सुर्खेतको वीरेन्द्रनगर उपत्यकामा खाने पानीको आपूर्ति सहज बनाउन भेरीको पानी लिफ्टमार्फत ल्याउने आयोजना ‘भेरी पम्पिङ खाने पानी आयोजना’को सम्भाव्यता अध्ययन गरिएको छ । सुख्खा क्षेत्र खाने पानी तथा सरसफाई आयोजनाअन्तर्गत जलवायू अनुकुलन परियोजनाको टोली सुर्खेत आएर उक्त आयोजनाको सम्भाव्यता अध्ययन गरेको हो । विज्ञसहितको सम्भाव्यता अध्ययन टोलीले आयोजनाको पानी संकलन केन्द्र (ईनटेक) झुप्रा खोला र भेरीको दोभानमा बनाउन उपयुक्त हुने निश्कर्ष निकालेको छ ।
वातावरणीय तथा भौगोलिक अध्ययनका आधारमा पानीको मुख्य संकलन केन्द्र उक्त ठाउँमा राख्न उपयुक्त हुने निश्कर्ष निकालिएको हो । अध्ययन अनुसार संकलन केन्द्रको करिब २ सय मिटर माथिको डाँडामा पानी प्रशोधन केन्द्र निर्माण गरिने छ । त्यसपछि वीरेन्द्रनगर उपत्यकाको पूर्वी छेउमा पर्ने अमृत डाँडामा वितरण केन्द्र (ईनटेक) निर्माण गरी उपत्यकामा पानी वितरण गरिने छ ।
आयोजनाअन्तर्गत भेरीबाट लिफ्टमार्फत् ३६० लिटर (प्रति सेकेण्ड) पानी वितरण केन्द्रमा झारेर उपत्यकावासीलाई खाने पानी आपूर्ति गराउने योजना रहेको छ । त्यसमध्ये पहिलो चरणमा भने १३० लिटर प्रति सकेण्ड पानी वितरण केन्द्रसम्म झार्ने योजना रहेको र त्यपछि मागका आधारमा विभिन्न चरणमा पानीको मात्रा बढाउने जलवायु अनुकुलन परियोजनाका आयोजना प्रमुख शंकरमणी ज्ञवालीले जानकारी दिए ।
फास्ट ट्र्याकमार्फत निर्माण हुने भएकाले आयोजना निर्माणका क्रममा बजेटको कुनै समस्या नपर्ने उनले बताए । आगामी एकसय बर्षभन्दा पछिसम्म पनि कुनै त्रुटी नआउने गरि प्राविधिक रुपमा आयोजनाको काम गर्नेगरि अध्ययन भैरहेको समेत उनले बताए । आयोजना प्रमुख ज्ञवालीले अबको ५/६ महिनाभित्रै आयोजनाको काम शुरु हुने बताए ।
सुर्खेत उपत्यकामा हाल दैनिक ४५ लाख लिटर बढी पानी अपुग रहेको उपत्यकामा खाने पानी वितरण गर्दै आएको ‘सुर्खेत उपत्यका खानेपानी उपभोक्ता संस्था’ले जनाएको छ । जनसंख्या बृद्धिलाई आधार मन्दा अबको १५ बर्षपछि ३ करोड १० लाख लिटरभन्दा धेरै खाने पानीको माग बढ्ने अनुमान गरिएको छ ।
आयोजनाको डिपीआर पनि भैरहेको छ । यो आर्थिक बर्षमा भेरी पम्पिङ खाने पानी आयोजनाको डिपीआर प्रतिवेदन आईसक्ने सम्भाव्यता अध्ययन गर्न पुगेको टोलीले जनाएको छ ।
आयोजनाको लागत स्टिमेट २ अर्ब ९१ करोड रुपैयाँको रहेको छ । तीन बर्षमा आयोजनाको काम सकिसक्ने लक्ष्य राखिएको छ । आयोजना निर्माणका क्रममा पहिलो बर्ष कुल बजेटको ३० प्रशित रकम खर्च गरिने सुर्खेत उपत्यका खानेपानी उपभोक्त संस्थाका अध्यक्ष कुलमणी देवकोटाले जानकारी दिए । उनका अनुसार पहिलो बर्ष ३० प्रतिशत, दोस्रो बर्ष ४० प्रतिशत र तेस्रो बर्ष ३० प्रतिशत रकम खर्च गर्ने योजना रहेको छ ।
टेण्डर प्रक्रिया अगाडि बढाउनका लागि १० करोड रुपैयाँ माग गरिएको पनि अध्यक्ष देवकोटाले जानकारी दिए ।