सिद्धार्थ राजमार्गको बुटवल दोभान सडकखण्डमा यात्राको क्रममा वेपत्ता रहेका पाल्पा मस्यामका मोहन रेश्मी मृत अवस्थामा फेला परेका छन्।
बिहान मस्यामबाट बुटवलतर्फ आउँदै गरेका रेश्मी बिहान ६ बजेदेखि वेपत्ता रहेका थिए। रेश्मीको शव सडकभन्दा केही तल फेला परेको प्रहरीले जनाएको छ।
सिद्धबाबा हेडबक्स नजिकै शुक्रबार बिहानैदेखि पहिरो झरेको थियो। सोहि समयमा बुटवलतर्फ आउँदै गरेका रेश्मीलाई ढुंगाले लागेर मृत्यु भएको हुन सक्ने ईलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ।
रेश्मीको शव पहिरो झरेको स्थानमा भने नभेटिएको प्रहरीले जनाएको छ।
बिहिबार रातिदेखि नै पानी परेका कारण पहिरो झरेपछि बुटवल पाल्पा सडकखण्ड अवरुद्ध भएको छ। अहिले सडकमा रहेको पहिरो हटाउने क्रम जारी रहे पनि लेदो माटोसहितको पहिरो झरिरहेकोले हटाउन समस्या भएको प्रहरीले जनाएको छ।
उपल्लो सिद्वबाबा तिनाउ गाउँपालिका वडा नम्बर ३ हेडबक्स नजिकै पहिरो खसेपछि शुक्रबार बिहान ३ बजेदेखि सडक अबरुद्व भएको थियो। पहिरोसँगै सडकमा ठूलाठूला ढुंगाले सडक पुरेको छ।
सडक अबरुद्व भएपछि पाल्पाबाट बुटवल आउँदै गरेका र बुटवलबाट पाल्पाहुँदै गुल्मी, स्याङ्जा, पोखरा, बागलुङ हिँडेका सवारी साधन र यात्रु अलपत्र परेका छन्।
यस्तै बुटवल वडा नम्बर एक र तीनलाई जोड्ने गणेशथान नजिकैको झोलुङगे पुल समेत पहिरो र बाढीका कारण जोखिममा परेको छ। बाढी र पहिरोले झोलेङगे पुलको वारीपारीको बेसको जमिन खोलेको छ।