महेन्द्र राजमार्गबाट सिधै लुम्बिनी जोड्ने उद्देश्यसहित २ वर्षअघि निर्माण थालिएको बेलबास बेथरी ४ लेन पर्यटन मार्गको काम रकम अभावमा हाल रोकिएको छ।
पश्चिमी क्षेत्रबाट आउने पर्यटकलाई भैरहवा नघुमाई लुम्बिनी आउजाउ गराउने उद्देश्यले बुटवल उपमहानगरपालिका १३ बेलबासदेखि भैरहवा–लुम्बिनी सडकखण्डको बेथरीसम्मको सडक निर्माण सुरू गरिएको थियो ।
हालसम्म ७० प्रतिशत निर्माण सकिनुपर्ने भए पनि ३३ प्रतिशत मात्र काम सकिएको छ ।
पहिलो वर्ष प्राथमिकतामा परेको सडकको निर्माण त्यसपछि बजेट कटौतीले समस्यामा परेको डिभिजन सडक कार्यालय बुटवलका सूचना अधिकारी रामपुकार जयसवाल बताउँछन् ।
बेलबासदेखि बेथरीसम्म २१ किलोमिटर लम्बाइ रहेको यो सडक तीनवटा खण्डमा विभाजन गरी निर्माण सुरू गरिएको थियो। बजेट नपाएपछि तीनवटै खण्डका काम रोकिएका छन्।
एक अर्ब ६८ करोड लागतमा ब्रजगुरू कान्छाराम जेभी, रमन–जेजेइसिसिएल जेभी र रमन कन्स्ट्रक्सन प्रालिले निर्माण गरे पनि भुक्तानी नपाउँदा अहिले काम रोकिएको जयसवालले बताए।
पहिलो खण्डमा ३० प्रतिशत भौतिक प्रगति हुँदा १८ प्रतिशत भुक्तानी भएको छ । दोस्रो खण्डमा ४१ प्रतिशत हुँदा २१ प्रतिशत भुक्तानी भएको छ भने तेस्रोमा २५ प्रतिशत हुँदा तीन प्रतिशत मात्र भुक्तानी भएको छ।
१७ करोड ४० लाख रुपैयाँ भुक्तानी दिन बाँकी रहेको जयसवालले बताए।
‘निर्माण कम्पनीले काम गरेर पेश गरेको बिल हामीले विभागमा पठाएका छौं, विभागबाट अहिलेसम्म पैसा आएको छैन, असार मसान्तसम्म पैसा आयो भने भुक्तानी गर्छौं’, उनले भने।
कार्यालयले चालू वर्षमा ८० करोड मागेको थियो । तर विभागले ८० लाखमात्र पठाएपछि भुक्तानीमा समस्या भएको डिभिजन सडक कार्यालयले जनाएको छ।
२०७६ साउनभित्र निर्माण सम्पन्न गर्ने गरी २०७३ असारमा ठेक्का सम्झौता गरिएको थियो। बिचमा नहर, छेउछाउ दुई लेन सडक र त्यसको छेउमा हरियाली हुने छ ।
हालसम्म कतिपय स्थानमा रुख कटान, विद्युत पोल स्थानान्तरण, खानेपानी र सिँचाइ आयोजनाको काम समेत सकिएको छैन ।
यस्तै सुरूमा मुआब्जा दिन नपर्ने भनिएको सडकखण्डमा पछि स्थानीयका जग्गा परेपछि अर्को विवाद थपिएको छ । डिभिजन सडक कार्यालयका अनुसार ५५ भन्दा बढी घर तथा जग्गाधनीले मुआब्जाको माग गर्दै निवेदन दिएका छन्।
इन्जिनियर जयसवालले आफूहरूसँग मुआब्जा दिने पैसा नभएकाले त्यसका लागि मन्त्रालयमा जानकारी गराएको बताए ।
जथाभावी निर्माण सामग्री फाल्ने र खाल्डाखुल्डी छाडेर ठेकेदारले काम रोक्दा सर्वसाधारणको स्वास्थ्य र आवतजावतमा असर त पारिरहेको छ नै दुर्घटनाको जोखिम समेत बढाएको छ ।