त कम्पनीले ५० दिन समयको लाभ लिएको देखिन्छ।
आयोजनाले उक्त कम्पनीले निर्माण कार्य गरे बापत पाउनुपर्ने रकमबाट कट्टा गरी जरिवाना रकम राजश्वमा दाखिला गरिसकेको छ।
राप्रपा नेता बिक्रम पाण्डे, प्रताप तामाङ र ठाकुर कँडेलको साझेदारीमा रहेको उक्त कम्पनीले भैरहवाको अञ्चलपुरदेखि बर्मेलीटोलसम्म २ हजार २ सय मिटर र डण्डा खोलाको पुलसहित दायाँ बायाँ सडक निर्माण गर्नेगरी ४५ करोडमा ठेक्का पाएको थियो।
त्यसैगरी बर्मेली टोलस्थित बुद्धचोकमा बुद्धको मूर्ति निर्माण गर्ने जिम्मा लिएको ‘अलकापपुरी निर्माण सेवा’ ले ५९ हजार रूपैया जरीवाना बुझाएको छ।
१६ लाख रूपैयामा निर्माण गर्ने गरी जिम्मा लिएको उक्त कम्पनीले समयमा काम सम्पन्न नगरेकोले ब्यापारीक मार्ग बिस्तार आयोजना बेलहिया बुटवल कार्यालयले जरीवाना गरेको हो।
*हेडलाइन सच्याइएको