पाल्पाको तानसेनबाट रामपुर जाँदै गरेको बस दुर्घटना हुँदा १३ जनाको ज्यान गएको छ। ज्यान जानेहरुमा सबै तानसेन नगरपालिकाका स्थानीय हुन्।
अवलोकन भ्रमणमा हिंडेका तानसेनको लक्ष्मी बचत तथा ऋण सहकारी संस्थाका सदस्यहरु सवार बस शुक्रबार बिहान रम्भा गाउंपालिका वडा नं. ४ हुमिनमा सडकको डिलबाट तल झरेर दुर्घटनामा परेको हो।
लु १ ख ९७५ नम्बरको उक्त बस सडकबाट १ सय ५० मिटर तल खसेको थियो।
मृत्यु हुनेमा तानसेन ३ का देवेन्द्रलाल प्रधान, बसन्ती खांण, कृष्णमान बज्राचार्य, छत्रमान शाक्य, कमला कार्की, तानसेन ४ का कृष्णबहादुर बोहोरा र विष्णुमान बज्राचार्य, तानसेन ६ का दुर्गाबहादुर सारु, सुशिलप्रसाद श्रेष्ठ, गिता बुढाथोकी र तानसेन २ का लोकनाथ ढकाल रहेका छन।
मृतकमध्ये एकजना महिलाको नाम खुल्न सकेको छैन। मृतकमध्ये कमला कार्कीको लुम्बिनी मेडिकल कलेजमा र सचिन बज्राचार्यको मिसन अस्पतालमा मृत्यु भएको थियो। अन्यको घटनास्थलमै मृत्यु भएको पाल्पाका प्रमुख जिल्ला अधिकारी विष्णु प्रसाद ढकालले जानकारी दिए।
दुर्घटनामा परी घाईते भएका आठजनाको पाल्पाका मिसन अस्पताल र लुम्बिनी मेडिकल कलेज प्रभासमा उपचार भईरहेको छ।
घाइते हुनेहरुमा प्रफुल्ल शर्मा, विमल रन्जन, उत्तम कुमार बज्राचार्य, ओम मलेगो, मिना खाम्चा, मुना सारु, अर्जुन थापा र प्रविण बज्राचार्यको उपचार भईरहेको प्रहरीले जनाएको छ। घाईते मध्ये प्रविण बज्राचार्यको लुम्विनी मेडिकल कलेज र अन्यको मिसन अस्पतालमा उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी नायव उपरिक्षक विनोद घिमिरेले जानकारी दिए।