सिद्धार्थ राजमार्ग अन्तर्गत बुटवल–दोभान सडक खण्डको हेडबक्समा खसेको पहिरो पार गर्ने क्रममा १ जना बेपत्ता भएका छन्। दोभानहुँदै बुटवलतर्फ आइरहेका गोपाल रेश्मी सम्पर्कविहीन भएको दोभान प्रहरी चौकीका सई बनारसी गुप्ताले सेतोपाटीलाई जानकारी दिए।
‘रेश्मी पहिरोमा पुरिए वा सुरक्षित अवस्थामा कतै छन् भन्ने यकिन हुन सकेको छैन। उनले बोकेको मोबाइलमा घण्टी गए पनि बिहान ६ बजेदेखि साढे ९ बजेसम्म पनि रिसिभ भएको छैन,’ गुप्ताले भने।
रेश्मी सम्पर्कबिहीन भएको बारे जिल्ला प्रहरी कार्यालय पाल्पालाईसमेत जानकारी गराइएको गुप्ताले बताए।
यसैबीच बुटवल वडा नम्बर एक र तीनलाई जोड्ने गणेशथान नजिकैको झोलुङ्गे पुलसमेत पहिरो र बाढीका कारण जोखिममा रहेको प्रहरीले जनाएको छ।